निस्कोटमा ११९ घरमा विद्युतीकरण, अझै ११ वटा वडा प्रसारण लाइन विहिन

  २०७६ भदौ ७ गते १५:०२     विकासन्युज

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रको सहयोगमा निस्कोटका ११९ घरमा विद्युतीकरण गरिएको हो ।

म्याग्दीमा यस वर्ष केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सिँचाइ, ऊर्जा तथा जलस्रोत मन्त्रालयले दुई वटा शीर्षकमा रु १२ करोड ८० लाख बजेट विनियोजन गरेको थियो । ४५ मध्ये ११ वटा वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छैन । पिक आवरको समयमा चार मेगावाट विद्युत् खपत हुने गर्छ ।

गत आवमा रु ७ करोड ३७ लाख ४१ हजार ७१३ विद्युत् महशुल सङ्कलन गरेको सहलेखा अधिकृत रामप्रसाद मुडभरीले बताए । प्राधिकरणले रु ८ लाख २५ हजार २२७ महशुलको बक्यौता उठाउन बाँकी जानकारी दिएका छन् । साविक निस्कोट गाविसको ६ नम्बर वडा मल्कवाङ, गाउँफाँटमा यसै हप्तादेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको वडाध्यक्ष टङ्कप्रसाद पुनले जानकारी दिए।

निस्कोटमा विद्युतीकरणका लागि मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा रु १२ लाख र आव २०७५/७६ मा रु ५ लाख विनियोजन गरिएको थियो । विद्युत् प्राधिकरणले ठेक्कामार्फत मुख्य लाइन तान्ने, पोल गाड्ने र ट्रान्सफर्मर जडान गरेको थियो । गाउँपालिकाको सहयोगमा शाखा लाइन विस्तार गरिएको हो । एशियाली विकास बैंकको सहयोगमा साविक १ र २ नम्बर वडामा विद्युतीकरण गर्न योजना सञ्चालन भएको छ ।

उज्यालोका लागि बत्ती बाल्न, टेलिभिजन हेर्न, मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरण चलाउन सहज भएको छ । फर्निचर, राइसमिल, कुखुरापालनलगायत व्यवसाय र उद्योग सञ्चालन हुन थालेको छ । आव २०७५/७६ मा म्याग्दीका ७११ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरेको विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले धौलागिरि गाउँपालिकाको ताकम र मुनामा थप एक हजार घरधुरीमा विद्युत् विस्तारको तयारी भएको जनाएको छ ।

गत वर्ष धौलागिरि गाउँपालिकाको धारापानी, मालिका गाउँपालिकाको बाइन्दफाँट, दिच्याम, मङ्गलाको सातबिसे, नेटामा गत आवमा विद्युत् विस्तार भएको केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेको भनाई छ । म्याग्दीमा २४ हजार घरधुरीको बसोबास छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रसहित बेनी वितरण केन्द्रअन्तर्गत १६ हजार ३०० उपभोक्ता जानकारी दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.