हङकङमा ट्रान्जिट भीसाको व्यवस्था गरौंः काँग्रेस

  २०७६ पुष ६ गते १४:१५     विकासन्युज


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाली नागरिकका लागि हङकङमा ट्रान्जिट भीसाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा गएको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ग्यापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

ठूलो संख्यामा नेपाली कामदार मकाउमा कार्यरत रहेको तर हङकङमा ट्रान्जिट भीसाको व्यवस्था नहुँदा समस्या भएकोले यस्तो व्यवस्था गर्नुपर्ने प्रमुख सचेतक खाँडले वताए ।

‘वर्क पर्मिट’ प्राप्त गरी करिब ४ हजार नेपाली रोजगारीका लागि मकाउमा रहँदै आएका छन् । काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन हालसम्म सोझो हवाई उडान छैन । मकाउमा रोजगारीका लागि पुग्ने र आउने नेपालीले कठिनाई भोग्नु परेकोले हङकङमा ट्रान्जिट भीसाको व्यवस्था गर्नुपर्ने काँग्रसको माग छ ।

काठमाडौं–हङकङ–मकाउ वा मकाउ–हङकङ–काठमाडौं सबैभन्दा पायक र सहज रुटमा रहेको छ । तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भीसाको व्यवस्था नभएकोले हङकङको ट्रान्जिट भीसा व्यवस्था गर्न माग गरिएको हो ।

परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भीसा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस बिषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिनिधिमण्डलमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक खाँडासहित तरुण दलका पूर्वसचिव एवं नेपाली काँग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष बिद्धान गुरुङ, नेपाल मकाउ चेम्बर आफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर, मनोज गुरुङ र रामकृष्ण श्रेष्ठ थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.