विदेशिने मोह : नक्कली कागजातदेखि झुटाे विवाहसम्म

  २०७६ मंसिर १६ गते १७:५६     सुनिता पुडासैनी

काठमाडौं । विदेशमा पैसाको रुख हुन्छ भन्ने गलत मानसिकता आम युवा जगतमा व्याप्त छ । यहि मानसिकताले वर्षेनी लाखौं युवाहरु विदेशिने क्रम बढ्दाे छ । कतिले विदेशमा गएर कडा मिहेनत गरेर पैसा पनि कमाइ गरेका छन् भने कतिपयले काम नपाएर भौतारिएका उदाहरण प्रशस्त छन् । अझ कतिपय त काम गर्न नसकेर फर्किएका छन् । कति लाशकाे रुपमा बाकसमा प्याक भएर समेत  आउने गरेका छन् ।

यस्ता उदाहरण हामी माझ प्रशस्त भएपनि विदेशिने युवाहरुको संख्यामा भने कमी आउन सकेको छैन । विदेशमा मात्र होइन, विदेश जान्छु भनेर विदेश जाने प्रक्रिया  गरिरहेका युवाहरु स्वदेशमै पनि ठगिने परिपाटी पछिल्लो समय झन बढ्दै गएको छ ।

दोलखा घर भएका ३६ वर्षिय राम शर्मा (नाम परिवर्तन) ले दुई वर्ष अगाडी क्यानडा जाने योजना बनाए । वैदेशिक रोजगारको रुपमा तीन वर्ष कतारमा बिताइसकेका उनले फेरी पैसा कमाउन क्यानडा जाने निधो गरे । राम्रो देश जान पाइने भएपछि उनले पैसाको कुनै प्रवाह नगरी साथीको सल्लाहमै एक जना एजेन्टलाई २१ लाख रुपैयाँ बुझाए ।

२१ लाख रुपैयाँ बुझाएको हालसम्म दुई वर्ष बितिसक्दा पनि न उनको विदेश जाने कुरा टुङ्गो लागेको छ नत उनले पैसा दिएका ऐजेन्ट सम्पर्कमा छन् । अहिले उनले पैसा दिएका एजेन्ट भारतमा बस्दै आएको उनले बिकासन्युजलाई बताए । राम मात्र होइन उनी लहैलहैमा लागेका उनका साथीको पैसा पनि लिएर ति एजेन्ट फरार छन् ।

यस्तै ताप्लेजुङ्ग घर भएका २६ वर्षिय कान्छा तामाङ (नाम परिवर्तन) को घटना पनि रामको भन्दा फरक छैन । वैदेशिक रोजगारीकै लागि तामाङले पनि एजेन्टलाई २ लाख दश हजार रुपैयाँ दिए । तर पैसा लिएका एजेन्ट पनि सम्पर्कमा छैनन् । उल्टै उनको पासपोर्ट पनि ति एजेन्टले गायब पारे ।

यी त केही प्रतिनिधि घटनाका पात्रहरु मात्र हुन् । यस्तै एजेन्टबाट ठगिएका, विदेशमा गएर काम नपाएका लगायतका समस्याहरु लिएर दैनिक सयौं मानिसहरु वैदेशिक रोजगार विभागमा धाउने गरेका छन् । पछिल्लो समय अष्ट्रेलिया, युरोप, अमेरिका जस्ता सुविधा सम्पन्न देशमा जानेको लहर चलेसँगै विभागमा ठगीका घटना आउने क्रम पनि बढ्दै गएको हो ।

सुविधा सम्पन्न देशमा जानकै लागि नक्कली विवाह मात्र होइन घरायसी लेनदेन कारोबारमा पनि वैदेशिक रोजगारीको कागज गर्ने प्रवृति भयावह रहेको विभागले बताएको छ । हाल विभागमा विभिन्न देशमा पठाउने भनेर लाखौं रकम ठगेका मुद्दाहरु पेश भएका छन् ।

कानुनी प्रक्रिया भन्दा पनि गैर कानुनी माध्यम द्वारारा विदेश जानेहरुका मुद्दाहरु बढी विभागमा आउने गरेका विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले बताए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार १ सय ७७ वटा व्यक्तिगत उजुरी विभागमा दर्ता भएका छन् । भूषालले दाबी रकम बराबर चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १३ करोड ६६ लाख ६९ हजार ११६ रुपैयाँ जम्मा भएको बताए ।

यस्तै चालु आर्थिक वर्षको हालसम्म २ सय १५ वटा उजुरी विभागमा आएको भूषालको भनाइ छ । ती मध्ये अदालतमा ९८ वटा मुद्दा दायर भएका छन् । विगोमा दाबी रकम १० करोड ९८ लाख ६१ हजार जम्मा भएको छ । यस्तै गतवर्ष मात्रै विभागमा ८ सय ५५ वटा उजुरीमा २०९ वटा रहेका थिए । त्यसबाट ५६ करोड ११ लाख २९ हजार दावी रकम जम्मा भएको थियो ।

वैदेशिक रोजगारीका रुपमा कमाउन विदेश जानै परेपनि कानुनी रुपमा कागजात मिलाएर काम गर्नु पर्ने जानकारहरु बताउँछन् ।  वैदेशिक रोजगारका लागि अवैध रुपमा विदेश जाने र समस्यामा पर्दा विभाग धाउने परिपाटी पछिल्लो समय बढ्दै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.