नेपाल-अष्ट्रेलिया यात्रामा हवाइ भाडा ३० प्रतिशतसम्म घट्ने, यात्रा अवधि १० घण्टा छाेटिने

  २०७६ असोज १४ गते १८:२६     विकासन्युज

काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई उडानको समझदारीसँगै दुई देशबीच यात्रा गर्दा लाग्ने हवाइ भाडा ३० प्रतिशतसम्म भाडा घट्ने बताईएको छ । साथै, यात्रा अवधि झण्डै १० घण्टा कम हुने भएको छ ।

दुई देशबीच सोमबार हवाई सेवा सम्झौता भएकोले अब सीधै उडान गर्न ढोका खुलेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । नेपाल र अष्ट्रेलियाबीच ओहोर दोहोर गर्न २० देखि २२ घण्टा लाग्दै आएकोमा सीधा उडानसँग यो यात्रा १०/१२ घण्टामै सीमित हुने उनले जनकारी दिए ।

समयसँगै यात्राको खर्च पनि निकै कम हुने भएको छ ।

नेपाल र अस्ट्रेलियाबीच सीधा आवात जावत गर्न शुरु भएपछि हवाई भाडा प्रतिव्यक्ति ६५० देखि ७०० डलर हुन सक्ने नेपाल एशोशिएसन अफ टूर ट्राभल एजेन्ट्सका अध्यक्ष सीएन पाण्डेले बताए । ‘अब हामी १२ घण्टामा नै अष्ट्रेलिया पुग्न सक्छौं र साढे ६ सयदेखि ७ सय डलरमा अष्ट्रेलिया पुग्न सक्छौं’ अध्यक्ष पाण्डेले भने ।

हाल मलेसिया, हङकङ लगायतका ट्रान्जिट पार गर्दै जानु पर्ने, समय २० देखि २२ घटासम्म लाग्ने र हवाई भाडा प्रति व्यक्ति एक हजार अमेरिकी डलरसम्म लाग्ने गरेको उनले बताए ।

सीधा उडान कहिलेबाट हुन्छ भन्ने विषयमा भने अहिलेसम्म अन्यौलता नै रहेको छ ।  मन्त्रालयका सहसचिव लामिछानेका अनुसार नेपालले अहिलेनै अष्ट्रेलियासम्म उडान गर्ने सम्भावना कम छ अष्ट्रेलियाले भने नेपालमा उडान गर्न सक्छ ।

नेपाल वायुसेवा निगमले प्राविधिक हिसावले वाइड वडी काठमाडौंबाट सोझौ सिड्नी लैजान सक्ने तर व्यवसायिक हिसाबले कम सम्भावना रहेको उनले बताए । ‘उडाउनका लागि उडाउन सकिन्छ, साँच्चै व्यवसाय गर्न भने सकिँदैन’ उनले भने ।

दुई देशबिच भएको सम्झौतामा हस्ताक्षर मन्त्रालयकातर्फबाट सह–सचिव सुरेश आचार्य र अस्ट्रेलियाको संघीय पूर्वाधार, यातायात, शहरी एवम् क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले गरेका हुन् । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रधान कार्यालयमा भएको सम्झौतामा अब दुबै देशका विमानले हप्तामा ७ वटासम्म उडान गर्न पाउँछन् । सातामा अस्ट्रेलियाका ४ उडान र नेपालको काठमाडौँ बाहेकका अन्य विमानस्थलमा भने क्षमताका आधारमा थप उडान गर्न सकिने छ ।

योसँगै नेपालले हवाई सम्झौता गरेका देशको संख्या ४० पुगेको छ । तर नेपाल वायुसेवा निगमको सुरक्षा अडिट नभएको, युरोपेली युनियनले नेपाललाई कालोसूचीमा राखेको लगायतका कारण धेरै देशका विमानस्थलले उडान तालिका दिन मानेका छैनन् । यद्यपि नेपाल अष्ट्रेलियाबीच सिधै जान आउन सक्ने भएपछि पर्यटक बढ्ने पाण्डेले बताए ।

सम्झौताले लगानी बढाउने

अष्ट्रेलिया र नेपालबीच सीधै सम्पर्क भएपछि लगानी बढ्ने अनुमान नेपाल अष्ट्रेलिया उद्योग वाणिज्य संघका अध्यक्ष अखिल चापागाईँले बताए । ‘अष्ट्रेलियाबाट नेपालमा खासै लगानी भित्र्र्याउन सकिएको छैन,’ उनले भने ‘पश्चिम सेतीमा लगानी गर्न सम्झौता गरेको थियो ।’ परियोजना अघि बढ्न नसकेपछि लाइसेन्सनै खारेज भयो ।’ त्यतिबेला नेपालमा श्रम तथा विद्युतको ठूलो समस्या थियो । पछिल्लो समय स्थिर सरकार आएपछि अष्ट्रेलियन लगानीकर्ता उत्साहित भएका छन् ।

‘उत्पादनमूलक क्षेत्रमा अष्ट्रेलियाको लगानी नेपाल भित्र्न नसकेपनि शिक्षा क्षेत्रमा लगानी आकर्षित भएको छ,’ उनले भने ‘अष्ट्रेलियामा ५० हजार नेपाली विद्यार्थी अध्ययनका लागि गएका छन् ।’ एकजनाले एउटा कोर्ष पुरा गर्न २० लाखमात्र खर्च गरेपनि एक खर्ब रुपैयाँ नेपालबाट अष्ट्रेलिया गएको छ ।

उता हुने कोर्ष नेपालमै उपलब्ध गराउने सके लगानीकर्ताले नाफा कमाउन सक्छन् । नेपालबाट अष्ट्रेलियामा गत आर्थिक वर्षमा ७३ करोड रुपैयाँको वस्तुमात्र निर्यात भएको छ । अष्ट्रेलियाबाट नेपालमा वर्षमा करिब ८ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात हुने गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.