प्रधानमन्त्री ओली क्याबिनेटको सेट परिवर्तन गर्दै, भावी अर्थमन्त्रीको चर्चा

  २०७६ कार्तिक २८ गते ११:००     विकासन्युज


काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटको सेट नै परिवर्तनको तयारीमा जुटेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि छलफल गरिसकेका छन् । पार्टीका तीन र्शीर्ष नेताबीच मन्त्रिमण्डलमा हेरफेरबारे करिब सहमति भइसकेको स्रोतले जानकारी दिएको छ ।

मन्त्रि परिषद्मा मन्त्रीहरुको कामबारे समीक्षा समेत भएपछि को-को राख्ने र को-को झिक्नेबारे समेत छलफल भएको बुझिएको छ । ओलीले सरकारको काम कारबाहीलाई सशक्त बनाउन मन्त्रिहरु हेरफेर गर्ने तयारी गरेका छन् । यसबारे पार्टी भित्र परामर्श जारी छ ।

मन्त्रिहरुलाई दशैं तिहार मान्न दिने नीति अनुरुप प्रधानमन्त्री ओलीले मन्त्रिहरुको हेरफेरलाई थाती राखेका थिए । अब उनी तत्काल एक्सनमा जाने गरी तयारीमा जुटेका छन् ।मन्त्रीपरिषदबाट १० मन्त्री बिदा हुने भएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले १० मन्त्रीलाई राजीनामा गराएर १० नयाँ मन्त्री ल्याउने अन्तिम कसरत थालेका हुन् ।

केही मन्त्री बाँकी राखेर १० जना मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण सकिएलगतै मन्त्रीहरुलाई राजीनामा गराउने तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

पूर्वमाओवादीबाट ३ र पूर्वएमालेबाट ६ मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ । पूर्वएमालेबाट सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिका मन्त्री थममाया थापा, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई मन्त्रीबाट बिदा गर्ने तयारी भएको छ भने पूर्वमाओवादीबाट उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानी मन्त्री बिना मगरलाई बिदा दिने तयारी गरिएको स्रोतले बताएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानूनमन्त्री भानुभक्त ढकाल सहित ८ जना मन्त्री भने यथावत् रहने बुझिएको छ । तर यी मध्ये पनि केही बाहिरिने संभावना छ । उनीहरु मन्त्रीबाट नहटेपनि मन्त्रालय भने फेरबदल हुन सक्नेछ ।

सम्भावित नयाँ अनुहारहरु
मन्त्रिमण्डल पुनर्गठनको चर्चा चुलिएसँगै पार्टीका दुई अध्यक्षहरुले विभिन्न तहका नेताहरुलाई मन्त्री बनाउने आश्वासन बाँड्न थालेका छन् । मन्त्रिमण्डल पूनर्गठनपछि पूर्व एमालेका तर्फबाट सुरेन्द्र पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री ओलीले आश्वासन दिएको बताइएको छ ।

त्यस्तै, हाल अर्थ समितिको सभापति रहेका कृष्णप्रसाद दाहाललाई मन्त्रिमण्डलमा प्रवेश गराउने आश्वासन पनि ओलीले दिएका छन् । प्रतिनिधिसभामा तत्कालीन एमालेबाट मकवानपुरको क्षेत्र नम्बर १ मा कृष्णप्रसाद दाहालले विजय हासिल गरेका हन् । उनी नेकपा प्रदेश नम्बर ३ का सचिवालय सदस्य समेत हुन् । राप्रका कमल थापालाई हराएर ह्याट्रिक गरेका दाहाल प्रत्येक पटक हुने मन्त्रीमण्डल गठन प्रक्रियामा छायाँमा परे पनि यो पटक भने मन्त्री बन्ने पक्का भएको श्रोत बताउँछ । उनले उद्योग मन्त्रालयको माग गर्दै आएको बताइएको छ, यद्यपि अहिले पूर्व माओवादीको भागमा रहेको उक्त मन्त्रालय कसरी व्यवस्थापन गर्ने अन्यौलताका कारण उनलाई फरक जिम्मेवारी दिनसक्ने समेत चर्चा छ ।

नेकपाका नेता महेश बस्नेत र खगराज अधिकारी पनि नयाँ मन्त्रीका लागि आश्वासन पाएका अनुहारहरु हुन् । यी दुवैजना ओली निकटका हुन् । खगराज अधिकारीले संसदमा सरकारको बचाउमा खेलेको उल्लेख्य भूमिकाका कारण ओली उनीप्रति थप सकारात्मक बनेको बताइन्छ । प्रधानमन्त्री ओलीले संसदमा बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउने माग गर्दा नियमापत्ति गर्ने व्यक्ति तिनै खगराज अधिकारी हुन् । त्यस्तै, विष्णु पौडेल, जनार्दन शर्मा, भीम रावल, लेखराज भट्ट, प्रभु साह, विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का समेत मन्त्री बन्ने दौडमा रहेको चर्चा छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा समेत हेरफेर गर्न सल्लाहकाहरुलाई सामुहिक राजीनामा गराउने कुरा बाहिर आइसकेको छ । मन्त्रीमण्डल पुनर्गठन गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार बनाउने एग्रेसिभ ढंगले अघि बढ्ने योजना बनिरहेको बालुवाटार श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.