तीन महिनामा वाणिज्य बैंकको नाफा १६ अर्ब : ३ ओटाले अर्ब कटाए, ८ बैंकका शेयरधनी निराश

  २०७६ मंसिर १ गते ८:५३     मञ्जरी पौडेल

काठमाडौं । तीन महिनामा वाणिज्य बैंकको नाफा १६ अर्ब रुपैंया भन्दा बढी नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ वटा वाणिज्य बैंकहरुले १६ अर्ब १७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । नाफाकाे याे आकार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा औसतमा ६.२६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष(आव)को असोज मसान्तसम्ममा बैंकहरुले १५ अर्ब २२ करोड २१ लाख रुपैयाँ कमाएका थिए ।

बैंकहरुले प्रकाशित गरेकाे वित्तीय विवरणका अनुसार २८ वाणिज्य बैंकमध्ये तीन वटा बैंकले एक अर्ब बढी नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य, नबिल र एनआईसी एशिया बैंकको नाफा एक अर्ब रुपैयाँ भन्दा माथि रहेको छ । वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा बढी रहेको भने सिभिल बैंकको नाफा सबैभन्दा कम रहेको छ ।

बैैंकहरुको नाफा वृद्धिमा उच्च गिरावट आएको छ । धेरै वर्षपछि बैंकहरुको नाफा वृद्धिदर एकल अंकमा झरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुको औसत नाफा ६ प्रतिशतले मात्र बढेको छ । पुँजी वृद्धिको तुलनामा बैंकहरुको नाफामा वृद्धि हुन नसक्दा सेयर बजारमा पनि बैंकहरुको सेयर मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

एक अर्बभन्दा बढी नाफा कमाउने तीन बैंक

सरकारको मात्र लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षमा कूल एक अर्ब १२ करोड ७५ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ८५ लाख रुपैयाँले बढी हो । बैंकले गत आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ११ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

निजी क्षेत्रको पहिलो बैंक नबिल बैंक निजी क्षेत्रका बैंक मध्ये बढी नाफा गर्ने सूचिमा एक नम्बरमा छ । यस बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा एक अर्ब १२ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.७६ प्रतिशतले बढी हो । बैंकले गत वर्ष एक अर्ब ५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बजार विस्तारमा आक्रमक बन्दै आएको एनआईसी एशिया बैंकले २६ वटा बैंकलाई पछाडि पारेको छ । यस बैंकले चालु आवको प्रथम तीन महिनामा एक अर्ब ९६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा उक्ता नाफा ३४.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ७५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

४० प्रतिशत भन्दा बढी नाफा वृद्धि गर्ने २ बैंक

प्रतिशतका आधारमा हेर्दा एनएमबि बैंकको नाफा सबैभन्दा बढी प्रतिशतले बढेको छ । चालु आवको असोज मसान्तसम्ममा बैंकको नाफा ४८ प्रतिशतले वृद्धि भएको छ । गत आवको साउनदेखि असोजसम्म ५५ करोड ०५ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही महिनासम्म ८१ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको हो । ओम डेभलपमेन्ट बैंकलाई मर्ज गरेको यस बैंकले चालु आवको पहिलो तीन महिनामा उत्कृष्ट पर्फमेन्ट देखाएको छ ।

ग्लोबल आईएमई बैंकले चालु आवको नाफामा ४०.५५ प्रतिशतले वृद्धि गरेको छ । गत आवको असोजसम्म ५३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवको सोही अवधिसम्ममा ७५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । यस बैंकले जनता बैंकलाई मर्ज गर्ने अन्तिम तयारी गरेको छ । यी दुईले मंसिरको दोस्रो सातासम्म एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छन् ।

आठ बैंकको नाफा घट्यो

नाफाको आधारमा ८ वटा बैंक अधोगतिमा गएका छन् । त्यसमा नेपाल इन्भेष्टमेन्ट बैंकदेखि सीभिल बैंकसम्म रहेका छन् । गत आर्थिक वर्षमा एक अर्ब ५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको नेपाल इन्भेष्टमेन्ट बैंकले यस वर्ष जम्मा ८४ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१ करोड २ लाख रुपैयाँ घटी हो । बैंकको निष्कृय कर्जामा वृद्धि भएपछि नाफामा गिरावट देखिएको हो । गत असोज मसान्तसम्ममा १.२१ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा चालु आवको सोही अवधिसम्मा बढेर २.८४ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा ५२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको सिद्धार्थ बैंकले चालु आवको असोजसम्ममा ५२ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको निक्षेप संकलन लागत र कर्मचारी खर्च बढेपछि नाफामा गिरावट देखिएको हो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको निक्षेप संकलन लागत १.८१ प्रतिशतले बढेको छ भने कर्मचारी खर्च ५० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल बैंकको पनि नाफामा गिरावट देखिएको छ । गत आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ९१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवको सोही अवधिमा जम्मा ५८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल एसबिआई बैंकको नाफा चालु आवमा ५ करोड २५ लाख रुपैयाँले घटेको छ । गत आवको प्रथम त्रैमासमा ४८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा जम्मा ४३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैंक अफ काठमाण्डूको पनि नाफा ३१ लाख रुपैयाँले घटेको छ । गत आर्थिक वर्षमा ३८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवको प्रथम त्रैमासमा ३८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ३४ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही समयको तुलनामा ७ करोड ९७ लाख रुपैयाँले कम हो । बैंकले गत वर्षमा ४२ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एनसीसी बैंकले बैंकले चालु आवको सोही अवधिमा जम्मा ३४ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन ८ करोड ८४ लाख रुपैयाँले कम हो । बैंकले गत आवको असोजसम्ममा ४२ करोड ८७ लाख रुपैयाँ नाफा गरेको थियो ।

सिभिल बैंक वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा कमाउनेमा परेको छ । बैंकले चालु आवको तीन महिनामा जम्मा १५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा २ करोड ६१ लाख रुपैयाँ कम हो । गत आवको असोजमसान्तसम्मा बैंकले १८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.