वर्षाका कारण बाँकेमा ६४ घरपरिवार विस्थापित

  २०७६ असोज ३ गते १२:२९     विकासन्युज

राँझा । बाँकेमा वर्षापछि भएको डुबानका कारण खजुरा गाउँपालिकाका ६४ घरपरिवार विस्थापित भएका छन् ।

तीन दिनअघिको वर्षाले घर डुबानमा परेपछि ६४ परिवारका २५३ विस्थापित भएको खजुरा गाउँपलिकाकी उपाध्यक्ष एकमाया विकले जानकारी दिएकी हुन् ।

उनका अनुसार, विस्थापितलाई अस्थायी बसोबासका लागि गाउँपालिकाले पाल र खानाको व्यवस्था गरिदिएको छ । घरआँगन पूरै जलमग्न भएपछि खजुरा गाउँपालिकाका वडा नं ७ र ८ का सर्वसाधारण सडकमा बस्न बाध्य भएको स्थानीय मायाराम पासीले बताएका छन् । गाउँपालिकाले वितरण गरेको पालको सहारामा सडक किनारमा बस्दै आएको पासीले जानकारी दिएका हुन् ।

वर्षाले खजुरा गाउँपालिका– ७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पनि डुबानमा परेको छ । डुबानका कारण विद्यालयको पठनपाठनसमेत प्रभावित भएको विद्यालयका प्रधानाध्यापक श्रवणकुमार खड्काले जानकारी दिए । मानखोलामा आवश्यक तटबन्ध नहुँदा वर्षेनी डुबानको समस्या झेल्नुपरेको उनले बताए ।

अविरल वर्षापछि खजुरा गाउँपालिका–२ गौघाट, पुरैनी, वडा ५ र ६ उढरापुर, वडा नं ७ सिन्दुरेलगायतका ठाउँमा २०० घरपरिवार विस्थापित भएको खजुरा गाउँपालिकाकी उपाध्यक्ष विकले जानकारी दिएकी हुन् ।

विस्थापितमध्ये केहीलाई जनसेवा मावि र नेपाल आधाभूत विद्यालय सिन्दुरेमा राखिएको छ भने बाँकी सबै आफन्तको घरमा बसेका छन् । गाउँपालिका उपाध्यक्ष विकका अनुसार, वर्षा रोकिएपछि जनजीवन केही सामान्य बनेको छ । स्थानीयहरु विस्तारै आ–आफ्नो घर फर्किन थालेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.