होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि, चिनियाँ लगानीकर्ता आकर्षित

  २०७६ कार्तिक २१ गते १६:०५     विकासन्युज


काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धकरुपमा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत लगानी वृद्धि भएको छ । विदेशी लगानीतर्फ चालू आवको तीन महिनामा ७७ उद्योगले स्वीकृति पाएका छन् । यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योगसँग सम्बन्धित छन् । सेवातर्फ २५, उत्पादनका सात, सूचना प्रविधिसम्बन्धी छ र कृषि, वन पैदावारका एक उद्योग छन् ।

चिनियाँ लगानीको आकर्षण
उद्योग विभागको आँकडाअनुसार नेपालमा होटल तथा रेस्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । चालू आवको पहिलो तीन महिना विभागमा दर्ता भएका ३९ वटा होटल तथा रेस्टुराँमध्ये ३६ वटा होटल तथा रेष्टुराँमा चिनियाँ लगानीको प्रतिबद्धता आएको छ ।

आर्थिकरुपमा करीब रु सात अर्ब चिनियाँ व्यवसायीले लगानी गर्नेछन् । यस्तै भारतका दुई र एक जापानिज लगानीकर्ताले होटल तथा रेष्टुराँमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । विभागको विवरणमा चिनियाँ लगानीका दुई तारे होटल तथा रेष्टुराँ काठमाडौँ र पोखरामा सञ्चालन गर्ने इच्छा जनाएका छन् । भ्रमण वर्षलाई सार्थक तुल्याउन महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको होटल क्षेत्रको विशेष योगदान रहन्छ ।

समग्रतामा नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ । मुलुकमा लगानीको वातावरण सिर्जना भएको र नीतिगत सुधारका कारण पनि लगानी बढेको उल्लेख विभागले जनाएको छ ।

होटल एशोसिएसन अफ नेपाल (हान)का प्रथप उपाध्यक्ष विनायक शाहले नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा लिएर विदेशी लगानीकर्ता आकर्षण भएको र यसले देशको अर्थतन्त्रलाई गतिशील बनाउने विश्वास व्यक्त गरे । पर्यटन क्षेत्रमा आएको लगानी उत्साहवद्र्धक रहेपनि लगानीको प्रतिफलको सुनिश्चितताका लागि सरकारले आधारभूत पूर्वाधार विकासमा जोड दिनुपर्ने खाँचो उनले औँल्याए ।

हानसँग आबद्ध पर्यटकस्तरदेखि पाँचतारे होटलसम्म गरी दुई हजार हाराहारी होटल छन् । हानका १५ क्षेत्रीय च्याप्टर छन् । ती होटलमा झण्डै ४८ हजार श्यया रहेको व्यवसायीको दाबी छ । अहिलेकै अवस्थामा २० लाख पर्यटकलाई व्यवस्थापन गर्न सकिने व्यवसायीले जनाएका छन् । सरकारले भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । होटलपछि हवाई यातायात र सडक यातायात पनि महत्वपूर्ण हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.