न्यूरो स्पाइन च्याप्टरद्वारा मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेलन

  २०७६ असोज ३ गते १५:०६     विकासन्युज

काठमाडौं । सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन् ।

पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिएका छन् ।

नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । आज यहाँ शुरु भएको मेरुदण्ड, नशा र मांशपेशी (स्पाइन कन्फ्ररेन्स) सम्मेलनका सहभागी चिकित्सकले सो कुरामा जोड दिँदै यस विधामा सरकारको लगानी बढाउन आवश्यक रहेको औँल्याए ।

मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ । हाल मुलुकभर ८० जना मात्र मेरुदण्ड, नशा र मांशपेशीका विज्ञ चिकित्सक रहेको बताइएको छ ।

न्यूरो शल्यचिकित्सक समाज नेपाल (नेसोन) अन्तर्गत न्यूरो स्पाइन च्याप्टरद्वारा आयोजित सो दुईदिने सम्मेलनमा नेपालसहित भारत, अमेरिकाका न्युरो सर्जन, अर्थोपेडिक्स, फिजियोथेरापिष्ट, न्युरो ट्रमा विशेषज्ञ, बालनशा रोग विशेषज्ञलगायत १२५ भन्दाबढी स्वास्थ्यकर्मीको सभागिता रहेको छ । सम्मेलनमा ती क्षेत्रका २० वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलनको शुभारम्भका अवसरमा नेसोनका अध्यक्ष चिकित्सक निलमकुमार खड्काले मेरुदण्ड, नशा र मांशपेशीका जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिन, तल्लो तहका अस्पतालमा नशा रोग चिकित्सकको व्यवस्था गर्न आग्रह गर्दै मेरुदण्ड, नशा र मांशपेशीका बिरामीका लागि पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्छ भनेका छन् ।

अन्नपूर्ण न्युरो अस्पतालका मेडिकल डाइरेक्टर डा. समीर आचार्यले पछिल्लो समयमा हड्डी खिइने, नशा च्यापिने, हड्डीमा मासु पलाउने रोगीका सङ्ख्या तथा सडक दुर्घटनाका कारण मेरुदण्ड भाँचिने क्रम वृद्धि भइराखेको उल्लेख गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.