निर्माणाधीन मोटरेबल पुल छ वर्षदेखि अलपत्र

  २०७६ साउन २४ गते १३:०२     विकासन्युज

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ जोड्ने लाब्दीखोलामा निर्माणाधीन मोटरेबल पुल छ वर्षदेखि अलपत्र छ । उक्त पुल निर्माणको काम छाडेर ठेकेदार सम्पर्कविहीन भएकाले पुल अलपत्र बनेको हो ।

लामो समय बितिसक्दा पनि ठेकेदारले पुल निर्माणमा चासो नदिँदा अलपत्र बनेको पूर्वाधार विकास कार्यालयका प्रमुख लक्ष्मी भण्डारीले बताएकी छिन् । शुरुमा काठमाडौँस्थित जयबाबा जेभी निर्माण कम्पनीले ०७० साल चैत १९ गते ठेक्का लिएकामा काम नगरी सम्पर्कविहीन बनेपछि बिटी जेभी निर्माण कम्पनीले रु तीन करोड ७८ लाख चार हजारमा निर्माण गर्ने ठेक्का लिएको थियो ।
उक्त कम्पनीले पनि पुलको दुवै पट्टिको एउटा लिफ्ट मात्र उठाएर सम्पर्कविहीन बनेकाले निर्माणाधीन पुल अलपत्र बनेको उनले जानकारी दिएकी छिन् ।

केही दिनअघि सम्पर्क गर्दा निर्माण ठेकेदारले ठेक्का सम्झौता भएको रकमको २० प्रतिशत रकम बैंक ग्यारेण्टी (एपिजी) राखेर काम गर्छु भन्नुका साथै निर्माण कम्पनीको साहुका छोरा सुजन भण्डारीले समेत काम सम्पन्न गरेर छाड्ने आश्वासन दिएको जानकारी दिँदै उनले भने, “ढिलोमा भदौ महिनाको पहिलो सातादेखि काम गर्छु भन्ने सम्झौता गरी बैंक ग्यारेण्टी पत्र ल्याउने विश्वास दिलाएको हुँदा निर्माणाधीन पुल सम्पन्न हुन्छ भन्नेमा विश्वास लिएको छु ।”

उक्त अवधिमा पनि निर्माण कम्पनीले काम शुरु नगरे सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालो सूचीमा राख्न परिपत्र गर्नुका साथै कानून बमोजिम बाँकी असुल गरिने प्रमुख भण्डारीले बताए ।

उनले भने, “पुनः बोलपत्र आह्वान गर्दा प्रक्रिया लम्बिने र निर्माण कार्य ढिलो हुने भएकाले सोही निर्माण कम्पनीलाई निर्माणका लागि दबाब गरिएको हो, काम शुरु गरेमा एक वर्षभित्र सम्पन्न पनि गर्न सक्छ । ” उक्त कम्पनीले ०७३ साल फागुन महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।

निर्माण कार्यले गति नलिँदा लाखौँ मूल्य पर्ने निर्माण सामग्री बेवारिसे हुनाका साथै निर्माणमा पनि ढिलाइ भएको छ । पुल अलपत्र अवस्थामा पुगेपछि त्यस क्षेत्रका पाँच हजार बासिन्दा चिन्तित भएका छन् ।

करिब ४० मिटर लामो उक्त पुलको छ वर्षको अवधिमा १३ प्रतिशत मात्रै काम सम्पन्न भएको इञ्जिनीयर सागर मगरले बताए । तत्कालीन समयमा पुलको दुवैतिरको पर्खाल ठड्याउने काम गरेपछि निर्माण कम्पनी सम्पर्कविहीन भएको उनले जानकारी दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.