भ्रमण वर्षको उद्घाटनः घरघरमा दीपावली, सीमामा स्वागत र बग्गीमा शहर परिक्रमा

  २०७६ पुष १५ गते १८:०३     सन्ताेष राेकाया

काठमाडाैं । भोलि अर्थात बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० अभियान सुरु हुँदैछ । नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात पुस १६ गते बुधबार देशभर भ्रमण वर्षको औपचारिक उद्घाटन हुने भएको हो ।

भ्रमण वर्ष सचिवालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्ने कार्यक्रम छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ३१ देशका पर्यटनमन्त्री र विशिष्ठ व्यक्तिलाई भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका थिए ।

तर, अहिलेसम्म चीनका पर्यटन मन्त्री वाङ छियाेफिङ, भारतका पर्यटन मन्त्री प्रल्हाद सिंह पटेल, जमैकाका पर्यटन मन्त्री एडमण्ड बरट्लेट र म्यानमारका पर्यटन मन्त्री यु ओहोन काठमाडाैं आइपुगेका छन् ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ सुरु हुन लागेको नेपाल भ्रमण वर्षमा सहभागिता जनाउन धेरै देशका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् । उद्घाटन समारोहमा भारत, चीन, बङ्गलादेश, युरोपलगायत देशका ४० भन्दा बढी सञ्चारमाध्यमका सञ्चारकर्मीको पनि सहभागिता रहनेछ ।

उद्घाटन समारोहमा साँस्कृतिक कार्यक्रमसहित झाँकी प्रस्तुत गरिनेछ । मन्त्री भट्टराईले यसअघि नै काठमाण्डौ उपत्यकाका स्थानीय जनप्रतिनिधिसँग छलफल गरेर आ–आफ्नो नगरका परिचय झल्किने झाँकी प्रदर्शन गर्न अनुरोध गरेका थिए ।

भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यका अनुसार उद्घाटन समारोहमा करिब २ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । सरकारले भ्रमण वर्ष २०२० का लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यस्तै, केन्द्र सरकारले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका दिन घरघरमा दीपावली गरी उत्सव मनाउन सबै नेपालीलाई आग्रह गरेको छ । संघीय सरकार तथा प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरुमा पनि आ–आफ्नै मौलिक कार्यक्रमहरु गरी उत्सव मनाउन संघीय सरकारको निर्देशन छ । निजी संघ, संस्था र कार्यालयहरुलाई पनि नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गर्न विभिन्न कार्यक्रम संचालन गर्ने तथा सरकारी कार्यक्रममा सहभागिता जनाउन सरकारले अनुरोध गरेको छ ।

यस्तै, सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्नेछन् ।

प्रदेश १ मा उद्घाटन शहिद पार्कमा

प्रदेश १ ले विराटनगरको शहीद मैदानमा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक योजना अघि बढाइएको प्रदेश १ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । उद्घाटन समारोहमा प्रदेश १ का विभिन्न कला र संस्कृति झल्किने झाँकीसहितका प्रस्तुति हुनेछन् ।

प्रदेश १ ले भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धन समिति गठन र पूर्वाधारका काम पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ । पर्यटन पूर्वाधारमा १ अर्ब ५१ करोड रूपैयाँ बजेट विनियोजन गरिएको प्रदेश १ काे पर्यटन मन्त्रालयले जानकारी दिएकाे छ ।

प्रदेश २ को तयारी, सबै जिल्लामा समन्वय समिति

पर्यटन वर्ष २०२० को तयारीका लागि प्रदेश २ को आठवटै जिल्लाहरुमा समन्वय समितिहरु गठन भएका छन् । समतिले प्रदेश २ काे तयारी पुरा भएको नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक मनिष झाले जानकारी दिए । प्रदेश २ ले पनि जनवरी १ मा विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ ।

प्रदेश ३ ले सीमा नाकामा स्वागत गर्ने

प्रदेश तीनले पनि भ्रमण वर्ष समारोहको तयारी पुरा गरेको बताएको छ । प्रदेश ३ सरकारले भ्रमण वर्षको दिन चिनियाँ र भारतीय पर्यटकलाई सीमा नाकामा स्वागत गर्ने तयारी गरेको छ । रसुवा, तातोपानी नाका, चितवन विमानस्थलमा आउने पर्यटकलाई स्वागत कार्यक्रम गरिने प्रदेश ३ ले जानकारी दिएको छ । प्रदेश सरकारले चितवनमा चलिरहेको हात्ती महोत्सवबाट नै भ्रमण वर्षको सुरुवात गर्ने योजना बनाएको छ ।

गण्डकी प्रदेशमा ११ जिल्लाकाे झाँकी

गण्डकी प्रदेशले भ्रमण वर्षको तयारी पुरा गरेको छ । प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पोखरामा विशेष कार्यक्रम गर्दैछ । भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा १५ सदस्यीय उपसमिति गठन गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सांस्कृतिक झाँकी प्रदर्शन गर्ने तयारी छ ।

प्रदेश ५ मा ‘लुम्बिनी भ्रमण वर्ष’

प्रदेश ५ सरकारले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा गरेको छ । लुम्बिनी, तिरौलाकोट, रामग्राम, देवदहलगायतका स्थलहरुलाई जोडेर भ्रमण वर्षका कार्यक्रम सञ्चालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेश ५ ले पनि जनवरी १ मा विशेष कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन गर्दैछ ।

१ लाख पर्यटक भित्र्याउने कर्णालीकाे लक्ष्य

सन् २०२० मा एक लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ कर्णाली प्रदेशले भोलि भ्रमण वर्षको सुरुवात गर्दैछ । प्रदेशले २०२० मा एक लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो । भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ ।

प्रदेश सरकारले रारा, से–फोक्सुण्डो, लिमी उपत्यका, त्रिपुरासुन्दरी, पञ्चकोशी, सिञ्जा, काँक्रे विहारलगायतका क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा तोकेको छ । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष शुभारम्भका दिन जनवरी १ मा कर्णालीका १० वटै जिल्लाका साँस्कृतिक झाँकी प्रदर्शन गर्ने तयारी गरेको छ ।

सुदूरपश्चिममा पहिलो पर्यटकलाई बग्गीमा बजार घुमाइने

सुदूरपश्चिम प्रदेशले भ्रमण वर्षको उद्घाटन जनवरी १ मा धनगढीमा रहेको संघीय प्रहरी इकाई मैदानमा गर्नेछ । उद्घाटन समारोहमा सुदूरपश्चिमको कला र संस्कृति झल्किने गीत तथा झाँकी प्रस्तुत गरिने सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले जानकारी दिइन् ।

सीमाना नाकाबाट भित्रिने पर्यटकलाई स्वागत गरिने सुदूरपश्चिम प्रदेशले योजना बनाएको छ । नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने तयारी छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा राखेर बजार परिक्रममा गराउने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.