साल्ट ट्रेडिङका सेयरधनीले २ आर्थिक वर्षको लाभांश पाएनन्, अर्थले दिएन स्वीकृति

  २०७६ साउन ३१ गते ११:५२     राजाराम न्यौपाने

 

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सेयरधनीको २ आर्थिक वर्षको नगद लाभांश पाउन सकेका छैनन् । कर्पोरेशनको ५१ औँ साधारण सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफाबाट २ करोड २५ लाख ६८ हजार ८१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । तर, अर्थ मन्त्रालयले स्वीकृति प्रदान नगर्दा लाभांश पाउन नसकेका हुन् ।

उद्योग मन्त्रालयका उप-सचिव उर्मिला केसीले आर्थिक बर्ष २०७३/७४ को ९८ लाख २३ हजार ४२० रुपैयाँ र आव २०७४/७५ को १ करोड २५ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश वितरणका गर्न स्वीकृतिका लागि अर्थमन्त्रालयमा पत्र पठाएको बताइन् । उनले भनिन्-तर अहिलेसम्म अर्थबाट स्वीकृति पाएका छैनौँ ।

यता, अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नगद लाभांश वितरणको प्रक्रिया नपुगेकाले रोकिएको र प्रक्रिया पूरा भएपछि स्वीकृति प्रदान गरिने बताए । तर, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलका प्रवक्ता कुमारराज भण्डारीले अर्थ मन्त्रालयबाट प्रक्रिया नपुगेकोबारे आधिकारिक जानकारी नपाएको बताए । उनले भने-‘अर्थबाट स्वीकृति नपाई लाभांश वितरण गर्न सकिंदैन ।’

२०७४ फागुन १६ गते नै साल्ट ट्रेडिङले उद्योग मन्त्रालयलाई पत्राचार गर्दै लाभांश वितरणका लागि स्वीकृति दिन माग गरेको थियो । सोहीअनुसार मन्त्रालयले पुसमा अर्थ मन्त्रालयलाई स्वीकृतिका लागि पत्राचार गरेको थियो । तर, अर्थ मन्त्रालयले अहिलेसम्म लाभांश वितरण गर्ने स्वीकृति दिएको छैन ।

कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा (२) अनुसार सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका कम्पनीले लाभांश वितरणका लागि सरकारको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । सरकारका तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नगद लाभांश वितरणका लागि सहमति दिए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा लाभांश वितरण रोकिएको हो ।

अर्थ मन्त्रालय श्रोतका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनमा सेयर स्वामित्वका विषयमा उठेको विवादमाथि छानबिन भइरहेका कारण लाभांश बाँढ्न स्वीकृति दिन ढिलाई गरिएको हो ।

साल्ट टेड्रिङमा सर्वसाधारणको २० प्रतिशत र सरकारको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.