बीमा क्षेत्रमा अहिले नै होइन, भविष्यमा मर्जरको आवश्यकता छः सुद्युम्न उपाध्याय

  २०७६ भदौ २५ गते १३:३०     विकासन्युज


निर्जीवन बीमा व्यवसायमा प्रिमियर इन्स्योरेन्स कम्पनीले २५ वर्षको यात्रा तय गरिसकेको छ । कम्पनीले यस अवधिमा राम्रो प्रगति गरिरहेको छ, गतवर्ष ४८ प्रतिशतले नाफा बृद्धि गरेको छ । जसरी कम्पनीले वर्सेनि ग्रो गरिरहेको छ, त्यसरीनै कम्पनीलाई अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गरेका छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न उपाध्यायले । बीमा बजारमा प्रिमियर इन्स्योरेन्सको अवस्था सहित समग्र बीमा क्षेत्रका बारेमा सीईओ उपाध्यायसँग विकासन्युजका लागि नबिन पोखरेलले गरेको विकास बहस ।


प्रिमियर इन्स्योेन्स कम्पनीको गत आर्थिक बर्षको वित्तीय नतिजा कस्तो आयो ?
हाम्रो गत आवको वित्तीय नतिजा सन्तोषजनक आएको छ । हामीले १ अर्ब ६४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छौँ । अघिल्ला वर्षमा जस्तो प्रिमियमको बृद्धि आकर्षक छैन । यसरी आकर्षक नहुनुमा चाँही हामीले विजनेशहरु छनोट गरेको कारणले गर्दा हो । वृद्धि चाँही हामीले सोचेको अनुसार नै भइरहेको छ ।

कम्पनीको बीमा शुल्क आम्दानी अघिल्लो बर्षको तुलनामा करिव साढे ६ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ । बीमा बजारको औषत वृद्धि भन्दा पनि प्रिमियरको वृद्धि कमजोर देखियो, किन ?
हामीले कुल कति व्यवसाय वृद्धि गर्यौ भन्ने कुरामा केही कमी भएपनि हाम्रा सूचाङ्कलाई छुट्याएर हेर्दा वृद्धि कमजोर देखिदैन । हामी व्यवसाय वृद्धिमा मात्र केन्द्रित भएका छैनौँ । व्यवसाय वृद्धि हुने कुरालाई पनि २ तरिकाबाट हेर्न सकिन्छ । एउटा व्यापारको दायरा बढाउने, अर्को चाँही भएको नाफामा वृद्धि गर्ने । अहिले हाम्रो नाफाको अवस्था राम्रै छ ।

अघिल्लो आव भन्दा गत आवमा बीमा पोलिसी संख्या नै ८ हजार कम जारी भएको देखियो, किन ?
हाम्रो कम्पनीको बीमा पोलिसी संख्या ८ हजार कम जारी हुनुमा हामीले केही बिजनेश घटाएका कारणले गर्दा हो । यो हाम्रो नीति हो । नेपालमा भएका अन्य बीमा कम्पनीहरुले समेत आवश्यकता अनुसार १५ हजार देखि २ लाख पोलिसी जारी गरेका छन् ।

व्यापार वृद्धि कम भएपनि नाफा वृद्धि ४८ प्रतिशत देखिन्छ । कसरी यस्तो भयो ?
हामीले व्यापार वृद्धि गर्दा औषत रुपमा नाफामा चाँही जानै पर्छ भन्ने रणनीति अपनाएका हौँ । सोही कारण व्यापार वृद्धि घट्दा नाफा वृद्धि बढ्न पुगेको हो ।

उपभोक्ताले प्रिमियरलाई नै छान्नु पर्ने कारण चाँही हामीले हाम्रो नारामा भने जस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीमा क्लेम सजिलै पाउन सकिने भएकाले हो ।

नाफा वृद्धि त देखिन्छ । तर, पूँजी वृद्धिको कारण प्रतिसेयर आम्दानी २८ रुपैयाँबाट २२ रुपैयाँमा झरेको छ । प्रतिसेयर आम्दानी उच्च कायम राख्न कम्पनीले कस्तो रणनीति लिएको छ ?
कम्पनीले गत वर्षबाट टप भन्दा बटम लाइनमा केन्द्रित भएर काम गरेको छ । पहिले पहुँच बढाउन काम गर्यौ। अहिले हामीले गुणस्तरमा ध्यान दिएका छौं, सोही कारण हाम्रो सूचाङ्क कही कतै फरक देखिन सक्छन् ।

चार महिना अगाडि प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य १२८० रुपैयाँ थियो । हाल ३९० भन्दा तल गयो । किन यस्तो भयो ?
हाल सम्पूर्ण सेयर बजारको मूल्य नै घट्दो क्रममा छ । सोही कारण प्रिमियरको सेयर मूल्यपनि घटेको हो । तर पनि अन्य कम्पनीसँग तुलना गर्दा हाम्रो अवस्था त्यति नराम्रो छैन ।

बीमा दावी भुक्तानी हुन बाँकी रकम असार मसान्तसम्ममा १ अर्ब ९३ करोड रुपैयाँ देखियो । यति ठूलो रकम किन पेण्डिङ्गमा बस्यो ?
अन्य कम्पनीको तुलनामा हाम्रोमा प्रोजेक्ट विजनेश छ, सो कारण हाम्रो भुक्तानी हुन बाँकी रहेको देखिएको हो । पछिल्लो समय बाढीका कारण हाइड्रो पावरमा क्षति पुग्न गयो । तरपनि हाम्रो नेटमा लायवलिटी नराम्रो देखिने अवस्था छैन । हामीले पुनर्बीमा पनि गरेका छौँ । नेट लायवलिटी बढेको छैन ।

गत बर्ष नै तपाईँहरुले एनएफआरएस अनुसार वार्षिक प्रतिवेदन तयार गरिसक्नु भयो । तर, असार मसान्तको चौमासिक प्रतिवेदन किन एनएफआरएस अनुसार प्रकाशित गर्नु भएन ?
अहिले वार्षिक प्रतिवदेन एनएफआरएस बन्याे । अब क्रमशः चाैमासिक प्रतिवेदन पनि साेही डाँचामा बन्छ ।

प्रायः सबै कम्पनीहरुले बोनस सेयरमा लाग्ने कर बापतको रकम नगद लाभांशबाट दिन्छन् । तपाईँहरुले सेयरधनीसँग बोनसमा लाग्ने कर रकम संकलन गर्नु भयो । यसले लगानीकर्तालाई झण्झट भयो नि ?
बीमा समितिको नियम अनुसार एनएफआरएस र एनएसको व्यालेन्स मिलाउँदा वितरण गर्न नमिल्ने भएका कारण हामीले नदिएका हौँ । कम्पनीले दिन भने सक्ने अवस्था छ ।

गत आवको साधारण सभा कहिलेसम्म हुन्छ ?
गत आवको साधारण सभा पुस मसान्तसम्म गर्नेछौँ । एनएफआरएसका कारणले गत वर्षमा केही ढिलाई भएको थियो । यसपालि ढिला हुन्न ।

कम्पनीका नयाँ योजना तथा वार्षिक योजनाहरु के छन् ?
गुणस्तरमा ध्यान दिन्छौँ । अबका दिनमा टेक्नोलोजिमा आधारित भएर काम गर्नेछौँ । बजारमा नयाँ भन्दा पनि इन्जिनियरिङ्ग बीमा सम्बन्धि बीमाको आवश्यकता छ, हामीले सोही अनुसार काम गर्छौ ।

गुणस्तरमा ध्यान दिन्छौँ । अबका दिनमा टेक्नोलोजिमा आधारित भएर काम गर्नेछौँ ।

उपभोक्ताले प्रिमियर इन्स्याेरेन्स कम्पनी नै छान्नु पर्ने कारण चाँही के हो ?
उपभोक्ताले प्रिमियरलाई नै छान्नु पर्ने कारण चाँही हामीले हाम्रो नारामा भने जस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीमा क्लेम सजिलै पाउन सकिने भएकाले हो । २५ वर्ष पुरानो कम्पनी हो । हरेक सूचक राम्रो रहँदै आएका छन् । सोही कारण हाम्रोमा विश्वास गर्ने थुप्रै आधारहरु छन् ।

नौला प्रडक्ट यहाँहरुले बजारमा के दिनु भयो ?
नौलो प्रडक्ट निर्जीवन बीमामा ल्याउन जीवन बीमा व्यवसायमा जस्तो सजिलो छैन । तर, बजार विकास गर्न केही समय लाग्छ ।

पछिल्लो समय बीमा कम्पनीहरुमा कर्मचारी टर्न ओभर धेरै छ । यस कम्पनीमा कस्तो अवस्था छ ?
हाम्रोमा न्यून छ । कम्पनीको स्थापनाको दिन देखि हालसम्म २ जना मात्र सिईओले काम गरेका छन् । हाम्रा शाखा प्रमुखहरु नै २५ वर्ष यहि काम गर्न सफल हुनु भएको छ । सोही कारण हाम्रो कम्पनीमा कर्मचारीहरु अन्य कम्पनीमा जाने काम छ ।

कर्मचारीको क्षमता विकासमा कम्पनीले के–के काम गरिरहेको छ ?
कर्मचारीको क्षमता विकासका लागि हामीले स्वदेशी तथा विदेशी तालिममा समेत सहभागी गराउँदै आएका छौँ ।

अतिरिक्त सुविधा के छ ?
बीमामा अतिरिक्त सुविधा भन्ने त हुँदैन । हामीले ट्यारिफ अनुसार काम गर्नुपर्छ । सस्तो प्रिमियममा समेत काम गर्दैनौं। तर, हामीले बीमाको गुणस्तरमा भने ध्यान दिँदै आएका छौँ ।

सिईओको नजरबाट समग्र बीमा बजारको अवस्था हेर्दा कस्तो पाउनु हुन्छ ?
बीमा बजार विश्वासमा चल्ने हो । हामीले जसलाई क्लेम पर्छ, उसको लागि नै सेवा गर्न आवश्यक हुन्छ । बजारमा सबैभन्दा काम गर्न आवश्यक कुरा भनेको इमान्दारिता र धैर्यता हो । बीमा बजारमा सेल्स भन्दा आफ्टर सेल्स (पोलिसी बेच्दा भन्दा बेचिसकेपछि)को अवस्था महत्वपूर्ण मानिन्छ ।

बीमा क्षेत्रमा मात्र नभई मर्जर भन्ने कुरा त विश्वव्यापी कुरा हो । अहिले विदेशी बीमा कम्पनीहरु समेत मर्जरको बाटोमा लागेका छन् ।

बीमा समितिको नियमन कसरी अघि बढिरहेको छ ?
बीमा समितिको नियमन राम्रोसँग अघि बढिरहेको छ । एक किसिमले भन्ने हो भने हाम्रो जस्तो भरपर्दो नियमनकारी निकाय अन्य क्षेत्रमा छैन जस्तो लाग्छ । बजार विकासको क्रममा भएकाले कम्पनी र नियामकमा परिपक्कता पनि आउने क्रममा छ । तर यस्तो अवस्थमा बीमा समितिले खेल्नु पर्ने भूमिका भने सन्तोषजनक नै छ । साथै, बीमा कम्पनीहरुले पनि आफ्नो तर्फबाट गरेको कामलाई राम्रो मान्न सकिने अवस्था छ ।

पछिल्लो समय बीमा बजारमा मर्जरको कुरा चलिरहेको छ, यसलाई कसरी हेर्नु हुन्छ ?
बीमा क्षेत्रमा मात्र नभई मर्जर भन्ने कुरा त विश्वव्यापी कुरा हो । अहिले विदेशी बीमा कम्पनीहरु समेत मर्जरको बाटोमा लागेका छन् । एक तहको साईकल पूरा गरेपछि मर्जरमा जान आवश्यक हुन्छ । अहिले मर्जरमा जान बीमा कम्पनीहरुको संख्या धेरै हुनुलाई कारण मान्न सकिन्छ । अहिले नै होइन, भविष्यमा मर्जरको आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.