नेपाल भ्रमण वर्ष आउन दुई महिना बाँकी, एनआरएनएको भूमिका के ?

  २०७६ असोज ३० गते १८:३१     सन्ताेष राेकाया

काठमाडाैं । नेपाल सरकारले आयोजना गर्ने नेपाल भ्रमण वर्ष २०२० आउन अब दुई महिना मात्र बाँकी छ । यतिखेर पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाहरु र नेपाल सरकार आफै पर्यटन गतिविधिहरु बढाउन तल्लिन छ । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकार विभिन्न देशमा बसोवास गरिरहेका नेपालीहरुसँग पनि समन्वय गरेर पर्यटनसँग सम्बन्धित गतिविधिहरु बढाइरहेकाे छ ।

विभिन्न देशका प्रतिनिधीहरुलाई निम्ताएर सरकारले यतिखेर भ्रमण वर्षको बारेमा जानकारी पनि गर्दै आएको छ । यतिखेर गैर आवसीय नेपाली संघ (एनआरएनए) पनि चुनावी माहाेलमा छ । संघमा उम्मेदवारी दिएकाहरूले पनि भ्रमण वर्ष सफल पार्न आफुहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै चुनावी मुद्धा बनाएका छन् ।

विदेशमा आर्जित पुँजी र सीप नेपालमा लगानी गर्ने भन्दै सन् २००३ मा सुरु भएको संघ हाल विश्वका ८३ वटा देशहरुमा छ । संघले नेपालबाट गएका नेपालीहरुलाई विदेशमा सहयोग गर्ने, नेपालका विभिन्न पूर्वाधार विकासमा टेवा पुग्ने खालका क्षेत्रमा लगानी गर्ने लगायतका काम पनि गर्दै आएको छ ।

सरकारले नेपाल भ्रमण वर्ष आयोजना गर्ने घोषणा गरेसँगै गैरआवासीय नेपालीहरु भ्रमण वर्षलाई सफल पार्न आफुहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउँछन् । नेपालको पर्यटन प्रवद्र्धनका लागि एनआरएनएले उल्लेख्य काम गर्न सक्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल भ्रमण वर्षमा धेरैभन्दा धेरै विदेशी नेपाल ल्याउन आफु सक्रिय रहने बताए । उनले १० अर्ब रुपैयाँको कोष नेपालमा ल्याएर त्यसको सहि परिचालन गर्ने बताए ।

कोष स्थापना भइसकेपछि यसलाई सेयर बजारमा लैजाने र घरैबट ५ डलर, १० डलर, १५ डलर जस्तो थोरै लगानी गर्न चाहनेले पनि लगानी गर्नसक्ने वातावरण बनाइने उनले बताए । यस्तै महिला उपाध्यक्षकी उम्मेदवार रविना थापाले ७० लाख नेपालीहरु विदेश रहेको बताउँदै तिनीहरुलाई भ्रमण वर्षको बारेमा जानकारी गराउन सकेपनि उल्लेख्य प्रगति हुने बताए ।

‘नेपालीहरुले विदेशमा गएर रेस्टुरेन्टहरु खोल्नु भएको छ’ उनले भनिन्, रेस्टुरेन्टमा आएका विदेशीहरुलाई नेपाली परिकारको स्वादले पनि नेपाल आउन उत्प्रेरित गर्छ ।’ पर्यटकको आगमन बढाउनका लागि सरकारले सम्पूर्ण पक्षहरुको स्थिती सुधार्नु पर्ने उनले बताइन् ।
‘प्राकृतिक विविधता भएको ठाउँमा अवश्य नै पर्यटकहरु आउँछन्’ उनले भनिन् सरकारले राम्रो सँग व्यवस्था गरेर पर्यटकलाई बोलाउँदा उनीहरुलाई फेरि पनि आउँ आउँ भन्ने खालको अवस्था बन्नु प¥यो ।’

यस्तै अमेरिका रिजनल कोडनेटरका उम्मेदवार राजन त्रिपाठीले संसारभरी रहेका नेपालीहरुको नेटवर्कलाई परिचालन गरेर नेपालमा पनि केहि गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्ने सक्ने बताए । उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफुहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए ।

नेपालमा एनआरएनएको लगानी कति ?

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा कति लगानी गरेको छ भन्ने एकिन तथ्याकं नभएपनि उनिहरुले नेपालमा अर्बौं लगानी गरेको दावी गर्छन् । संघले हाल सम्म के कति क्षेत्रमा लगानी गरेको छ, भन्ने खालका आधिकारि तथ्याकं छैन ।

पन्तले नेपालको स्वास्थ्य, शिक्षा, उद्योग, होटल, जलविद्युत, एयरलाइन्स, व्यापार लगायतका क्षेत्रमा संघले लगानी गरेको बताए । एनआरएनमा आवद्ध व्यवसायीहरुले पछिल्लो समय जलविद्युत र होटलमा लगानी भित्र्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.