‘अष्ट्रेलियाका मुख्य शहरहरुमा व्यापार, पर्यटन तथा लगानी सम्बन्धी रोड शो हुनुपर्छ’

  २०७६ मंसिर ४ गते १३:२४     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले अष्ट्रेलियाका मुख्य शहरहरुमा व्यापार, पर्यटन तथा लगानी सम्बन्धी रोड शो हुनुपर्ने बताएका छन् । उनले नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर ग्रेमी वडसँग भएको भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले लगानी सम्मेलनपछि र एकद्धार प्रणाली लागू भएपछि लगानीको संभावना बढेको बताए । अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार/मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताएका हुन् ।

नेपालले अल्पविकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकिरहेको कटु यथार्थ प्रस्तुत गर्दै नेपाली समुदाय पनि अष्ट्रेलियामा ठूलो संख्यामा रहेको हुँदा तिनीहरुलाई समेत लक्षित गरी निकासी प्रबद्र्धन र आयत व्यवस्थापन हुनुपर्ने जोड दिए ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्चात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताएका छन् । उनले साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपालमा अष्ट्रेलियाको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा उल्लेख्य लगानी आउने सम्भावना रहेको बताएका छन् ।

राजदूत वडले नेपाल चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा आफ्नो कार्यकालमा सकेसम्म नेपाल अष्ट्रेलियाबीच सिधा हवाई सेवा शुरु गर्न आफूले पहल गर्ने बताए । यसको लागि व्यवसायिक निर्णय हुनुपर्ने र हवाई सम्झौता भैसकेको परिप्रेक्षमा सो प्रक्रिया आवहन गर्न कठीन नहुने उनले जनाए ।

साथै, उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अन्य मुलुकको लागि पनि अनुकरणीय भएको बताउँदै नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवसाय मैत्री वातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.