उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा सौरभ ज्योतिको उम्मेदवारी, प्रतिस्पर्धा भए पनि नछाेड्ने

  २०७६ मंसिर ११ गते २१:३७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वको लागि उम्मेदवारी घोषणा शुरु भएको छ । महासंघको एशोसिएट तर्फको उपाध्यक्ष सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार राजधानीमा आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । ‘चार पटक महासंघको कार्यसमितिमा सदस्य भएर काम गरिसकेँ । यस पटक उपाध्यक्षमा मेरो उम्मेदवारी रहन्छ’ ज्योतिले भने ।

तीन वर्षअघिको निर्वाचनको क्रममा उपाध्यक्ष पदमा आकांक्षा राखेका ज्योतिले अन्तिम समयमा चन्द्रप्रसाद ढकाललाई समर्थन गरेका थिए । गत चुनावमा ढकाल सर्वसहमत एशोसिएट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यस पटक ज्योति सर्वसहमतिमा एशोसिएट उपाध्यक्ष बन्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । तर चैत अन्तिम साता हुने निर्वाचन आउन अझै पाँच महिना बाँकी रहेकोले बीचमा धेरै उचारचढाव आउन सक्छ ।

‘अरुको उम्मेदवारी आउन पनि सक्छ । प्रतिस्पर्धाको अवस्थामा पनि मेरो उम्मेदवारी कायम रहन्छ’ ज्योतिले भने । पत्रकारहरुलाई आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदै गर्दा महासंघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थिएन ।

उनले महासंघको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पत्रकारहरु राय सुझाव लिएका छन् । पत्रकारहरुले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका भनाई तथा महासंघका आधिकारिक विज्ञप्तीहरुमा अर्थतन्त्रका समस्या, उद्योगी व्यवसायीहरुले भोगेका समस्या र समाधानको उपायहरुबारे मौन देखिन थालेको टिप्पणी गरेका छन् । सरकारलाई खुशी बनाउने उदेश्य राखेर महासंघको नेतृत्वकाे विचार आउन थालेको तथा सरकारी नीति, बजेट, कार्यक्रम, निर्णयहरुमा भएको त्रुटीबारे महासंघले बोल्न नसक्ने अवस्थामा पुगेको पत्रकारको भनाई रहेको छ ।

महासंघको सचिवालय कमजोर भएको र महासंघको नेतृत्वमा पुग्नेहरु चरम राजनीतिमा फसेकोले महासंघको भूमिका कमजोर देखिएको अनुभव पत्रकारहरुले सुनाएका छन् । सिमेन्ट उद्योग देखि लघुवित्तसम्मका व्यवसायिक संस्थाहरुलाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले तेहेरो कर लगाएको समाचार बारम्बार प्रकाशित हुँदा पनि महासंघकाे केन्द्रीय नेतृत्वले वास्तै नगरेको र महासंघको संस्थागत सदस्य रहेका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले पनि स्थानीय तहले गलत तरिकाबाट उठाएको करको विरोध गर्न नसकेको पत्रकारहरुले औल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.