पुनर्निर्माणका लागि अझै साढे ३ खर्ब आवश्यक, निजी आवास निर्माणको लागिनै साढे ७४ अर्ब अपुग

  २०७६ असार १६ गते १९:१२     विकासन्युज

काठमाडौं । भूकम्प गएको ४ वर्ष वितिपछि पनि पुनर्निमार्णका वाँकी कार्य सम्पन्न गर्न तीन खर्ब ३९ अर्ब आवश्यक पर्ने देखिएको छ । निजी आवास निर्माणलाई प्राथमिकतामा राखेर अघि बढेको सरकारले निजी आवास निर्माणको लागि मात्रै अझै ७४ अर्र्ब ५९ करोड खर्चनु पर्ने देखिएको छ । पुनर्निर्माण प्राधिकरणले आगामी आवमा निजी आवास निर्माणको लागि ५२ अर्ब ७७ करोड बजेट प्रस्तावित गरेको छ । चालु आवसम्म निजी आवास निर्माणतर्फ दुई खर्ब ३८ करोड खर्च गरेको छ ।

आगामी आवको प्रस्तावित बजेट समेत खर्चियपनि अझ सो शीर्षकमा २१ अर्ब ८२ करोड रुपैयाँ अपुग हुने देखिएको छ । भुकम्पले क्षति भएका आठ लाख २६ हजार चार सय ८५ लाभग्राही मध्ये दुई लाख २६ हजारको मात्र निजी आवास निर्माण कार्य सम्पन्न भएको छ ।
सरकारले सो आवास निर्माणको लागि दुई खर्ब ७४ अर्ब ९४ करोड ५३ लाख खर्चनु पर्ने अनुमान गरिएको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।

बस्ती स्थानान्तरण, एकीकृत बस्ती र सहरी पूर्वाधार पुननिर्माणको लागि गर्नुपर्ने कुल ४१ अर्ब रुपैयाँमध्ये हालसम्म जम्मा सात अर्ब ६३ करोडमात्रै खर्च गरेको छ । एकीकृत बस्ती पुनर्निर्माणका लागि प्रस्तावित ३७ परियोजनामध्ये २९ वटा स्वीकृत भएका छन् भने दुई वटा एकीकृत बस्तीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । यो परियोजनामा अझै ३३ अर्ब खर्चनुपर्नेछ भने आगामी आवका लागि १० अर्ब ३९ करोड बजेट प्रस्ताव गरिएको छ ।

प्राधिकरणले शिक्षण संस्था पुनर्निर्माणका लागि अझै ६३ अर्ब ३९ करोड खर्चनु पर्छ भने स्वास्थ्य संस्थाहरूको भवन निर्माणको लागि १४ अर्ब ४६ करोड खर्च गर्नुपर्ने देखिएको छ । चालु आवसम्म शिक्षण संस्था पुनर्निर्माणको लागि ३८ अर्ब १० करोड र स्वास्थ संस्थाको लागि दुई अर्ब २० करोड खर्च गरेको छ ।

यी संस्थाको भवन निर्माणको लागि क्रमशः एक खर्ब एक अर्ब र १६ अर्ब ६७ करोड खर्च लाग्ने अनुमान गरेको छ । पुरातात्विक एवम् साँस्कृतिक सम्पदा तथा परम्परागत बस्तीहरूको पुनर्निर्माणको लागि लाग्ने खर्च ७१ अर्ब २७ करोडमध्ये हालसम्म १० अर्ब ३६ करोडमात्रै खर्च भएको छ । आगामी आवको लागि सो शीर्षकमा प्राधिकरणले २३ अर्ब बजेट प्रस्ताव गरको छ ।

भुकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार पुनर्निर्माण लागि कुल ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । पुनर्निर्माणका लागि सोही वर्षको असारमा गरिएको दाता सम्मेलनबाट चार खर्ब १० करोड प्रतिवद्धता भएको थियो । त्यतिबेला भएको प्रतिवद्धतामा पनि ६७ अर्ब राहत, पुनउद्धार तथा अन्य कार्यक्रममा खर्च भइसकेको छ । पुनर्निर्माण लागि वास्तविक रकम भने जम्मा तीन खर्ब ४३ अर्बमात्रै भएको प्राधिकरणले बताउँदै आएको छ । सो रकममध्ये दुई खर्ब ६२ अर्ब सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.