सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्षको तयारी

  २०७६ पुष १२ गते १३:३४     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुने दिन यही पुस १६ गते अर्थात् जनवरी १ लाई यहाँ उत्सवको रूपमा मनाउने तयारी गरिएको छ । प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकले गरेको निर्णयअनुसार नेपाल भ्रमण वर्ष शुरु हुने आगामी जनवरी १ लाई उत्सवका रूपमा मनाउने तयारी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन शाखाका प्रमुख भोजराज पाठकले बताए ।

सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह गर्ने गरी तयारी भइरहको छ । मुख्य समारोह अघि प्रदेशका नौवटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न लागिएको छ । पहिलो दिनलाई उत्सवका रूपमा मनाएर वर्षभरि गरिने पर्यटन गतिविधिलाई अगाडि बढाउने तयारी भएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए ।

भ्रमण वर्षलाई सफल तुल्याउन प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई बढी महत्व दिइएको छ । यसका लागि भ्रमण वर्षलाई लक्षित गरेर प्रदेशमा भित्रिने पर्यटकको स्वागतका लागि चिसापानी, खक्रौला, त्रिनगर, गड्डाचौकी, झुलाघाटलगायतका सीमानाका र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गर्न लागिएको छ ।

स्वागतद्वारमा प्रदेशका पर्यटकीय गतिविधि र पर्यटन गन्तव्य झल्किने र आवश्यक सूचना दिने खालका पोष्टर र होर्डिङ बोर्डसमेत राख्न लागिएको छ । सञ्चारमाध्यम मार्फत प्रचारप्रसार गर्ने योजना बनाइएको छ । ‘भिजिट नेपाल २०२०’ को लोगोसहित प्रदेशको पर्यटकीय गन्तव्य झल्किने लोगोसमेत अङ्कित ‘स्टीकर’ सार्वजनिक यातायातका साधनमा टाँसेर प्रचारप्रसार गर्ने योजना पनि बनाइएको छ ।

प्रदेशको पर्यटन झल्किने गरी तयार पारिएको लोगो पर्यटक प्रवद्र्धन समितिको बैठकले अनुमोदन गरिसकेको छ । ‘देव भूमि सुन्दर भूमि’नारा लेखिएको लोगोमा प्रदेशका प्राकृतिक र मानव निर्मित पर्यटकीय क्षेत्रको तस्वीरसमेत राखिएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भ्रमण वर्षलाई लक्षित गरी ‘भ्रमण वर्ष २०२०, हाम्रो मूल नारा राष्ट्र विकास, सबैको विकास, जुटौं हामी सारा’ भन्ने मूल नारासहित पर्यटनमैत्री गतिविधि गर्ने योजना बनाएको छ ।

अभियानअन्तर्गत सीमानाकामार्फत भित्रिने पर्यटकको विवरण सङ्कलनका साथै पर्यटकलाई लक्षित गरी नाकाबाट भित्रिने गाडीका चालकका लागि सचेतना कार्यक्रम शुरु गरिसकेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै सीमानाकाबाट भित्रिने भारतीय गाडीका चालकले रुट परमिट(सडक इजाजत) लिनका लागि झन्झट व्यहोर्नुपरेको अवस्था रहेको परिपे्रक्ष्यमा भ्रमण वर्षलाई मध्यनजर गरी सीमानाकामा नै ‘रुट परमिट’ उपलब्ध गराउने व्यवस्था गर्न लागिएको पनि उनले बताए ।

प्रदेश सरकारले भ्रमण वर्षलाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहितका कार्यक्रम सञ्चालन गर्ने योजना बनाउन लागेको छ । यसका लागि तेस्रो मुलुकका पर्यटकलाई प्रदेशका पर्यटकीय गन्तव्यस्थलमा घुमाइदिने व्यसायीलाई तोकिएको मापदण्डका आधारमा अनुदान उपलब्ध गराउने गरी तयारी भइरहेको छ । प्रदेशमा नगण्यरूपमा भित्रिने तेस्रो मुलुकका पर्यटकलाई भित्र्याउन यस्तो रणनीति बनाउन लागिएको हो । यो प्रदेशमा तेस्रो मुलकको तुलनामा भारतीय पर्यटक बढी आउने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.