पर्यटन वर्षको मुखैमा होटल मजदूरको आन्दोलन घोषणा, आफ्नै सरकारलाई असहयोग गर्दै जिफन्ट

  २०७६ असोज १३ गते १६:२३     विकासन्युज


काठमाडौं । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा होटल तथा रेष्टुरेन्ट व्यवसायी भने आन्दोलनमा उत्रिएका छन् । श्रम सम्बन्धमा लामो समयसम्म देखिएको सौहार्दतालाई तोड्दै सरकार समर्थित नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन जिफन्ट अन्तर्गत रहेको नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदूर युनियन आन्दोलनमा उत्रिएको हो । उनीहरुले विभिन्न ५ बुँदे माग सरकार र व्यवसायीहरुसँग राख्दै सो अवधिभित्र माग पूरा नभए सम्पूर्ण होटल तथा रेष्टुरेन्टहरु बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

युनियनले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको ग्यारेन्टी, होटल तथा रेष्टुरेन्ट मजदूरहरुको सामाजिक सुरक्षा कोषमा सहभागिताको सुनिश्चितता, क्यासिनोका मजदूरहरुलाई घटाइएको सुविधा फिर्ता, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुका लागि विशेष व्यवस्था, होटल संघसँग भएको सहमतिको कार्यान्वयन र पर्यटन वर्षको व्यवस्थापन सकितिमा श्रमिकको प्रतिनिधित्वको सुनिश्चितताको माग गर्दै २१ दिने अल्टिमेटम दिएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले आफ्ना मागहरु पूरा नभए कडा आन्दोलनमा उत्रिएर देशभरका होटल ठप्प पार्ने चेतावनी दिएका हुन् ।

होटल तथा रेष्टुरेण्टमा काम गर्ने श्रमिकहरु न्युनतम सात आठ हजारमा काम गर्न बाध्य भएको बताउँदै युनियनले त्यस्ता श्रमिकहरुको लागि सरकारले यथासिघ्र रुपमा ऐन लागु गर्नु पर्ने बताएको छ ।  युनियनले विभिन्न मागहरु प्रस्तुत गर्दै होटलहरुमा काम गर्ने श्रमिकहरुको रोजीरोटी र सेवासुविधाको सुनिश्चितता सहित दश प्रतिशत सेवा शुल्कलाई समेत क्यासिनोमा लागु गर्ने, महिला श्रमिकहरुको हक हितका र अधिकार सुनिश्चितता सहित थप जिम्मेवार र व्यवस्थित बनाउने जस्ता मागहरु प्रस्तुत गरेको हो ।

युनियनका अध्यक्ष सुर्य बहादुर कवँरले श्रमिकको १० प्रतिशत सेवा शुल्क कार्यान्वन गराउन हानले वेवास्ता गरेको बताउँदै २१ दिन भित्र लागु नगरे बडा आन्दोलनमा उत्रिने बताए । उनले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्न श्रमिकहरुको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गर्न माग गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.