विदेशी लगानी प्रतिबद्धताको ओइरो, २ महिनामा ६ अर्बले बृद्धि

  २०७६ असोज ९ गते ९:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुको आर्कषण बढ्दै गएको छ । विदेशीले नेपालमा लगानी गर्न उपयुक्त वातारण छ भनेर बुझ्दै गएका छन् ।

चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा ६ अर्बले विदेशी लगानी प्रतिवद्धता बढेको छ । आर्थिक वर्ष २०७५/७६ को साउन र भदौमा ४ अर्ब २१ करोड ५० लाख मात्रै विदेशी लगानी प्रतिवद्धता आएको थियो भने चालु आर्थिक वर्षको साउन र भदौमा १० अर्ब १० करोड ९० लाख लगानी प्रतिवद्धता आएको छ । यो तथ्याङ्कले नेपालमा विदेशी लगानीकर्ताहरुको आकर्षण बढेको देखाउँछ ।

नेपालमा विदेशी लगानी मैत्री कानून निर्माण हुँदै जाँदा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । सरकारले विदेशी लगानीकर्तालाई नेपालका लगानी बढाउन आग्रह गरिरहँदा स्वदेशी लगानी पनि वृद्धि हुँदै गएको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउन र भदौ महिनामा १० अर्ब १० करोड ९० लाखको लगानीमा ७० वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता आएको छ । जसमा ३ हजार ८४१ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २१ करोड ५० लाखको लगानीमा १०८ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको थियो । जसमा ४ हजार ३६२ जनालाई रोजगारी दिने प्रतिवद्धता गरिएको थियो ।

गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा उद्योग दर्ताको प्रतिबद्धता भने घटेको छ । गत आर्थिक वर्षमा १०८ वटा उद्योग स्थापना गर्ने प्रतिवद्धता आएको थियो भने चालु आवमा वर्षमा ७० वटा मात्रै उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ ।

उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । विदेशी लगानीकर्ताहरु पर्यटनमूलक, उर्जामूलक र उत्पादनमूलक उद्योगमा बढी आकर्षण देखिन्छ । तथ्यांक अनुसार विभागमा प्रतिवद्धता गरेका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै पर्यटन क्षेत्रका छन् ।

विभागमा दर्ता भएका विदेशी लगानी प्रतिबद्धताका ७० उद्योगमध्ये पर्यटन क्षेत्रका ३६ वटा छन् । सेवा क्षेत्रका २०, उत्पादनमूलक ७, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ६ वटा, र कृषिजन्यमा १ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ ।

विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले फिटा संसोधन पछि नेपालमा विदेशी लगानीकर्ताको आकर्षण बढेको बताए । उद्योग दर्ता सहज र सरल भएकाले लगानीमा प्रतिबद्धता बृद्धि भएकोे बताए ।

नेपाल उद्योग वाणिज्य महासघंका सदस्य तथा प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले विदेशीले नेपालमा लगानीको वातावरण निर्माण हुँदै गएको बुझेर लगानी प्रतिवद्धतामा बृद्धि भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.