सरकारले डण्डा लगाएर उद्योगीसगँ कर उठाउँदैनः अर्थमन्त्री खतिवडा

  २०७६ माघ १२ गते १३:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय अर्थमन्त्री डा. युवराज खतिवाडा उद्योगी व्यवसायीको समस्या समाधान गर्ने आश्वासनसहितको अभिव्यक्ति दिन थालेका छन् । केही समय अघिसम्म उद्योगी व्यवसायीप्रति कठोर रुपमा प्रस्तुत हुने मन्त्री खतिवडाल पछिल्लो समय नरम हुदै गएका हुन् ।

६८औं अन्तराष्ट्रिय भन्सार दिवसको कार्यक्रममा उनले व्यक्त गरेको विचार पनि यस्तै नरम थियो । उनले उद्योगी व्यवसायीलाई डण्डा लगाएर कर असुल गर्ने पक्षमा आफू नरहेको बताए ।

‘सरकारले उद्योगी व्यवसायीलाई डण्डा लगाएर कर उठाउँदैन, राजस्व बढाउने अरु पनि विकल्प छन्, यस्ता विकल्प प्रयोग गरेर सरकारले राजस्व बृद्धि गर्छ, उद्योगी व्यवसायी डराउनु पर्दैन,’ मन्त्री खतिवडाले भने ।

तर, अझै पनि भन्सारमा राजस्व कम उठ्ने प्रबृत्ति पूरै नरोकिएको उनको भनाइ छ । पछिल्लो समय भन्सार छलि कम हुने गरेपनि ८ प्रतिशत बस्तु कम मूल्यांकनमा भन्सारबाट छिर्ने गरेको मन्त्री खतिवडाले बताए ।

भन्सार र राजस्व सुधार गर्न भन्सार ऐन संसदमा दर्ता गरिएको र नयाँ ऐन आएपछि भन्सार र राजस्वमा सुधार हुने मन्त्री खतिवडाले बताए । उद्योगी व्यवसायीलाई सहज बनाउन आयात निर्यात व्यवसायलाई रेल र आइसीपीसँग जोड्ने काम हुदै गरेको भन्दै उनले चोभारको सुख्खा बन्दरगाह निर्माणको २५ प्रतिशत काम सम्पन्न भएको पनि जानकारी दिए । भारतको घन्द्रा र मुन्द्रा नाका प्रयोग गर्ने विषयमा पनि भारत सरकारसँग कुरा भइरहेको मन्त्री खतिवडाको भनाइ छ ।

अर्थसचिव राजन खनालले १४ वर्षअघि आफूले पनि भन्सार विभागमै काम गरेको स्मरण गर्दै भन्सार सुधारमा प्रविधिको प्रयोग अपरिहार्य भएको बताए । विभागले अबको २ वर्षभित्र आफ्ना सबै कार्यालयहरु पेपर लेस बनाउने कार्यक्रम अघि सारेको छ ।

नेपाल उद्योग बाणिज्य महासघंका अध्यक्ष भवानी राणाले निजी क्षेत्रले सरकारका कार्यक्रम सफल बनाउन सहकार्य गरिरहेको बताइन् । सरकारी अनुगमनले उद्योगी व्यवसायी तर्सिएका भन्दै राणाले सरकारी अनुगमनलाई व्यवस्थित र उद्यम व्यवसायमैत्री बनाउनु पर्ने धारणा राखिन् ।

नेपाल उद्योग परिषघका अध्यक्ष सतिस कुमार मोरले भन्सारमा लागू हुने सन्दर्भ मूल्यका कारण समस्या सिर्जना भएको धारणा राखे । व्यवसायीले पेश गर्ने विल विजकका आधारमा भन्सार मूल्यांकन गर्ने गरिए अन्तराष्ट्रिय व्यापारमा सहज हुने अध्यक्ष मोरको भनाइ छ ।

नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले राजस्व परिचालनका लागि भन्सर आवश्यक रहेको बताए । भन्सारलाई अझ पारदर्शी बनाउनु आवश्यक रहेको भन्दै उनले निर्यातमा भएको समस्या समाधानमा भन्सार विभाग सचेत हुनुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.