४ लाख ६० प्रतिष्ठान दर्ता विहीन, व्यवसायिक उद्देश्यका लागि ऋण लिने साढे ३५ % मात्रै

  २०७६ असार १६ गते १९:५४     विकासन्युज

काठमाडौं । देशभर संचालन रहेका ९ लाख २३ हजार ३ सय ५६ आर्थिक प्रतिष्ठान मध्ये चार लाख ६० हजार चार सय २२ प्रतिष्ठान दर्ता नभई संचालन भएको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक गणना २०७५’ ले मुलुकमा संचालित व्यवसायिक प्रतिष्ठानमध्ये ४९.९ प्रतिशत दर्ता नै नभइ संचालन भएको तथ्यांक सार्वजनिक गरेको हो ।

कुल प्रतिष्ठान मध्ये ३ लाख २० हजार ३५४ ले मात्रै व्यवसायिक उद्देश्यका लागि ऋण लिएका छन् । सोमध्ये १८.१ प्रतिशत अर्थात १ लाख ६२ हजार ६५३ व्यवसायले वित्तीय संस्थाबाट कर्जा लिएका छन् । एक लाख ५७ हजार ७०१ ले भने सहकारी, व्यक्तिगत तथा अन्य संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गरेको विभागका महानिर्देशक सुमनराज अर्यालले बताए । कुल व्यवसायिक प्रतिष्ठानमध्ये ३४ हजार १०१ प्रतिष्ठान बाटो तथा सडकमा संचालन भइरहेका तथ्यांक छ। जुन संख्या कुल प्रतिष्ठानको करिब ४ प्रतिशत हो ।

व्यवसायिक प्रतिष्ठानमा संलग्न ३२ लाख २८ हजार चार सय ५७ सक्रिय जनशक्तिमध्ये १२ लाख १६ हजार २२० महिला रहेका छन् । देशभर संचालन रहेका व्यवसायिक प्रतिष्ठानमध्ये काठमाडौंमा ३० प्रतिशत रहेका छन् । क्षेत्रगत रुपमा आर्थिक क्रियाकलापलाई हेर्दा सबैभन्दा बढी ५४ प्रतिशत व्यवसाय थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकल मर्मत व्यवसाय छन् । यी प्रतिष्ठानमा ३०.६१ प्रतिशतले अर्थात नौ लाख ८८ हजार ३४६ जनशक्तिले रोजगारी पाइरहेका छन् ।

आवास सुविधा तथा खाना व्यवस्था पनि ठूलो जनशक्ति खपत भएको छ । यस अन्तर्गत एक लाख ३० हजार ५४२ व्यवसायिक प्रतिष्ठान रहेका छन् । औद्योगिक उत्पादनमा ५लाख १० हजार ५२३ ले रोजगारी पाएका छन् । देशमा संचालित वित्तीय क्षेत्र तथा बीमामा दुई लाख ६ हजार ९७९ ले रोजगारी पाएका छन् । हाल १७ हजार ९९६ वित्तीय संस्था तथा बिमा व्यवसायमा संलग्न प्रतिष्ठान रहेका छन् ।

लिङ्गअनुसार पुरुष व्यवस्थापकले संचालन गरेका ७०.२६ प्रतिष्ठान र महिला व्यवस्थापकले २९.६१ प्रतिशत प्रतिष्ठान संचालन गरेका छन् । प्रतिष्ठान संचालनमा ३० वर्षदेखि ४० वर्ष उमेर समूहका व्यवस्थापक रहेका छन् । उक्त समूहअन्तर्गत करिब ३४ प्रतिशतले व्यवस्थापक रहेका छन् । ६० वर्षभन्दा बढी उमेर समूहका व्यवस्थापक ६.२७ प्रतिशतमात्रै रहेका छन् ।

देशभर सञ्चालन भएका व्यवसायिक प्रतिष्ठानमध्ये आठ लाख १७ हजार ५८६ प्रतिष्ठान नेपाली नागरिकले सञ्चालन गरेका छन् । नौ हजार ९३२ व्यवसाय भारतीय नागरिक र बाँकी ३३३ व्यवसाय अन्य मुलुकका नागरिकको स्वामित्वमा रहेको तथ्यांकले देखाएको छ ।
सबैभन्दा धेरै व्यावसायिक प्रतिष्ठान काठमाडौं जिल्लामा दर्ता भएका छन् । काठमाडौंपछि झापा, रुपन्देही, मोरङ र सुनसरीमा धेरै प्रतिष्ठान सञ्चालनमा छन् । प्रादेशिक हिसाबमा हेर्दा सबैभन्दा धेरै व्यवसाय प्रदेश नं ३ मा सञ्चालित छन् भने कर्णालीमा सबैभन्दा थोरै व्यवसाय सञ्चालनमा रहेका छन् ।

अन्तर्राष्ट्रिस्तरको औद्योगिक वर्गीकरणमा उल्लेख भए अनुसारका आर्थिक क्रियाकलापको नेपालमा सञ्चालित व्यवसायको गणना गरिएको विभागमा उपमहानिर्देशक हेमराज रेग्मीले बताए । सो मापदण्डमा परेका २१ क्षेत्रमध्ये विभागले १७ वटा क्षेत्रको गणना गरेको छ । वाँकी चार क्षेत्रलाई गणनामा समावेश गरेको छैन । ती संस्थामा व्यक्तिगत कृषि, एकै स्थानमा केन्द्रित नहुने व्यवसाय(मोबाइल व्यवसाय), सरकारी निकाय र नेपाल बाहिरका व्यवसाय भने गणनामा समावेश नगरिएको रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.