नबिल बैंक कर्जा लगानीमा आक्रामक, डेढ करोडसम्मको कर्जा ९.९९% व्याजमा

  २०७६ पुष ७ गते १२:५८     विकासन्युज

काठमाडौं । नबिल बैंक कर्जा लगानीमा आक्रामक रुपमा प्रस्तुत भएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरेर नविल नारी कर्जा, नविल सजिलो एसएमई कर्जा, नविल सजिलो एक्स्प्रेस कर्जा योजना सार्वजनिक गरेको छ ।

तीनै प्रकारका कर्जामा तुलनात्मक रुपमा सस्तो व्याजदर तोकिएको छ भने छोटो अवधिमा कर्जा उपलब्ध गराउने प्रतिवद्धता बैंकले जनाएको छ । बैंकले ९.९९ प्रतिशत व्याजमा १ करोड ५० लाखसम्म कर्जा दिने भएको छ । नविल नारी कर्जा योजना अन्तर्गत बैंकले नारीहरुको लागि कम्तिमा ५ लाख र बढीमा १ करोड ५० लाख रुपैयाँसम्म कर्जा दिने बैंकले जनाएको छ ।

यसमा ५० हजारसम्मका क्रेडिट कार्ड सुविधा हुनेछ । बैंकमा बचत खाता पनि खोलिएको अवस्थामा उनीहरुलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाखसम्मको जटिल रोग उपचार बीमा, ७५ हजारको टर्मलाईफ बीमा सुविधा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

नबिल नारी कर्जामा जस्तै सुविधा भएको ‘नबिल सजिलो एसएमई कर्जा’ योजना पनि बैंकले ल्याएको छ । तर यस कर्जाको व्याज १० दशमलव ५० प्रतिशत तोकिएको छ । दुबै प्रकारको कर्जा बढीमा ५ दिनमा स्वीकृत हुने बैंकले जनाएको छ ।

छिटो कर्जा लिन चाहानेहरुको लागि बैंकले नविल सजिलो एक्स्प्रेस कर्जा योजना ल्याएको छ, जुन ३५ घण्टामा स्वीकृत गरिने अनिल शाहले बताए । यस्तो कर्जा १५ देखि ७५ लाख रुपैयाँसम्मको हुने र व्याज एक वर्षको लागि १० दशमलव ५० प्रतिशत हुने बैंकले जनाएको छ ।

क्रेडिट स्क्रोरिङ मोडलको यस्तो कर्जा सुविधा नेपालमा पहिलो पटक ल्याइएको बैंकको प्रमुख कार्यकारी अधिकृत शाहले बताए । बैंकले यस कर्जामा बीमाका सुविधाहरु नभएको जनाएको छ ।

केही वर्षयता बैंकहरूले कर्जामा १२ देखि १५ प्रतिशतसम्म लिने गरेका छन् । पछिल्लाे समय बैंकहरूमा कर्जाकाे माग नभएकाे समाचारहरू सार्वजनिक भइरहेकाे बेलामा नबिल बैंकले केही कम व्याजदरका कर्जा याेजना ल्याएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.