खेलाडीको सम्पूर्ण बन्दोबस्त तारे होटलमा, ५ अर्ब खर्च हुँदा ५० करोड आम्दानीको अनुमान

  २०७६ मंसिर १५ गते २०:१२     विकासन्युज

काठमाडौं । आजबाट १३औं दक्षिण एशियाली खेल (साग) नेपालमा शुरु भएको छ । काठमाडौं, पोखरा र जनकपुरमा हुने २८ विधाका खेलमा प्रतिस्पर्धा गर्न सागमा ३ हजार २ सय २८ खेलाडी सहभागी हुँदैछन् ।

खेलाडी, प्रशिक्षक र खेलकुद सम्बन्धि विभिन्न संस्थाको पदाधिकारी समेत गरी करिब ५ हजार ४ सय जनालाई खेलकुल परिषदले तारे होटलमा बस्ने खाने बन्दोबस्त मिलाएको छ । राजधानीको पाँच तारे होटलदेखि विदेशी पर्यटकस्तरी १७५ वटा होटल उनीहरुलाई राखिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा १२५ वटा होटल बुक गरेको छ । त्यस्तै, पोखरामा ३५ वटा र जनकपुरमा १५ वटा होटल बुक गरेको छ । सिंगल र डबल गरेर ३२०० बेड बुक गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले जानकारी दिए ।

धेरैजसो खेलाडी काठमाडौंमा नै रहने भएकाले पनि यहाँ धेरै होटलहरू बुक गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । परिषदका सदस्य सचिव रमेश सिलवालका अनुसार काठमाडौंमा एथ्लेटिक्स, बास्केटबल, बक्सिङ, क्रिकेट, साइक्लिङ, पुरुष फुटबल, कराँते, कबड्डी, खो-खो, पौडी, टेबल टेनिस, भलिबल, हुस्सु, जुडो खेल खेल्ने खेलाडीका लागि दुई हजार ४३१ खेलाडीका लागि काठमाडौंमा बस्ने व्यवस्था गरिएको छ । काठमाडौमा खेलाडी, रेफ्री, प्रशिक्षक, व्यवस्थापकसहित धेरैको आगमन हुने भएकाले काठमाडौं र ललितपुरमा गरी १२५ वटा होटलहरू बुक गरिएको हो ।

पहिलो पटक राजधानी बाहिर साग सञ्चालन हुने भएपछि काठमाडौंसँगै पोखरा र धनुषाका होटलहरू पनि खेलाडीले भरिभराउ भएका छन् । २८ मध्ये ८ वटा प्रतियोगिता पोखरामा हुँदैछ । त्यसमा पुरुष र महिला गरी ७ सय २२ खेलाडीको सहभागिता रहनेछन् । आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, विच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि ४ सय १ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने ३ सय २१ जना पुरुष खेलाडी रहेका १३औं साग प्राविधिक समितिले जनाएको छ । पोखरामा आयोजना हुने साग गेमका लागि ४ सय ९१ जना प्राविधिक अफिसियल टोेली समेत रहने आयोजकले जनाएको छ । पोखरामा खेलाडी बस्नका लागि ३५ वटा स्टार होटलहरू बुकिङ गरिएका छन् ।

धनुषाको जनकपुरमा पहिलो पटक तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने भएपछि सार्क राष्ट्रका खेलाडीहरूको आगमनले जनकपुरका होटलका कारोबार बढेकोले होटल व्यवसायीहरू खुशी छन् । जनकपुरमा कुस्ती प्रतियोगिता हुँदैछ । कुस्ती जनकपुर क्षेत्रको मौलिक खेल हो । जनकपुरमा पहिलो पटक हुने प्रतियोगितालाई भव्य बनाउन सम्बन्धित निकायले कुनै कसर बाँकी राखेका छैनन् । जनकपुरका सिता शरन, अमन, नमस्कार लगायतका १५ वटा होटलहरू बुक गरि सकिएको जिल्ला खेलकुद विकास समिति धनुषाले जनाएको छ । मंसिर २० देखि २३ गतेसम्म कुस्ती प्रतियोगितामा सार्कमा पाँच राष्ट्रले कुस्तीमा भाग लिएका छन् । माल्दिभ्स र भुटानका खेलाडी भने कुस्तीमा सहभागी छैनन् ।

त्यस्तै उद्घाटन सम्य र भव्य बनाउनको लागि आयोजकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी गरी १५ हजार जनाको उद्घाटन र समापन समारोहमा प्रस्तुति राख्ने तयारी गरेको हुँदा स्टार होटलदेखि सामान्य होटल भरीभराउ हुने देखिन्छ ।

आयोजकका अनुसार सेना र प्रहरी बाहेक विद्यार्थी ३ हजार, झाँकी समूहका ४ हजार, व्यावसायिक कलाकार ३ सयको उपस्थिति उद्घाटन सत्रमा मात्र हुनेछ । त्यसबाहेक १५ सय जनाको मास क्यालिसथेनिक्स प्रदर्शन पनि हुने तयारी भएको छ ।

परिषद्ले खेलाडीलाई दैनिक भत्ता २ हजार, २२ सय, २५ सय र २७ सयसम्म भत्ता दिदै आएको छ । उनीहरुले यस्तो भत्ता खेलको लागि छनोट भएको दिनदेखि खेल सकिएको अन्तिम दिन र त्यसको भोलीपल्टसम्म पाउँछन् । नेपाली खेलाडी, प्रशिक्षक, संघका कर्मचारीको लागि असोज, कात्तिक र मंसिरको लागि स्वास्थ्य बीमा गरिएको छ । विदेशी खेलाडीहरुको पनि ५ लाख बराबरको बीमा गरिएकाे छ ।

सागमा नेपालसहित ७ देशका खेलाडीले २८ खेलमा ३ सय १७ स्वर्ण, ३ सय १७ रजत तथा ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

साग आयोजना गर्न सरकारले ५ अर्ब बजेट छुट्याएको छ । उक्त रकम पूर्वाधार निर्माणदेखि खेलाडीकाे खानपान, बसाइ, यात्रा, भत्ता, प्रशिक्षकलाई दिने सुविधासमेतमा खर्च हुने उनले बताए ।

रमेश सिलवाल-सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद्

‘यो पैसालाई खर्चभन्दा पनि लगानी भन्ने सोच्नुपर्छ’ सिलवाल भन्छन्-‘हामी नेपाल भ्रमण वर्ष २०२० को संघारमा छौं । सागका सबै प्रतियोगिताहरु विदेशी च्यानलहरुमा प्रत्यक्ष प्रसारण गर्दैछौं । २ अर्ब भन्दा बढि मानिसले नेपालको बारेमा जानकारी पाउने छन् । यसले नेपालको ब्रान्डिङमा ठूलो मद्दत पुर्याउँछ ।’

साग समाचार सम्प्रेषणको विदेशी करिब २५० जना विदेशी पत्रकार नेपाल आउने भएकोले नेपालको प्रचार प्रसारमा ठूलो सहयोग हुने विश्वास गरिएको छ । विदेशी खेलाडी र प्रशिक्षकको परिवार र साथीभाई यहाँ खेल हेर्न आउँने भएकोले उनीहरुले पनि होटलमा बस्छन्, घुम्छन् । नेपाली बजारमा किनमेल गर्छन् ।

सिलवालको अनुसार सागको लाइभ प्रसारण र भैन्यु ब्रान्डिङबाट न्युनतम २५ देखि ५० करोड बराबरको आर्जन हुँदैछ । टिकटबाट करिब ५ करोडको हाराहारीमा आम्दानी हुन्छ । यी शिर्षकमा उठेको रकमले एउटा जिम हल बनाउने छौं र खेलाडी, प्रशिक्षक सबैको निम्ति रहेका र्स्पोट हस्पिटललाई अझै ठूलो बनाउने सोचेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.