हाम्रो कला विस्थापित हुने विदेशी लगानी हामीलाई चाहिँदैन- शेखर गोल्छा

  २०७६ मंसिर १२ गते १३:३८     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआइ)का उपाध्यक्ष शेखर गोल्छाले नेपालमा विदेशी लगानी आवश्यक नरहेको बताएका छन् । नेपाल हस्तकला महासंघको १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा बोल्दै उनले नेपालमा विदेशी लगानी आवश्यक नरहेको बताएका हुन् ।

‘हामी धेरै क्षेत्रमा आत्मनिर्भर भइसकेका छौं । हामी आत्मनिर्भर भएको क्षेत्रमा विदेशी लगानी आवश्यक छैन, हाम्रो कला विस्थापित हुने विदेशी लगानी हामीलाई चाँहिदैन ।’ नेपाली उद्योग क्षेत्र स्थापित हुने विदेशी लगानी चाहिने उनको भनाइ छ । नेपाली उद्यमी विदेशमा गएर पनि बिक्ने खालको सीप आवश्यक रहको उनको भनाई छ । युवाहरुलाई सीप तथा उद्यममा आकर्षित गर्नका लागि बैंकहरुले पनि ब्याजदर घटाउनु पर्ने उनको धारणा छ ।

नेपाल हस्तकला महासघका अध्यक्ष शुरेन्द्रभाइ शाक्यले नेपाललाई विश्वभरी चिनाउने मौलिक पहिचान सहितको मेलाले नेपालको आर्थिक विकासमा महत्वपुर्ण योगदान पुर्याइरहेको बताए। स्वदेशी कच्चापदार्थ तथा सीपलाई प्रयोग गरि देशमै रोजगारी सिर्जना गर्न हस्तकलाले महत्वपूर्ण योगदान गरेको छ। शाक्यले भने समृद्ध नेपाल सुखी नेपाली सरकारको अवधारणालाई सार्थक बनाउन नेपाल हस्तकला महासंघले ठूलो भूमिका निर्वाह गरेको छ।

नेपाल हस्तकला महासंघले वार्षिक १३ अर्ब बराबरको निर्यात गर्नुका साथै ११ लाख भन्दाबढीलाई रोजगारी दिइरहेको बताए। हस्तकलाले देशको कला संस्कृतिको मात्र प्रतिनिधित्व नगरी देशलाई विश्व बजारमा चिनाई राष्ट्रको गौरवलाई बढाउँछ। शाक्यले भने हस्तकलाबाटै नेपालको आर्थिक विकास गर्न सकिन्छ नेपाली हस्तकलालाई प्रबर्द्धन गर्न सरकारले सहयोग गर्नु पर्छ।

मेलामा ७ प्याभिलियन सहित २०० स्टल रहेका नेपाल हस्तकला महासंघले जानकारी दिएको छ। मेलामा भारत बङ्गलादेश श्रीलंका लगायतका देशका २० स्टल रहेका र मेलामा उत्कृष्ट प्याभिलियनलाई १ लाख पुरस्कार प्रदान गरिनुका साथै उत्कृष्ट स्टललाई २५ हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। महासंघले निर्यातयोग्य हस्तकलालाई प्रोत्साहन स्वरुप काठमाडौ महानगरको सहकार्यमा प्रथम दितीय र तृतीय गरि क्रमशः ५० ३० २० हजार नगदका साथै प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको छ।

नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको उत्पादनले मुलुकको व्यापार घाटा कम गर्न सहयोग गर्ने बताए। नेपालमै भएका कच्चापदार्थको प्रसोधन गरि उत्पादनमूलक बन्नु पर्छ। मल्लले भने हामीले निर्यातयोग्य वस्तुको उत्पादन बढाई मुलुक भित्रै रोजगारीको सिर्जना गरि आर्थिक लाभ लिनसक्नु पर्छ।

भृकुटीमण्डपमा आयोजना गरिएको उक्त मेला आजदेखि १६ गते आइतबारसम्म चल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.