तपाईंको कारले माइलेज नदिएर चिन्तामा हुनुहुन्छ ? अपनाउनुस् यी ६ उपाय

  २०७६ मंसिर १८ गते १९:३२     विकासन्युज

काठमाडाैं । इन्धनको बढ्दो मूल्य हाल सबैको चिन्ताको विषय बनेको छ । पेट्रोल र डिजेलको महंगीले त झन् गाडी चलाउन मुस्किल नै बनाइदिएको छ ।

कालान्तरमा इन्धनको मूल्य अझबढेर नजाला भन्न सकिन्न । त्यसमाथि पनि तपाईं हामीले चाहेर इन्धनको मूल्यलाई घटाउन पनि त सक्दैनौं । तर हामीले थोरै जागरुकता देखाउने हो भने चाहिँ गाडीले गर्ने तेलको खपतमा कमी भने अवश्य ल्याउन सक्छौं ।

आज हामी त्यस्ता छ महत्वपूर्ण उपायहरुका बारेमा चर्चा गर्नेछौं जसलाई अपनाउनाले तपाईंले आफ्नो वाहनको माइलेज क्षमतामा वृद्धि ल्याउन सक्नुहुन्छ ।

१. कम वजन

कारले कति तेल खपत गर्छ भन्ने कुरा त्यसले कति वजन उठाइरहेको छ भन्नेमा भर पर्छ । यदि तपाईंको कार ओभरलोडेड छ भने इञ्जिनलाई गति लिनको लागि बढि तेलको आवश्यकता पर्दछ जसका कारण तेलको खपत पनि बढेर जान्छ । तसर्थ, कारलाई ओभरलोड हुन नदिएर माइलेजमा वृद्धि ल्याउन सकिन्छ ।

२. कारको टायर

प्रायजसोले कारलाई मस्कुलर लुक्स प्रदान गर्नका लागि ओरिजिनल टायरको सट्टा केहि चौडा टायर जडान गर्ने गर्दछन् । टायर चौडा भयो भने इञ्जिनमा बढि दबाव पर्न जान्छ र तेलको खपत पनि बढि हुने गर्दछ । त्यसैले कारमा ओरिजिनल टायरनै यथावत राख्ने हो भने कारले दिने माइलेजमा कमी आउँदैन ।

३. ट्राफिक जामको बेला सावधानी

आफ्नो गाडीलाई ट्राफिक सिग्नलमा रोक्दा इञ्जिन बन्द गर्नुमै बुद्धिमानी हुन्छ । विशेषतः ट्राफिक जामको बेला २० सेकेण्ड भन्दा बढि गाडीलाई रोक्नुपरेको खण्डमा इञ्जिनलाई बन्द गर्न बिर्सनु हुँदैन । यसले तेलको खपतलाई धेरै हदसम्म कम गर्दछ ।

४. गियर परिवर्तनमा ध्यान

कार चलाइरहेको वेलामा याद राख्नुपर्ने अर्को प्रमुख कुरा भनेको गियरलाई सावधानीपूर्वक बदल्नु हो । लामो यात्रा गर्दा गियरलाई कम भन्दा कम अथवा आवश्यक परेको खण्डमा मात्र बदल्ने गर्नाले इञ्जिनले कम तेल खपत गर्दछ ।

५. कारको गति

कारलाई सिमित गतिमा चलाउनाले इञ्जिनले धेरै भारको महशुस गर्दैन जसले गर्दा तेलको खपत कम हुन जान्छ । विज्ञहरुका अनुसार ४० देखि ६० केएमपीएलको स्पिडमा गाडी चलाउने हो भने यसले अधिकतम माइलेज प्रदान गर्दछ ।

६. सर्भिसिङ्ग

समय समयमा कारको सर्भिसिङ्ग गराइराख्नु पर्छ । त्यसैगरी आफैंले घरमा पनि एयर-फिल्टरलाई समय समयमा सफा गरिराख्नाले इञ्जिनमा धेरै फोहर जम्मा हुन पाउँदैन । यसो गर्नाले पनि तपाईंको कारको माइलेज बढेर जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.