गृहकार्यमा जुटे बैंक, सबलहरू कमजोरलाई गाभ्ने दाउमा

  २०७६ असार १८ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरू सघन मर्जरको गृहकार्यमा जुटेको जानकारी दिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको राष्ट्र बैंकले बैंक र बैंक संचालकहरू मर्जरका विषयलाई लिएर सघन गृहकार्यमा जुटेको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

‘राष्ट्र बैंकलाई गराएको अनौपचारिक जानकारी अनुसार बैंकर्सहरू सघन मर्जर गृहकार्यमा जुटेका छन्,’ उनले भने ‘औपचारिक जानकारी भने आएको छैन ।’ यस अवधिमा केही बैंकले मर्जरका लागि पार्टनर खोज्न थालेका छन् भने केही बैंकको संचालक समिति बैठक बस्ने तयारीमा छ । ठूला भनिएका वा वित्तीय आधारमा सवल देखिएका बैंकहरू कमजोर बैंकले आफूमा गाभ्ने छलफल अघि बढाएका छन् भने कुनैले एक्विजिशन गर्ने रणनीति लिएका छन् ।

बिग मर्जरको पक्षमा रहेका तथा नेपाली अर्थतन्त्र अनुसार बैंकको संख्या धेरै भएको बताउदै आएका बैंकर्सहरूलाई अन्य वित्तीय व्यवस्थापन मिलाउन त्यति गाह्रो नभएपनि कर्मचारी व्यवस्थापन गर्न भने गाह्रो हुने देखिएको छ । यसअघि पनि मर्जरमा गएका बैंकहरूले यस्तै समस्या झेल्दै आएका छन् र कतिपय बैंकमा अझै यस्तो असर वाँकी नै छ ।

बलिया बैंक कम भएपनि पुग्ने बताउदै आएका बैंकहरूलाई मर्जरमा जान सबैभन्दा ठूलो समस्या कर्मचारी व्यवस्थापन भएको छ ।
ग्लोबल आईएममी बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरका लागि तीन-चार वटा बैंकसँग कुरा अघि बढाएको बताए । ‘अहिले नै हामी निर्णय गर्ने अवस्थामा पुगिसकेका छैनौ,’ उनले भने ‘केही बैंकसँग यस विषयमा कुरा भएको छ ।’

राष्ट्र बैंकले दिएको निर्देशनात्मक सल्लाह कार्यान्वयनका लागि बैंकहरू आ–आफ्नोतर्फबाट छलफलमा जुटेका छन् । यसै विषयलाई लिएर प्रभु र सानिमा बैंक संचालक समितिको बैठक बिहीबार बस्दैछ । नेपाल कमर्श एण्ड क्रेडिटले मर्जर कमिटी बनाएर यसको गृहकार्य अघि बढाएको छ । सानिमा बैंकले पनि मर्जर कमिटी बनाउने भएको छ ।

मर्जरका विषयलाई लिएर मंगलबार बैंकर्स एशोसिएसनको बैठक बसेको थियो । राष्ट्र बैंकले दिएको समयावधिभित्र मर्जर प्रक्रिया अघि बढाउनका लागि बैंकहरू खोज्न गाह्रो भएको र कुन मोडालिटीमा मर्जरमा जाने व्यवस्था स्पष्ट नभएको बैठकको निश्कर्ष छ । बैंकहरूले मर्जरमा जानका लागि राष्ट्र बैंकले सहजिकरणका साथै सहुलियत दिनेमा बैंकहरूमा विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.