मेलम्चीमा अर्को लफडा, भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने समितिको चेतावनी

  २०७६ भदौ १८ गते १०:१८     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा फेरि अर्को लफडा सुरु भएको छ । मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने चेतावनी दिएका छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् ।

समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालयमा आजदेखि पीडितहरू धर्ना बस्दै छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले गत साता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको थियो । मेलम्ची खानेपानी आयोजना समाधान गर्छौं भन्ने प्रतिबद्धता सरकारले गरे पनि हालसम्म कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको समितिका संयोजक विष्णुमणि आचार्यले बताए ।

मेलम्चीको बाँकी काम पुरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिने तय भैसकेको छ र दशैँ अघिबाट नै निर्माण शुरु हुने भनिएको छ । आर्थिक वर्ष २०५८/०५९ देखि भौतिक कार्य शुरु भएको आयोजनाको करिब दुई दशक पुग्न लाग्दा समेत पानी कहिले आउँछ भन्ने अन्योलता कायमै रहेको हो ।

निर्माण कार्य शुरु भएदेखि पाँच वर्ष अर्थात आर्थिक वर्ष २०६४/०६५ मा पहिलो फेजमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा भित्र्याउने भनिएको थियो । पानी कहिले आउने हो यसको अहिलेसम्म टुङ्गो लागेको छैन । आयोजना अन्तर्गतको मुख्य निर्माण कार्य सुरुङ निर्माणको अवधि लम्बिदै जाँदा आयोजनाको काम सम्पन्न हुने समय संशोधित भई क्रमशः आव २०६८/०६९, आव २०७०/०७१, २०७२/०७३ र अन्तिममा आव २०७५/०७६ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो, यद्यपी त्यो पनि सम्भव हुन सकेन ।

यसरी मेलम्चीको पानी काठमाडौं ल्याउने आश्वासनहरु बेलाबखत हुँदै आएपनि पानी आउने समय तोक्न सकिने अवस्था नरहेको मेलम्ची खानेपानी आयोजनाका अधिकारी बताउँछन् । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले इटालिएन ठेकेदारले राम्रै काम गरेका कारण छिट्टै सकिन्छ भन्ने अनुमान थियो, तर त्यसले छोडेर गएपछि अब कहिले निर्माण सम्पन्न हुन्छ भन्ने अनुमान गर्न नसकिने अवस्था आएको बताए ।

उनले भने,–‘मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने लगभग निश्चित भएको छ, उसको काम गर्ने जनशक्ति, निर्माण सामाग्रीहरु हेरेर मात्र कति दिन समय लाग्छ भन्ने आँकलन गर्न सकिने छ ।’ समयमै काम शुरु गरे १५ महिना भित्र काम सम्पन्न हुन सक्ने उनले बताए । एक वर्ष सुरुङ निर्माण र ६ महिना बाँध बाध्न समय लाग्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.