वैदेशिक रोजगारमा गएर मृत्यु भएका साढे सात हजार बढी परिवारले पाए २ अर्ब १८ करोड राहत

  २०७६ मंसिर ३ गते ११:११     सुनिता पुडासैनी

काठमाडौं । वार्षिक रुपमा वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेर हालसम्म सात हजार सात सय २५ पुगेकाे छ । वैदेशिक राेजगारमा गएर मृत्युवरण गरेका परिवारले राहत स्वरुप २ अर्ब १८ करोड १९ लाख ६४ हजार रुपैयाँ  पाएकाे वैदेशिक रोजगार बोर्डले जानकारी  दिएकाे छ । एक दशककाे याे अवधिमा नेपालले यी युवा गुमाएकाे हाे ।

वैदेशिक रोजगार बोर्डले कार्तिकसम्म रोजगारीको क्रममा मृत्यु भएका परिवारलाई राहत स्वरुप साे रकम उपलब्ध गराएकाे हाे ।  चालु आर्थिक वर्षमा बोर्डले दुई सय ५५ जना मृतकका परिवारलाई १६ करोड ६० हजार रुपैयाँ सहायता स्वरुप प्रदान गरेको छ ।  आठ महिला र दुई सय ४७ पुरुषले साे राहत पाएका हुन् ।

नेपालबाट वार्षिक साढे दुई लाख कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारका लागि देश छोड्ने गरेका छन् । साे मध्ये कति विदेशी भूमीमा काम गरेर सकुशल फर्किएका छन् भने कतिले विदेशी भूमीमा नै आफ्नो जीवन अर्पण गरेका छन् । यसले परिवारको आयस्तर र देशकै अर्थतन्त्र निर्माणमा समेत महत्वपूर्ण भुमिका खेलेको छ ।

रेमिट्यान्सको मूल आधार वैदेशिक राेजगारमा गएकामध्ये  दैनिक दुई कामदारको शव नेपाल भित्रिने गरेकाे छ ।  बोर्डको तथ्यांक अनुसार गतवर्ष रोजगारमा गएका करिब सात सय ६० श्रमिकको शव नेपाल भित्रिएको छ ।

नेपाली युवाहरु वार्षिक रुपमा वैदेशिक रोजगारमा जाँदै गर्दा सरकार रेमिट्यान्समा मख्ख छ भने यता दैनिक दुई परिवारले आफ्नो सन्तान गुमाइरहेका छन् । चरम गरिबीका कारण रोजगारीमा जानेका लागि प्रमुख केन्द्रविन्दु मलेसियाबाट दुई हजार सात सय ५४ शव नेपाल भित्रिएको छ । त्यस्तै साउदी अरेबियाबाट दुई हजार ९६ जनाको मृत्यु भएको त्यस्तै कतारमा १४ सय ९९ जनाको मृत्यु भएको छ ।

देशमा रोजगारको अवस्था सिर्जना नभएपछि  वार्षिक लाखौं युवा विदेशियसँगै २०६५ सालदेखि हालसम्म सात हजार सात सय २५ जना युवालाई देशले गुमाएको छ । त्यस्तै हजाराै परिवारले आफ्नो सन्तान गुमाएका छन् ।

बैदेशिक रोजगार बोर्डमा सहायता वापत रकम लिन आएकी दोलखा घर भएकी २५ वर्षिय रमा खड्का भन्छिन्, ‘वैदेशिक रोजगारकै क्रममा करिब चार वर्ष पहिले मलेसिया गएका श्रीमान एक वर्ष बिति नसक्दै धेरै विरामी भए । उनलाई विभिन्न माध्यमबाट नेपाल झिकाइयो । नेपाल ल्याएको केहि महिनामा उहाँको मृत्यु भएको भयो । मृत्यु भएको पनि तीन वर्ष लाग्यो ।’

१८ वर्षकै उमेरमा विवाह गरेकी रमाको हाल ५ वर्षकी छोरी छन् ।  यो त केवल एक पात्र मात्र हो, राेजगारीका लागि विदेशिएका हजारौ परिवारको अवस्था यस्तै छ । गरिवीकै कारण घरपरिवारको आर्थिक स्थिति उकास्ने लक्ष्यका साथ विदेशिएका सयौं परिवारको कथा रमा खड्काभन्दा केहि फरक होला तर पीडा उस्तै छ ।

आर्थिक वर्ष  २०७४/७५ मा आठ सय एक पुरुष र २० जना महिला गरी जम्मा आठ सय २१ जनालाई बोर्डले ४५ करोड ६५ लाख रुपैयाँ प्रदान सहयोग गरेको छ । त्यस्तै गतवर्ष सात सय ५३ जना मध्ये सात सय ३० पुरुष र २३ महिलालाई ५० करोड ५८ लाख रुपैयाँ सहायता गरेको छ ।

सरकारले वैदेशिक बोर्डले यस्तै परिवारलाई लक्षित गर्दै सहायता रकम बराबर प्रतिव्यक्तिको परिवारलाई सात लाख रुपैयाँ र छोराछोरीको अध्ययनको लागि वार्षिक आठ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.