दोलखा ६७ औं खुला दिसा मुक्त जिल्ला घोषणा

  २०७६ भदौ १२ गते १६:४९     विकासन्युज

काठमाडौं । दोलखा । प्रदेश ३ को दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी दोलखालाई बिहीबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले देशैभरि पूर्ण सरसफाइको कार्यक्रम अघि बढेको बताइन् । उनले असोज भित्रमा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिएकी हुन् ।

दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी नौ वटा स्थानीय निकायहरु छन् । दोलखामा ४५ हजार ६ सय ५८ घरधुरीहरुमा शौचालयहरु निर्माण भएका छन् । खुला दिसामुक्त जिल्लामा दोलखा ६७ औं जिल्ला भएको छ ।

सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, मठ मन्दिर र सबै घरधुरीहरु गरी दोलखामा शौचालयहरु निर्माण गरी प्रयोगमा आएपछि दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जानकारी दिए ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ। कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक र सोलुखुम्बुलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।

सरकारले विसं २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रम अन्तर्गत विसं २०६८ असार १० गते कास्कीलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.