११ महिनामा १२ खर्ब ११ अर्ब ब्यापार घाटा, करिव १३ खर्बको वस्तु नेपाल भित्रियो

  २०७६ असार १५ गते १४:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ८७ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अवधिमा भएको व्यापारमध्ये १२ खर्ब ९९ अर्ब आयात हो भने ८७ अर्ब ८३ करोडको वस्तु तथा सेवा निर्यात भएका छन् । गएको आवको सो अवधिको तुलनामा चालु आवमा वैदेशिक व्यापार बढेको छ । गत आवको सो अवधिमा कुल ११ खर्ब ८० अर्ब ९६ करोडको वैदेशिक व्यापार भएको थियो । उक्त व्यापारमा ११ खर्ब ६ अर्ब आयात हो भने ७४ अर्ब ३२ करोड निर्यात छ ।

चालु आवमा गएको आवको सोही अवधिकोभन्दा आयात निर्यात दुबै बढेपनि ब्यापार हिस्सामा भने कुनै परिवर्तन आएको छैन । गत वर्ष र यस वर्ष आयात निर्यातको ब्यापार हिस्सा बराबर रहेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३.७ प्रतिशत रहेको छ भने निर्यात ६.३ प्रतिशतमात्र रहेको छ । वर्सेनि व्यापार घाटा बढ्दै गएपछि सरकारले ब्यापार घाटा घटाउन नयाँ नीति लिने भएको छ । गत जेठ १३ मा व्यापार घाटा घटाउन ‘ब्यापार घाटा न्यूनीकरण सम्बन्धि राष्ट्रिय कार्ययोजना’ पास गरेको छ ।

अत्यावश्यक वस्तु वाहेक अन्यको आयात घटाएर वैदेशिक व्यापार सन्तुलन गर्न सरकारले यो कार्ययोजना ल्याएको हो । यसले सवारी साधनलगायत अन्य आयातमा कडा गर्ने भएको छ । देशभित्र उत्पादन गर्न सकिने तथा कम महत्वका वस्तु आयातमा रोक लगाउने सरकार तयारी छ । कार्ययोजनामा विद्युतीय वाहेक अन्य इन्धनबाट चल्ने गाडी आयात गर्न बैकबाट कर्जा नदिने भएको छ ।

सरकारले ल्याएको कार्ययोजनाअनुसार सवारी साधनमा ‘ट्रष्ट रिसिट(टीआर)’ मा ऋण लिन नपाउने व्यवस्था गर्न लागेको हो । हाल बैंक तथा वित्तीय संस्थाले सवारी साधन खरिदमा ५० प्रतिशतसम्म लोन दिँदै आएका छन् । यसले गर्दा देशको क्षमताभन्दा बढी गाडी भित्रिएको र जसको असरले इन्धन आयात समेत बढेको छ । यसले व्यापार घाटा अझ बढाउन सहयोग गरेको छ ।

व्यापार-घाटा न्यूनीकरण गर्न वाणिज्य तथा औद्योगिक नीतिलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने, उत्पादन बढाउन आवश्यक व्यवस्थालाई नीतिमा समावेश गरी कार्यान्वयन गर्नुपर्ने, तुलनात्मक लाभका वस्तु उत्पादन र बजारीकरणमा सरकारले अझ समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने देखिएको छ । प्रतिस्पर्धी बजारमा आयातित सामानभन्दा सस्तो वस्तु उत्पादन गर्नेतर्फ सरकार अग्रसर हुनु पर्ने पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले बताए । कृषि र उद्योगमा लगानी बढाउनु पर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.