दशैँमा खसीबोकाको मासुको मूल्य बढ्दैन, ‘अहिलेकै मूल्यमा खरिद बिक्री’

  २०७६ असोज १ गते १०:०९     सुनिता पुडासैनी

काठमाडौं । दशैं पर्व नजिकिँदै गर्दा यो पर्वका बेला धेरै खपत हुने खसीबोकाको मासुको मूल्य के होला ? कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष दशैँमा खसीबोकाको मासुको मूल्य नबढ्ने र अहिलेकै मूल्यमा खरिद बिक्री हुने जनाएको छ । गतवर्ष ८ सयदेखि ८ सय ५० रुपैयाँमा किनबेच भएको खसीको मासु हाल १३ सय रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ ।

अन्य समयमा सामान्य रहने बजार दशैंको समयमा भने चापमा पर्ने गरेको छ । दशैंलाई करिब ४० हजार वटा खसीबोकाको माग भएपनि १७ हजारमात्र व्यवस्थापन भएको नेपाल पशु चौपाय खरिद विक्री सेवा संघका अध्यक्ष भानुभक्त पराजुलीले बताए ।

त्यस्तै भारतबाट आउन खसीबोकामा रोक लगाएसँगै नेपाली बजारमा बिक्री हुने मासुको मूल्य बढेको अध्यक्ष पराजुलीले बताए । देश मासुमा आत्मनिर्भर राज्य घोषणा भएपनि हालसम्म देश पुर्णरुपमा आत्मनिर्भर नभई सकेको पराजुलीले बताए । यता, पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्माले दशैँमा मासुको समस्या नहुने र मूल्य पनि नबढ्ने बताए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयकाले अघिल्लो वर्ष नेपालमा उत्पादित खसीबोकाले बजार नपाएको र भारतबाट हुने आयात प्रभावित गरेको निश्कर्ष सहित गाँउगाँउमा उत्पादन भएका खसीबोका खपत गर्न केन्द्रीय बाख्रा पालक महासंघ तथा विभिन्न सहकारी संस्था र आमा समूहहरुसँग सहकार्य गरेको थियो ।

हाल देशभर १ करोड १८ लाख खसीबोका तथा बाख्रा पालन भएको छ । वार्षिक ६ लाख खसीबोका काठमाडौं उपत्यकामै खपत हुने नेपाल पशु चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.