पोखराको फूलबारी रिसोर्टले नेपाल बैंकको साढे ३ अर्ब ऋण तिर्दै, होटल सञ्चालन गर्न अघि बढे अमात्य

  २०७६ मंसिर ४ गते १६:३१     विकासन्युज

काठमाडौं । पोखराको फूलवारी रिसोर्टले साढे दुई दशक अघि नेपाल बैंकबाट लिएको कर्जा भुक्तान गर्ने भएको छ । बैंक र रिसोर्ट सञ्चालकबीच गत कार्तिक १ गते आगामी १० वर्षभित्र सम्पूर्ण कर्जा चुक्ता गर्ने गरी सम्झौता भएको हो ।

सम्झौताअनुसार रिसोर्टले १ वर्षसम्म कर्जाको ब्याजमात्रै तिरे पुग्छ । त्यसपछिका वर्षमा भने ऋणीले साँवा र ब्याज दुबै भुक्तान गर्दै जानु पर्ने गरी ऋणको पुनः संरचना गरिएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले जानकारी दिए ।

२०५०/५१ मा लिएको रिसोर्टको ऋणको साँवा ब्याज गरी ३ अर्ब ४६ करोड पुगेको छ । उतिबेला फूलबारीले करिब १ अर्ब ३० करोड कर्जा लिएको थियो । २ अर्ब १६ करोड ब्याज सहित अहिले सो कर्जा साढे ३ अर्ब पुगेको हो ।

नेपालीको गहनाको रुपमा लिएको उक्त रिसोर्टमा नेपाल बैंकको ७० प्रतिशत ऋण लगानी र सञ्चालकको ३० प्रतिशत लगानी रहेको थियो । फूलबारी रिसोर्टलाई कालोसूचीमा राखे पनि होटल र त्यसले चर्चेको जमिनलाई लिलामीमा लैजान भने सकेको छैन । यदि उक्त जमिनलाई लिलामीमा लैजाने हो भने कर्जा चुक्ता गर्न अमात्यलाई त्यति आपत पर्दैन ।

अहिले पेनाल ब्याज मिनाह गर्ने गरी कर्जाको पुर्नसंरचना गरिएको हो । होटल सञ्चालन भए बैंकले पेनाल ब्याज तिर्नु पर्दैन । साधारण ब्याजलाई मूल साँवामै जोडेर कर्जाको एकमुष्ट संरचना गरिएको हो,’ सीईओ अधिकारीले भने ।

केही वर्ष होटल राम्रै चल्यो । ब्याज र साँवा पनि तिर्यो । विदेशी खर्चालु पर्यटकलाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्ट एक दशक लामो द्वन्द्वको चपेटामा पर्यो । त्यति नै बेला आतंककारीले इन्डियन एयरलाइन्स अपहरण गरेपछि रिसोर्टले लक्ष्य अनुरुपको आम्दानी गर्न सकेन र रिसोर्ट विस्तार संकटतिर धकेलिदै गयो ।

‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्र्ड’ भन्ने अवधारणा साथ दरबार निकट मानिएका पियुष अमात्यले ४ सय रोपनी जमिनमा उक्त होटल स्थापना गरेका हुन् । पर्यटन वर्ष १९९८ लाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्टलाई नेपालको मात्र नभइ दक्षिण एशियाकै ठूलो रिसोर्टको रुपमा लिइन्थ्यो । अहिले रिसोर्ट बन्द भएको २ वर्ष बितिसकेको छ ।
अहिले त्यहि रिसोर्ट सञ्चालन गर्न अमात्यले आफ्नो जमिन बिक्री गरेर ४० करोड रुपैयाँ नेपाल बैंकमा जम्मा गर्दैछन् । उक्त रकमबाट १० करोड रुपैयाँ कर्जाको साँवा र ब्याज भुक्तान गरिने सहमति बैक र सञ्चालकबीच भएको छ । ३० करोड रुपैयाँ खर्च गरेर होटल पुनःसंचालन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.