मलेशियाको जेलमा १ सय ९८ नेपाली, डिपोर्टेशन सेन्टरमा १ सय १० जना

  २०७६ पुष ४ गते १८:१७     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १ सय ९८ नेपाली श्रमिकहरु मलेसियाका विभिन्न जेलमा छन् । मलेशियाको कानुन विपरित गतिविधि गरेको आरोपमा उनीहरु विभिन्न जेलमा परेका हुन् ।

मलेशियाको कानून नजान्दा धेरै नेपाली जेलमा पर्ने गरेको बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए । विभागले विदेशका जेलमा रहेका नेपालीलाई नेपाल फर्काउने तथा तथ्यांकल संकलन गरिरहेको छ ।

‘गन्तव्य देशको सरकारी नीति, नियम तथा कानूनको बारेमा राम्रो जानकारी नहुँदा कयौं नेपाली श्रमिक विभिन्न देशको जेलमा छन्, यस्ता नेपालीलाई नेपाल ल्याउन सम्बन्धित देशमा रहेको नेपाली राजदुतावासमार्फत हामीले पहल गरिरहेका छौं,’ डा. भुसालले भने ।

पछिल्लो समय मलेशिया सरकारले यही डिसेम्बरसम्म ‘व्याक फर गुड’ कार्यक्रममार्फत गैरकानूनी रुपमा मलेशिया रहेका विदेशी कामदारलाई आफ्नो देश फर्कन सक्ने व्यवस्था गरेको छ । मलेशिया सरकारको यही व्यवस्थाअनुसार नेपाल सरकारले मलेशियामा गैरकानूनी रुपमा रहेका नेपालीलाई नेपाल फर्काउने कार्यक्रम संचालन गरेको हो ।

मलेशियामा रहेका नेपालीलाई नेपाल फर्काउनको लागि नेपाली दुतावाससँग समन्वय गरेर नेपाल फर्काउने पहल भएको महानिर्देशक डा. भुसालले बताए ।

डिपोर्टेशन सेन्टरमा १ सय १० नेपाली

मलेशिया सरकारले गैरकानूनी रुपमा बसेका तथा गैरकानूनी गतिविधिमा संलग्न भएका १ सय १० नेपालीलाई डिसेम्बर महिनासम्ममा फिर्ता पठाउने प्रक्रिया सुरु गरेको छ । यसरी फिर्ता पठाउन लागिएका नेपालीलाई मलेशियाले डिपोर्टेशन सेन्टरमा राखेको छ ।

नीति, नियम तथा ऐन नबुझ्दा जेलमा

वैदेशिक रोजगारीका क्रममा आफूले गर्ने काम तथा पाउने सेवा सुविधाको बारे नबुझी जाने गरेका कारण पनि धेरै नेपाली अप्ठेरोमा पर्ने गरेका छन् ।

त्यस्तै, राम्रो सेवा सुविधाको अपेक्षामा पनि धेरैले कम्पनी परिवर्तन गर्ने गरेका छन् । यसरी कम्पनी परिवर्तन गर्दा पनि नेपाली कामदार कानूनी झमेलामा पर्ने गरेका छन् ।

खाडी देशका जेलमा ३ सय ३७ नेपाली

नेपाली कामदारको प्रमुख गन्तव्य रहदै आएको खाडी देशका विभिन्न जेलहरुमा पनि ठूलो संख्यामा नेपाली छन् ।

विभागले दिएको जानकारी अनुसार साउदी अरेवियामा ५४ जना नेपाली जेलमा छन् । यस्तै कतारमा ३५ जना, युएईमा १ सय ८५ जना, कुवेतमा ५८ जना र बहराईनमा ५ जना नेपाली जेलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.