थोमस कुक र जेट चल्न सकेनन्, संघर्ष गर्दैछ नेपाल वायुसेवा निगम

  २०७६ असोज ८ गते १०:१०     सन्तोष रोकाया

काठमाडौं । विश्वमा दिनहुँ नयाँ-नयाँ विमान कम्पनीहरू खुल्ने क्रम बढ्दो छ । बजारको माग र यात्रुहरूको सहजतालाई ध्यानमा राखेर सर्वसुलभ सुविधा प्रदान गर्ने उद्देश्यका साथ विमान कम्पनीहरू धमाधम खुलिरहेका छन् । नयाँ विमान कम्पनीहरू खुल्ने क्रम बढेसँगै पुराना प्रतिष्ठित विमान कम्पनीहरू बन्द हुन थालेका छन् ।

गत वर्ष चैत्र २५ गते भारतकै ठूलो मध्येको एयरलाइन्स कम्पनी जेट एयरवेज बन्द भयो । जेट एयरवेज आर्थिक संकटमा फस्दै गएको भन्दै उसले आफ्नो अन्तराष्ट्रिय उडान स्थगन गर्यो । सन् १९९२ सालमा आफ्नो सेवा विस्तार गरेको सो कम्पनी बन्दसँगै हजारौंको रोजगार समेत गुम्यो ।

यस्तै, सोमबार मात्रै १७८ वर्ष इतिहास बोकेको विश्वको पहिलो ट्राभल कम्पनी थोमस कुक ट्राभल्स औपचारिक रुपमा विघटन भयो । सन् १८४१ सालमा खुलेका कम्पनी बन्द भएसँगै सो कम्पनीमा कार्यरत विश्वका १६ देशका २२ हजार कर्मचारीहरूलाई बेरोजगार भए ।  यात्रुहरूको सहजताका लागि प्रचलित र प्रतिष्ठित थोमस कुक एयरलाइन्स कम्पनी बन्द हुनुले अहिले केही पुराना कम्पनीहरूमाथि पनि प्रश्न चिन्ह खडा भएको छ ।

यात्रुहरूको बढ्दो आकांक्षालाई पुरा गर्न र प्रतिस्पर्धी कम्पनीहरूले सरह सुविधा दिन नसक्दा  उक्त कम्पनी वित्तीय रूपमा टाट पल्टिएकाे हाे । नयाँ खुलेका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने क्रममा ग्राहकलाइ लाेभ्याउने प्याकेज ल्याउँदा पनि कम्पनी घाटामा जाने र टाँट पल्टिने  यी उदाहरणहरूले संकेत गरी सकेका छन् ।

विश्वका प्रतिष्ठित कम्पनीहरू बन्द हुनुको कारण लो कष्ट क्यारिएर भएको हिमाल एयरलाइन्सका निर्देशक राजु केसी बताउँछन् ।  ‘लो क्यास’ को समस्याले पनि ति कम्पनी बन्द भएका हुन्’, उनले भने, ट्याक्स व्यवस्थापन गर्न नसकेर र बजारमा प्रतिस्पर्धी हुन नसक्दा विमान कम्पनीहरु बन्द हुने गर्दछन् । हाल प्रविधिको युग भएकोले पुराना कम्पनीहरूले त्यस्ता प्रविधिको प्रयोग पनि कम गर्छन्, यो युगमा प्रविधिसँग रम्न सके मात्र सफल भइन्छ ।’

नेपालमा पनि हाल धेरै एयरलाइन्सहरूले विमान सुविधा दिइरहेका छन् । विमान कम्पनीहरू बढेसँगै कम्पनीहरूलाई बजार धान्न पनि धौधौ परेको अवस्था छ । जहाजको भाडा बजारको माग र आपूर्तिले निर्धारण गर्छ ।

नेपाल वायुसेवा निगम पनि मुलुकको पुरानो र सरकारको मात्र लगानी रहेको एयरलाइन्स कम्पनी हो । ६१ वर्ष इतिहास बोकेको निगम पनि अहिले वित्तीय संकटमा छ । हाल निगम करिब ४० अर्ब रूपैयाँ ऋणमा डुबेको छ । व्याज खर्चले निगम झनझन् कमजाेर बनाएकाे र यहि अवस्थामा अघि बढे निगमले कर्मचारीलाई तलव दिन पनि मुश्किल पर्ने हालै गठित निगम सुधार कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

अर्बाै ऋणमा हुँदा हुँदै पनि भदौ १२ गतेदेखि ओशाकामा उडान शुरु गरेको छ । हाल निगमले ओशाकाको प्रत्येक उडानमा करोडौंको क्षति बेहोर्नु परेको समाचारहरू पनि आइरहेका छन् । यी र यस्तै जाेखिमहरूले पनि निगमको हालत थोमस कुक र जेट एयरवेज जस्तै नहोला भन्न सकिन्न ।

नेपाल वायुसेवा निगमले पनि थोमस कुक र जेट एयरवेयजका केही घटना क्रमहरूलाई अध्ययन गरेर अगाडी बढ्न आवश्यक छ । वित्तीय रुपमा कमजोर अवस्थामा पुगेको निगमलाई सक्षम संस्थाका रुपमा अगाडि बढाउन वायुसेवा निगम सुधार कार्यदलले तयार पारेको प्रतिवेदनलाई गाइडलाइन्सको रुपमा लिन जरुरी छ । कार्यदलले निगमलाई पुरानै र २० औं शताब्दीको अव्यवहारिक र पुरानो प्रविधि प्रयोग गर्दै आएको जनाएको थियो । यसले पनि उसको बजारमा प्रतिस्पर्धा गर्ने क्षमतालाई दर्शाउँछ । त्यसैले एक अब्बल र शसक्त संस्थाका रुपमा अगाडि बढ्न नयाँ सूचना र प्रविधिहरु प्रयोग गरी प्रतिस्पर्धात्मक बजारमा होमिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.