खाद्य संस्थाले तोक्न सकेन खसी, बोकाको मूल्य, उपभोक्ता परे मारमा

  २०७६ असोज १३ गते १२:२५     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन ।

विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पुर्याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता टेकप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन उक्त संस्थाले प्रत्येक वर्ष यो समयमा खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याएर उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ । दाङ र विरगञ्जबाट गरी एक हजार खसी, बोका तथा मुस्ताङबाट दुई हजार च्याङ्ग्रा ल्याउन लागिएको छ ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा खरिद समिति गठन भई खसी, बोका तथा च्याङ्ग्रा खरिद हुने गर्दछ । अहिलेसम्म ५५० च्याङ्गा र १८० खसी बोका काठमाडौँ आइसकेको तथा अन्य आउने क्रममा छ ।

आज बस्ने बैठकले मूल्य कायम गरेमा आजैबाट बिक्री शुरु गरिने जनाइएको छ । अघिल्लो वर्ष खसी, बोका जिउँदो प्रतिकिलो ५०० तथा च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.