अर्थमन्त्रीका पछिल्ला आश्वासन र मर्ने बेलाको हरिsयो काँक्रोको कथा

  २०७६ माघ ३ गते १७:३३     शिव सत्याल

काठमाडौं । हिन्दु परिवारबीच एउटा कथा या किंबदन्ति चर्चित छ ।

कथा यस्तो छः- एक जना असाध्यै पापी, अधर्मी र जीवात्मालाई असाध्यै पिर्ने व्यक्ति रहेछन् । उनले आफ्नो जीवनकालमा अरुको भलाई हुने काम कहिल्यै गरेनछन् ।

भगवानको नाम उच्चरण नगर्ने उनको अठोट जस्तै रहेछ । त्यसैले काँक्रो खाने बेलामा पनि ‘कस्तो काक्रो’ भनेर सोध्दा ‘पाकेको’ भन्ने गर्दा रहेछन् । हरियो काँक्रो भनेर उच्चारण गर्दा भगवान विष्णुको नाम ‘हरि’ उच्चारण हुन्छ भनेर उनले पाकेको भन्ने गरेका रहेछन् ।

प्रकृतिको शाश्वत नियमअनुसार मर्ने बेला आएछ । जिन्दगीभर नराम्रो र अरुलाई दुःखमात्रै दिएकोले सास सजिलै गएनछ । असाध्यै पीडा भएछ । विभिन्न प्रकारका रोग लागेर असाध्यै छटपटी भएछ ।

पीडा र दुखाईको कारण आँत जलेजस्तो महसुस भएछ । चिसो वा शितल हुने केही खान पाएँ हुन्थ्यो भन्ने लागेछ । यो बेलासम्म उनी कुनै एउटा शब्द उच्चरण गर्दा पनि पूरै उच्चारण गर्न नसक्ने अवस्थामा पुगेका थिए ।

अनि उनले काँक्रो खान मन लागेको बताएछन् । कस्तो काँक्रो खाने भनेर कुरुवाले सोधेछन् । हरियो काँक्रोले धेरै शितल गर्ला भन्ने उनलाई लागेछ । त्यसैले घिटिघिटी परेको अबस्थामा उनले कस्तो काँक्रो खाने भनेर सोध्दा हरियो काँक्रो खान मन लागेको सुनाएछन् ।

हरियो काँक्रो दिइयो । खाए । केही बेरमा उनको देहान्त भयो । अनौठो के भयो भने उनी मर्ने वित्तिकै यमराजका दुत आएर पाता फर्काउँदै पिट्दै नर्क लानु पर्नेमा बैकुण्ठबाट भगवान विष्णुका दुत आए । उनलाई विष्णुलोक बैकुण्ठ लान लगिएको अरुले थाहा पाएछन् ।

यस्तो पापी, अधर्मी, जीवनभर अरुलाई दुःखमात्रै दिने मान्छे कसरी बैकुण्ठ जान पाउने भयो भनेर प्रश्न गरिएछ । यसको जवाफ विष्णुका दुतसँग थिएन । उनीहरुले आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । विष्णुको आदेशअनुसार सो व्यक्तिलाई लिन आएको बताए ।

भगवान विष्णुले पापी, अधर्मी, व्यभिचारी, अत्याचारीलाई बैकुण्ठ लगेर पृथ्वीलोकमा कस्तो सन्देश दिन खोजेका हुन् भन्ने गम्भीर प्रश्न त्यहाँ उठेछ । यस्ता अधर्मीहरु पनि बैकुण्ठ जान थालेपछि पृथ्वीमा धर्म, परोपकार, मानवता, जिवात्माको रक्षा, सदाचार जस्ता क्रियाकलाप लोप हुने चिन्ता गर्न थालिएछ ।

यस्तो गलफतिले विष्णुका दुतलाई ढिला भयो । तोकिएको समयमा बैकुण्ठ पुगेनन् । आफ्ना दुतले किन ढिलो गरे भनेर विष्णुले ध्यानदृष्टिले हेरे । यसरी हेर्दा पृथ्वीमा ठूलो विवाद उत्पन्न भएको विष्णुलाई थाहा भयो ।

अनि आफ्नो वाहन गरुढमा चढेर विष्णु हत्तपत्त त्यही पुगे । र, सबैलाई सम्झाउँदै भने– यो मान्छेले मर्ने बेलामा हरिsयो काँक्रो खान्छु भनेको थियो, मर्ने बेलामा मेरो नाम लिएकोले यसले जीवनभर गरेका सबै पाप, अधर्म र व्यभिचार समाप्त भए, अब यो मान्छे बैकुण्ठ जान योग्य भयो, मर्ने बेलामा एक पटक मेरो नाम उच्चरण गर्ने व्यक्ति पनि बैकुण्ठबास गरेर मेरो समिपमा बस्न पाउनेछ ।’

यो सन्दर्भ ठ्याक्कै नमिले पनि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्रित्वकालसँग केही मिल्दोजुल्दो भने छ ।

अर्थमन्त्रीमा नियुक्त हुनेवित्तिकै डा. खतिवडाले बीबीसी नेपाली सेवासँगको एक अन्तरवार्तामा सेयर बजार र घरजग्गा क्षेत्रलाई अनुत्पादक भन्दै नकारात्मक टिप्पणी गरे । उनको सो टिप्पणीपछि घट्न थालेको सेयर बजार उनको मन्त्रीपद जाने सम्भावनाको समय निकै नजिक आएपछि मात्रै केही बढ्न थालेको छ ।

डा. खतिवडा राष्ट्रियसभा सदस्य भएको कारण अहिले मन्त्री पदमा आसिन छन् । आगामी फागुनमा उनको राष्ट्रियसभा सदस्य पद सकिदैछ । र, डा. खतिवडा मन्त्री भएपछि एकसातासम्म सेयर बजार सकारात्मक भएको यो साता नै हो ।

यति मात्रै होइन, पछिल्लो समय उनी आफू उद्योग व्यवसाय र निजी क्षेत्रमैत्री भएको सन्देश प्रवाह गर्ने हरसम्भव कोसिसमा छन् । यही साता भएको नेपाल चेम्बर अफ कमर्शको ७०औं वार्षिक साधारणसभामा निजी क्षेत्रको विकासका लागि सरकार सहयोगी हुने बताए ।

‘सरकार धरपकडमा जादैन, विगतमा केही गल्ती भएकै हुन्, अब यस्तो हुदैन,’ निजी क्षेत्रलाई आश्वस्त पार्ने प्रयास गर्दै डा. खतिवडाले चेम्बरको कार्यक्रममा भनेका थिए ।

विगतमा उनी निजी क्षेत्रका प्रतिनिधिप्रति त्यति सकारात्मक थिएनन् । ‘तिमीहरुलाई केही थाहा छैन, म सबै कुरा जान्दछु, मैले भनेको तिमीहरुले मान’ भन्ने ढंगले प्रस्तुत हुने गर्थे । उद्योगीको एक समुहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर व्याजदर कम गर्न प्रयास गरिदिनुपर्यो भन्ने आग्रह गर्दा पनि डा. खतिवडा त्यसको विपक्षमा रहे । अर्थमन्त्रीले भेट्नै नदिएपछि आफ्ना समस्या राख्न उद्योगी व्यवसायीहरु प्रधानमन्त्री ओलीलाई नै भेट्न पुगेका थिए ।

मन्त्री पद पाउने बित्तिकै सेयर बजारप्रति आक्रामक रुपमा प्रस्तुत भएका डा. खतिवडा अहिले सकारात्मक रहेको सन्देश प्रवाहको कोसिसमा छन् । मन्त्री भए लगत्तैको अन्तरवार्तामा सेयर बजारलाई अनुत्पादक भन्दै सो क्षेत्रमा जाने लगानीलाई कडाई गर्ने बताएका डा. खतिवडा अहिले सेयर बजारका समस्या समाधान गर्ने आश्वासन दिदै हिड्न थालेका छन् । सेयर बजारमा रहेको कर सम्बन्धी समस्या आउँदो बजेटबाट हल गरिदिने आश्वासन पनि मन्त्री खतिवडाले दिन थालेका छन् ।

डा. खतिवडाको कोपभाजनमा परेको अर्काे क्षेत्र अटोमोवाइल्स हो । उनी मन्त्री बन्नुभन्दा अगाडि नेपाल राष्ट्र बैंकको गभर्नर भएको बेलामा पनि अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक भन्दै सो क्षेत्रमा जाने कर्जामा कडाई गरे । मन्त्री भएपछि पनि अटोमोबाइल्स क्षेत्रप्रति उनको सकारात्मक धारणा र प्रतिक्रिया रहेन ।

तर, पछिल्लो समय अटोमोबाइल्स क्षेत्रप्रति पनि आफू नरम भएको सन्देश प्रवाह गर्ने प्रयासमा डा. खतिवडा छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत गाडीमा लाग्दै आएको भन्सार शुल्क कम गर्ने आश्वासन डा. खतिवडाले बाँढेका छन् । निजी क्षेत्रका प्रतिनिधिले भेट्न खोजे उनी अहिले सहजै उपलब्ध छन् ।

उनको कार्यकाल फागुनदेखि दोहोरिन्छ वा दोहोरिदैन भन्ने यकिन छैन । राष्ट्रपतिले फेरि राष्ट्रियसभा सदस्यमा नियुक्त नगरे फागुनपछि उनी बढीमा ६ महिना मात्रै मन्त्री बन्न पाउने छन् । त्यसपछि उनी मन्त्री बन्न संबैधानिक रुपमै अयोग्य हुनेछन् ।

डा. खतिवडाको गतिविधिको सत्तारुढ नेकपामा पनि आलोचना हुने गरेको छ । बजारले पनि उनलाई अर्थमन्त्रीका रुपमा सकारात्मक रुपमा लिएको छैन । प्रधानमन्त्री ओलीलाई खुशी पार्न सकेका कारण अर्थमन्त्री बनेका डा. खतिवडालाई आफ्नो पद जोगाउन अब भने बजारलाई पनि सन्तुष्ट पार्नुपर्ने चुनौति छ । निजी क्षेत्रले सकारात्मक रुपमा लिए आफू फेरि अर्थमन्त्रीमा दोहोरिन सक्ने आशा डा. खतिवडाको छ । त्यसैले उनी माथिको ‘हरि यो काक्रो’को कथामा जस्तै व्याख्या गराएर भएपनि निजी क्षेत्रमैत्री भएको देखाएर मन्त्रीमा दोहोरिने ध्याउन्नमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.