यी हुन् नेपालका सस्ता आइसियु बेड भएका अस्पताल, कुनमा कति मूल्य ?

  २०७६ मंसिर १७ गते १८:४६     डाेमी शेर्पा

काठमाडौं । राजधानीको एउटा अस्पतालमा एक रात बिताउन कति खर्च लाग्छ होला ? यस विषयमा थोरै व्यक्तिलाई मात्र जानकारी होला र भएपनि आफु गईरहेको अस्पतालको बारेमा मात्र ज्ञान होला । स्वास्थ्यमा कुन समयमा कस्तो समस्या आउँछ भन्ने कुराको बारेमा हामी अनविज्ञ छौं । अझ ईमर्जेन्सी सेवाको लागि कति तिर्नुपर्छ भन्ने विषयमा हामीहरु जानकार नै छैनौं ।

यस्ता मूल्यहरुको बारेमा जानकार नहुँदा मानिसहरु हतारमा लाखौं रुपैंया खर्च गर्न बाध्य हुन्छन् । आफ्नो क्षमता अनुसारको अस्पतालको शुल्कको बारेमा पहिला जानकार नहुँदा मानिसहरु वर्षौंदेखि साँचेर राखेको बचत खर्चन बाध्य हुन्छन् ।  विकासन्युजले राजधानीका पाँच सरकारी र पाँच प्राइभेट गरी दश प्रमुख अस्पतालको बारेमा लिएकाे जानकारीका अनुसार तिनीहरुले प्रदान गर्दै आएको आइसियु सेवाको मूल्य फरक-फरक पाइएको छ ।

राजधानीमा सञ्चालित पाँच प्रमुख सरकारी अस्पतालहरु मध्ये वीर अस्पताल, टिचिङ अस्पताल, नेशनल ट्रमा सेन्टर, पाटन अस्पताल र गंगालाल अस्पताल रहेका छन् । यस्तै प्राइभेट अस्पतालहरुमा धापासी स्थित ग्राण्डी अस्पताल, जावलाखेल स्थित अल्का अस्पताल, धापाखेल स्थित सुमेरु अस्पताल, पुल्चोक स्थित निदान अस्पताल र थापाथली स्थित नर्भिक अस्पताल प्रमुख अस्पतालहरुको रुपमा चिनिन्छन् ।

यस्तो छ सरकारी अस्पतालको आइसियु बेड चार्ज

राजधानीका प्रमुख पाँच सरकारी अस्पतालहरुको रकम तुलना गर्दा महाराजगंजस्थित टिचिंङ अस्पतालमा आइसियु सेवा सबैभन्दा सस्तो रहेको पाइएको छ । उक्त अस्पतालमा आइसियु सेवाको प्रति दिन बेड चार्ज १७ सय रुपैंयाँ र अस्पतालले डिपोजिट रकम १५ हजार रुपैंया तोकेको छ ।

यद्यपी आर्थिक स्थिति कमजोर भएकालाई अस्पतालले ३ हजार रुपैयाँ मात्र लिने गरेको छ । यस्तै बाँसबारी स्थित गंगालाल हृदयरोग अस्पतालले पनि सस्तो रकममा सेवा दिदै आएको छ । अस्पतालमा आइसियु सेवाको प्रति दिन बेड चार्ज २ हजार र सुरुमा डिपोजिटको रुपमा २० हजार रकम बझाउनु पर्दछ ।

जेठो अस्पताल अर्थात वीर अस्पताल र राष्ट्रिय ट्रमा अस्पताल आइसियु सेवाको तेस्रो सस्तो सरकारी अस्पताल रहेका छन् । यी दुवै अस्पतालहरुले आइसियु सेवाको प्रति दिन बेड चार्ज ३ हजार रुपैयाँ तोकेको छ । वीर अस्पतालले डिपोजिट रकम १० हजार र ट्रमाले २१ हजार लिने गरेको छ ।

राजधानीमा रहेका प्रमुख ५ सरकारी अस्पतालमध्ये पाटन अस्पताल अन्यको तुलनामा थोरै महंगो रहेको पाइएको छ । अस्पतालले आइसियु सेवाको प्रति दिन बेड चार्ज ३५ सय रुपैंयाँ डिपोजिट रकम १५ हजार तोकेको छ ।

निजी अस्पतालमा कस्तो छ ?

राजधानीमा सयौंको संंख्यामा निजी अस्पतालहरु छन् ।  राजधानीमा सञ्चालित  पाँच प्रमुख अस्पतालहरुले दिँदै आएको आइसियु सेवा बेड चार्जमा ठूलो रकमको अन्तर नदेखिए पनि केही हजारको अन्तर भने रहेको छ । यद्यपी यो केही हजारको अन्तरले भने धेरैलाई ठूलो मद्दत गर्दछ । राजधानीको प्रमुख निजि अस्पतालमा धापाखेल स्थित सुमेरु अस्पतालमा आइसियु सेवाको प्रति दिन बेड चार्ज सबैभन्दा सस्तो रहेको छ ।

अस्पतालले आइसियु र सिसियु बेड चार्ज २४ घण्टाको ६ हजार रुपैयाँ तोकेको छ । यसको अर्थात यदि बिरामीलाई ३ घण्टा मात्रै आइसियमा राखिएमा उनले ३ घण्टाको रकम स्वरुप सात सय पचास मात्र तिर्नुपर्न छ ।  अस्पतालले एनआइसियु अर्थात १४ वर्षभन्दा कम उमेरको बालबालिकाको लागि २४ घण्टाको ३ हजार १ सय ५० मात्र तोकेको छ।

यस्तै दोस्रो सस्तोमा जावलाखेल स्थित अल्का अस्पताल रहेको छ । यहाँ आइसियु सेवाको प्रति दिन बेड चार्ज ४ हजार ५ सय रहेको छ । तेस्रोमा पुल्चोक स्थित निदान अस्पताल रहेको छ । निदानले आइसियुको प्रति दिन बेड चार्ज ६ हजार ५ सय तोकेको छ। यस्तै चौथौमा धापासी स्थित ग्राण्डी अस्पताल रहेको छ। ग्राण्डी अस्पतालले आइसियुको प्रति दिन बेड चार्ज १० हजार रुपैंया तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.