विद्युतीय माध्यमबाट कर भुक्तान गर्दा १० प्रतिशत रकम फिर्ता, २९ लाख पुगे करदाता

  २०७६ कार्तिक ३० गते १७:२१     विकासन्युज

काठमाडौं । सरकारले विद्युतीय माध्यमबाट कर भुक्तानी गर्नेे व्यक्ति वा व्यवसायलाई १० प्रतिशत रकम सम्बन्धित व्यक्तिको खातामा सोेझै फिर्ता गर्ने भएको छ । ८ औं कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा कुनै पनि करदाताले विद्युतीय माध्यमबाट कर बुझाएमा १० प्रतिशत रकम सोझै करदाताको खातामा जाने व्यवस्था गरेको हो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदवहादुर कुँवरले कार्डबाहेक चेक, ड्राफ्ट वा अन्य विद्युतीय माध्यमबाट कर भुक्तानी गर्नेले यो सुविधा पाउन बताए । त्यसरी नै विभागले १० लाखभन्दा बढीको कर भुक्तानी नगदमा नहुने जानकारी दिएको छ ।

लगातार चार महिनासम्म मिलान गरेर बाँकी रहेको रकम दर्ता रहेको व्यक्तिले एकमुष्ट फिर्ता लान समेत पाउने व्यवस्था समेत सरकारले गरेको छ । यसो गर्न करदाताले निवेदन भने दिनुपर्ने हुन्छ । आगामी पुसमसान्तसम्म स्थायी लेखा नम्बर (प्यान)लिई मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भए आव २०७५/७६ भन्दा अगाडीको कुनै पनि किसिमको कर बुझाउनु नपर्ने व्यवस्था गरेको छ ।

सो अवधिसम्म कुनै पनि व्यक्ति वा व्यवसायी भ्याटमा दर्ता भए सो आयवर्षभन्दा अगाडीको कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउनु नपर्ने व्यवस्था गरेको हो । कार्यक्रममा विभागका महानिर्देशक कुँवरले नवीनतम सोच, सीप, उद्यमशीलता र प्रविधिको उपयोग गरी शुरु गरिएका व्यक्ति तथा व्यवसायलाई करको दायरामा ल्याउन यस्तो सुविधा दिइएको बताए ।

विभागले भ्याट लागू गरेको मिति मंसिर १ मा हरेक वर्ष कर दिवसको रुपमा मनाउँदै आएको छ । आइतबारको कर दिवस आठौं हो । कर दिवसमा धेरै कर तिर्ने १५ व्यक्ति तथा विभिन्न क्षेत्रका प्रतिष्ठानहरुलाई सम्मान गरिने छ । त्यसबाहेक ७५ वटै जिल्लामा धेरै कर तिर्नेलाई पनि सम्मान गरिने कुँवरले बताए ।

चार महिनामा ८ लाख करदाता थपिए

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८ लाख नयाँ करदाता थपिएका छन् । विभागले दिएको जानकारी अनुसार गत आवको अन्त्यमा जम्मा २१ लाख करदाता थिए । अहिले सो करदाता बढेर २९ हजार ६५ लाख पुगेका छन् । सो करदातामध्ये २ लाख ३९ हजार ७ सय ५८ मूल्य अभिवृद्धितर्फका करदाता हुन् ।

सरकारले ल्याएको ‘प्यान फर अल कार्यक्रमबाट ७ लाख ९४ हजार नयाँ करदाता करको दायरामा आएका महानिर्देशक कुँवरले जानकारी दिए । चालु आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब राजस्व संकलन गर्ने जिम्मा पाएको विभागले पहिलो चौमासमा २३ प्रतिशतले राजस्व वृद्धि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.