ज्ञान चक्की आटाले स्वागत गरेको ठमेल, भ्रमण वर्षप्रति व्यवसायी निराश

  २०७६ पुष १३ गते १९:४०     सन्ताेष राेकाया,नविन पाेखरेल

काठमाडाैं । सबैलाई थाहा छ कि ठमेल पर्यटकीय नगरी हाे । नेपाल भ्रमणमा अाउने विदेशी पर्यटक मध्ये  ९० प्रतिशत ठमेलमा पुग्छन् ।

पर्यटकलाई सेवा दिन खुलेकाे सुविका सम्पन्न हाेटल, रेष्टुरेन्ट तथा बार मात्र हाेइन, नेपाली माैलिकता झल्काउने बस्तु तथा सेवा बिक्री गर्न सुन्दर सहर बसेकाे छ ठमेलमा । पर्यटन सम्बन्धि सरोकार राख्ने धेरैजसो संघ संस्थाहरु पनि ठमेलमै छन् ।

ठमेलमा पाइला टेक्ने जो सुकैले पनि अलि पृथक किसिमको अनुभूति गर्छन् । किनकि त्यहाँको वातावरण त्यही किसिमको रोचक छ ।

यतिखेर देशमा एउटा विषयमा ठूलो चर्चा छ । सडकदेखि सदनसम्म मानिसको मुखमा झुण्डिएको छ त्यो शब्द । भ्रमण वर्ष २०२० । हो, यतिखेर देशमा भ्रमण वर्ष २०२० को चर्चा परिचर्चा अनि चटारो छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आयोजना गरेका कार्यक्रमहरुमा सहभागी जनाउन भ्याइ न भ्याई छ माथिल्लो ओहोदाका मानिसलाई  । सामाजिक सञ्जालबाटै भएपनि भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्न छुटाएका छैनन् । २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना छ सरकारको ।

तर, २०२० लाई सफल बनाउन सरकारले कतिको मिहिनेत गरेको छ ? भौतिक संरचनाहरु कत्तिको निर्माण भएका छन् ? पर्यटकहरुका लागि खास सुविधा केछ भन्ने मनासायले विकासन्यूजकर्मी आइतबार सबै पर्यटकको पाइला पर्ने स्थान ठमेलको अवलोकनमा निस्किए ।

बागबजारबाट हाम्रो यात्रा शुरु भयो ठमेलसम्मका लागि । रत्नपार्क कान्तिपथ हुँदै हामी ठमेलको प्रवेशद्वार केशर मल चोकमा पुग्यौं । ठमेलमा हरेक विदेशी पर्यटकहरुले पाईला टेक्छन् । उनीहरुको बास बस्ने र मन परेको सामान खरिद गर्ने विशेष ठाउँ हो ठमेल ।

केशर पुस्तकालयबाट प्रवेश गर्दै हरेक मानिसहरु ठमेल पुग्छन् । सरकारले भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि विभिन्न प्रचार प्रसारका सामाग्रीहरु सम्प्रेषण गरिरहेको बताउँदै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुने मात्र होइन भ्रमण वर्षका विभिन्न सन्देशहरु प्रचार प्रसार गर्न आफै तल्लिन छन् ।

स्वदेशमा मात्र होइन विदेशमा भएका घटनाक्रमहरुसमेत उनले विशेष प्राथमिकताकासाथ सामजिक सञ्जालमार्फत सेयर गरिरहेका हुन्छन् । तर, देशको प्रमुख मेरुदण्ड अर्थात सबैभन्दा पर्यटक आवतजावत गर्ने क्षेत्र ठमेल भने उही  पुरानै ढर्रामा चलिरहेको छ ।

अब शुरु गरौं ठमेल तर्फको यात्रा । ठमेलको प्रवेशद्वारमै एउटा चोक ।  नाम हो केशर मल चोक । केशरमल चोकको बिच्चमै राखिएको छ एउटा ट्राफिक आइल्याण्ड । त्यही ट्राफिक आइल्याण्डमाको माथिपट्टी  ठूलो अक्षरले लेखिएको छ शुद्ध गहुँको चक्की आटा, गहुँको असली गुण, स्वादिलो नरम  रोटीमा ।

ज्ञान चक्की आटाले ठमेलमा प्रवेश गर्ने जो कोहीलाई पनि भ्रमण वर्ष २०२० को गज्जवले स्वागत गरिरहेको थियो । ठूलो पर्यटक वस्तीतर्फ हामी साँघुरो बाटो हुँदै भित्र पस्यौं ।  बाटोमै तछाड मछाडका रुपमा थिए सडक व्यापारी । जनवरी १ मा भ्रमण वर्षको शुरुवात गरिँदैछ । त्यही भ्रमण वर्षको स्वागत गरे झैं तल्लिन देखिन्थे ती सडक व्यापारी । त्यो सडमा हिड्ने जोकोहीलाई पनि बलजफ्ती सामान देखाउन व्यस्थ थिए तिनीहरु । उनीहरु सामान किन्न चाहुन् वा नचाहुन् ।

अव्यवस्थित तार काटिँदा इन्टरनेट बन्द

ठमेल पर्यटन विकास परिषदले नेपाल भ्रमण वर्ष २०२० को तयारी भन्दै मंसिर ३ गतेदिख लापरवाहीपूर्ण तरिकाले इन्टरनेट र टेलिफोनका तारहरू काट्याे। काटिएका इन्टरनेट तथा टेलिफोन तारहरु सडकमा अव्यवस्थितरुपमा झारिएका छन् । सदाझैं अव्यवस्थित र गजुल्टो परेका तारहरुले कुरुप बनेको ठमेल जताततै झारिएका तारले झनै कुरुप बनेको देखिन्छ ।

सडक कुरुप मात्र होइन, हाल जथाभावी रुपमा काटिएका तारहरुले ठमेलमा इन्टरनेट, टेलिफोन लगायत सेवा अवरुद्ध भएको छ । हाल व्यवसायीको आग्रहमा तार काट्ने काम रोकिएको छ ।

संचय कोष भवनदेखि सुरु गरिएको काम १० दिन भित्रमा सम्पन्न गर्ने लक्ष्य भएपनि अहिले बीचैमा काम रोकिएको छ । तर, काटिएका स्थानमा अझै सञ्चार सेवा सञ्चालनमा आउन सकेको छैन । तार काटिएपछि टेलिफोन र इन्टरनेट सेवा सञ्चालन नहुँदा समस्या भएको व्यवसायीहरुले गुनासो गरेका छन् । तार काट्न सुरु गर्दा उत्साहित बनेका स्थानीय व्यवसायी बीचैमा काम रोकिँदा कहिलेबाट पुनः काटिने, कहिलेसम्म काटिसक्ने र बन्द भएको सञ्चार सेवा सञ्चालन कहिले हुने भन्दै प्रश्न गर्छन् ।

तर, कामको चाँप बढ्नुका साथै सबैतिर इन्टनेर काटिँदा समस्या हुने देखिएको कारणले केही समयका लागि काम स्थगित गरिएको ठमेल पर्यटन विकास परिषदका एक कर्मचारीले बताए । भ्रमण वर्ष सुरु हुनै लाग्दा समेत ठमेलको अव्यवस्था सुधार हुन नसक्ने भन्दै स्थानीय चिन्तित छन् ।

अर्को समस्या साँघुरो सडक

ठमेल आफैमा पर्यटकीय गन्तव्य भएकाले पर्यटकहरू बस्न, खान तथा रमाउन ठमेल पुग्न रुचाउँछन् । तर, ठमेलको सडक अस्तव्यस्त भएकै कारण धेरै पर्यटक र नागरिकहरूलाई हिँडडुल गर्न समस्या छ ।

साँघुरो सडक । साेही सडकमा पैदलयात्री, ट्याक्सी र रिक्साहरुसँग ठेलमठेल गर्दै हिड्नु पर्ने वाध्यता छ विदेशी पाहुनालाई ।

लामो समयदेखि ठमेलमा न्यू फेसन सप सञ्चालन गर्दै आएकी संगिता शाहीले सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेपनि पर्यटकलाइ दिने सेवा सुविधा वृद्धितर्फ केही काम नभएकाे बताइन् । भौतिक संरचना नै राम्राे नभएकाे उनकाे बुझाइ छ । ‘धेरै देशका पर्यटकहरु आउने ठाउँ ठमेलको भौतिक पूर्वाधारका संरचनाहरु लज्जास्पद अवस्थामा छ’ उनले भनिन् ।

स्थानीयकाे असन्तुष्टिका बाबजुत जर्मनीबाट नेपाल घुम्न आएका एलेक्स खुशी नै देखिन्छन् । ‘नेपाल धेरै राम्रो देश हाे’ उनले भने । तर यहाँकाे सडक लगायत मानव निर्मित पूवार्धारमा धेरै सुधार गर्न सकिने उनले बताए ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० भव्यताकासाथ सफल पार्ने बताइ रहेपनि ठमेलका व्यवसायीहरू भने भ्रमण वर्षमा २० लाख पर्यकट भित्रिनेमा आशंकित छन्  । सरकारले देशको अथवा प्रमुख प्रर्यटकीय ठाउँको भौतिक संरचना तथा पूर्वाधारहरु निर्माण गरेर शुरू गर्नु पर्नेमा हचुवाको भरमा नेपाल भ्रमण वर्ष शुरू गर्न लागिएको बताउँछन् । भ्रमण वर्ष शुरू हुनै लाग्दा पनि ठमेलमा पर्यटकको आगमन न्युन भएको व्यवसायीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.