सरकारको प्राथमिकतामा धार्मिक पर्यटन, फागुन १ गतेदेखि चन्द्रागिरीमा बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ हुँदै

  २०७६ माघ ५ गते १०:१०     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् ।
उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए । नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकहरु आउनेमा हामी विश्वस्त भएको जानकारी गराए ।

उनले धार्मिक पर्यटनले भ्रमण वर्ष–२०२० सफल बनाउन टेवा पुग्ने स्पष्ट पारे ।
शनिबार बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरी धार्मिक पर्यटन वर्ष महोत्सव–२०७६ मूल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल हिन्दू र बौद्धिष्ट दुवैको आस्था केन्द्रको रुपमा विश्वमै परिचित रहेको सुनाए । ‘अहिले विभिन्न देशहरुमा जातीय तथा धार्मिक द्वन्द्व भैरहेका छन्, तर नेपाल यसबाट सुरक्षित छ ।’–उनले भने,‘हाम्रो देश सानो देश भएपनि सांस्कृति, सामाजिक र धार्मिक रुपमा हामी धनी छौं । हामीसँग विभिन्न जातजाति छन्, तर जातीय रुपमा विविधिता भएपनि हामीभित्र एकता छ ।’

नेपालमा सबै धर्मले एकैसाथ पूजा गर्ने स्थल पनि रहेको उल्लेख गरे । मन्त्रालयले धार्मिकस्थल र तिनीहरुको संरक्षणको लागि बजेट छुट्याएको उनले जानकारी दिए । विश्वभरिबाट नेपालको धार्मिक यात्रामा आउने विभिन्न धर्मका मानिसहरु यहाँ सुरक्षित हुनेपनि उनले विश्वास दिलाए । ‘र, सहज ढंगले आवातजावत गर्न सकेका छन् ।’–मन्त्री भट्टराईले थपे ।

वर्तमान सरकारले हरेक किसिमका आलोचना सहेर अघि बढिरहेको पनि सुनाए । तर, बाहिर आलोचना भएपनि सरकारले विकास र समृद्धिको लागि द्रुत गतिमा काम गरिरहेको उनको जिकिर थियो । ‘भ्रमण वर्षको सुरुवातकै दिनमा हामीले १ सय ८ शंख फुकेका थियौं । यो भ्रमण वर्षलाई सफल पार्नको लागि दुईवटा संस्था धार्मिक संस्था पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषले अहिले राम्रोसँग काम गरिरहेका छन् ।

धार्मिक पर्यटनलाई पनि भ्रमण वर्षसँग जोड्ने काम गरेका छौं ।’ उनले आगामी फागुन १ गतेदेखि फागुन ९ गतेसम्म चन्द्रागिरि नगरपालिकाकै ऐतिहासिक बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनको लागि सहयोग गर्न ेपनि घोषणा गरे ।

त्यस्तै, उनले शिवरात्री पनि नजिकिँदै गरेको सुनाउँदै यसलाई भव्य रुपमा सफल पार्न र मनाउनको लागि सरकार अहिलेदेखि नै लागिपरेको सुनाए । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले धार्मिक महायज्ञले धर्म, संस्कृतिको रक्षा गर्ने विश्वास व्यक्त गरे । ‘यस्तो महायज्ञले धर्म र संस्कृतिप्रतिको आस्था र विश्वास बढाउँछ । यो भनेको सबैको साझा गन्तब्य हो ।’–धमलाले थपे ।

नेपाल गौतम बुद्ध, मुक्तिनाथ, माता जानकी, पशुपतिनाथको देश भएको सुनाउँदै नेपालमा धार्मिक पर्यटनको ठूलो संभावना रहेको धमलाको भनाई छ । ‘धार्मिक पर्यटनको विकास र सम्वद्र्धनको लागि अब राष्ट्रव्यापी अभियान अघि बढाउनुपर्छ । यस्तो कोटिहोमलाई राज्यले सहयोग गर्नुपर्छ । माननीय मन्त्री योगेश भट्टराईले यो महायज्ञलाई सहयोग गर्नुहुन्ुछ ।म यसमा पूर्ण विश्वस्त छु । आगामी दिनमा पनि यस्ताखाले धार्मिक महायज्ञ गर्दै जानुपर्छ ।’

धमलाले नेपालको धार्मिक यात्राको लागि भारत र चीनबाट ठूलो संख्यामा पर्यटकहरु आउनेपनि बताए । कार्यक्रममा ज्योतिष डा. रुद्रनाथ अधिकारीले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि पनि राज्यले धार्मिक पर्यटनको विकासमा विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

‘हामीले त नेपाल भ्रमण वर्षकै पूर्वसन्ध्यामै यो महायज्ञको शुभारम्भ गरेका थियौं । नेपालमा सबैभन्दा बढि सम्भावना भएको क्षेत्र पर्यटन र जलस्रोत भनिँदै आएको छ । तर, यसको विकासको लागि यो क्षेत्रलाई प्रभावकारी बनाउनको राज्यले ध्यान नदिएको उनले बताए । भ्रमण वर्षलाई सफल तुल्याउनको लागि पनि धार्मिक पर्यटन आवश्यक छ ।’

उनले नेपाल धार्मिक र जैविक विविधिता भएको देश भएकोले आफूहरुसँग राज्यले धर्म पर्यटनबारे छलफल नगरेकोमा भने दुःख व्यक्त गरे । ‘यो धार्मिक पर्यटनको देश हो । सरकारले यसलाई समावेश गरेर लैजानुपर्छ । अनिमात्रै भ्रमण वर्ष सफल हुन्छ ।’–उनले थपे ।

चन्द्रागिरी नगरपालिका काठमाडौंभित्र रहेको सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटनको महत्व बोकेको क्षेत्र भएको पनि अधिकारीको भनाई छ । ‘यो क्षेत्रको विकास हुनुपर्छ । यो आजको आवश्यकत्ता हो । यसप्रति सरकारको ध्यान जाओस् । हामी यो महायज्ञमा भ्रमण वर्षसँग जोडेर हवन गर्नेछौं । यो यज्ञले श्राप देशबाट सबैखाले हटाउँछ । देशलाई समृद्ध बनाउँछ ।’

पछिल्लो समय देशमा भएका सबैखाले मठ–मन्दिरहरु अनियन्त्रित रुपमा चलिरहेको सुनाउँदै यसलाई नियन्त्रण गर्न जरुरी रहेको आवश्यकत्ता औंल्याए । कार्यक्रममा श्री १००८ स्वामी भागवत आचार्यले नेपाल भ्रमण वर्षलाई आफूहरुले आयोजना गर्न लागेको यज्ञले सहयोग पुर्याउँने विश्वास दिलाए । ‘यो धार्मिक कार्यमा सम्बन्धित मन्त्रालयले यसमा आर्थिक सहयोग र योगदान पुर्याओस भनेर आग्रह र अपेक्षा राखेका छौं ।’–उनले भने ।

उक्त यज्ञमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि आमन्त्रण गरेको सुनाए । त्यतिमात्रै नभएर भारतका विभिन्न मठ, मन्दिरका पीठाधिश, मठाधिशलाई पनि निमन्त्रणा गरिएको उनले जानकारी दिए । उक्त महायज्ञको सुरुदेखि अन्तिमसम्म (९ दिन) सम्म प्राईम टाईम्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेपनि उनले स्पष्टा परे ।

उनले भने,‘अरु मिडियाले पनि साथ दिनुहोस् । यस यज्ञमा विभिन्न देश र ठाउँबाट आएका मानिसहरुको गाँस, बाँसको व्यवस्था गरिदिन म सरकारी निकायहरुलाई आग्रह गर्न चाहन्छु ।’आजको पत्रकार सम्मेनलको सभापतित्व भने समितिका अध्यक्ष राजाराम थापाले गरेका थिए । उनले भ्रमण वर्षलाईनै टेवा पुर्याउनेगरि आफूहरुले उक्त महायज्ञ तथा पर्यटन महोत्सवको आयोजना गर्न लागेको सुनाए ।

उनले भने,‘हामीले धार्मिक पर्यटनको विकासमा जोड दिएका छौं । यसको लागि विभिन्न देशका धार्मिक निकायहरुसँग कुरा गरिरहको छौं । हामीले यस्तो आग्रह गर्दा उहाँहरुबाट सकारात्मक सन्देश पाएका छौं ।’ उनले उक्त यज्ञ सफल बनाउनको लागि सहयोगको अपिल गर्नुको साथ यज्ञमा सहभागी हुनको लागि निमन्त्रणा पनि दिएका थिए ।

समितिका अनुसार दैनिक कोटी हवन विहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म र अपरान्ह २ बजेदेखि ५ बजेसम्म रहेको छ । उक्त महायज्ञमा एक करोड दीप प्रज्वलन गरिनेछ भने कथा वाचन विहान ११ देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.