राष्ट्रिय दिवसमा ६३१ जना सम्मानित हुँदै, को को छन् चर्चित अनुहार ?

  २०७६ असोज ३ गते ९:१७     विकासन्युज

काठमाडौं । सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न विधाका ६३१ जनालाई सम्मान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजसेवी, कर्मचारी, व्यवसायी, साहित्यकार, कलाकार, पत्रकार लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई विभिन्न मानपदवी, अलंकार र पदकद्धारा विभुषित गर्ने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीमा सबैभन्दा ठूलो महाउज्जवल राष्ट्रदीप पदकबाट साहित्यकार मदनमणि दीक्षित र तात्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई विभूषित गर्ने घोषणा गरेको छ । दीक्षितको केही समय अघिमात्रै निधन भएको हो भने अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत बैशाखमा निधन भएको थियो ।

त्यस्तै, प्रथम श्रेणीकै सुप्रसिद्ध प्रवल जनसेवाश्री पदकबाट प्रा.डा. दिब्यासिंह शाह, तात्कालिन पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा लगायतका ७ जना छन् ।

यो वर्ष उद्योगी व्यवसायीको तर्फबाट अशोककुमार अग्रवाल, चन्द्रप्रसाद ढकाल र भवानी राणा सम्मानित हुने भएका छन् । अग्रवाल विशाल ग्रुपका प्रबन्ध निर्देशक हुन् भने चन्द्र ढकाल आईएमई ग्रुपका अध्यक्ष हुन् । त्यस्तै, राणा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष हुन् । यी तीनै जनालाई कीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गरिने भएको हो । सो पदकबाट उनीहरुसहित अन्य ७ जना सम्मानित हुने भएका छन् ।

त्यस्तै नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारी, एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने पनि सम्मानित हुने भएका छन् । अधिकारी सुप्रबल जनसेवाश्री तथा न्यौपानेले प्रबल जनसेवाश्री पदकबाट सम्मानित हुने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.