‘ल्याण्डफिल्ड साइड’ बन्द हुँदा राजधानीमा फोहोर थुप्रियो, सिसडोलवासीको आन्दोलन किन ?

  २०७६ असार १५ गते ९:२६     विकासन्युज

काठमाडौँ । काठमाडौँ उपत्यका हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ । फोहर नउठ्दा राजधानीका चोक चोकमा थुप्रो जम्मा भएको छ । वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ । राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन । नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयवासीले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द गरेका छन् ।

फाइल तश्वीर

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ सिसडोलवासीसँग शुक्रबारदेखि वार्ता जारी रहेकाले केही दिनमै समस्या समाधानतिर जाने बताउँछन् । ‘ल्याण्डफिल्ड साइड’ का लागि उपयोग भइरहेको जग्गा अधिग्रहण गरिनुपर्ने माग पनि पीडितको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार फोहर व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहको हो । राजधानी दुर्गन्धित हुँदा पनि यहाँका स्थानीय सरकारले फोहर व्यवस्थापनमा ध्यान नदिएको पुतलीसडकवासी जीवन श्रेष्ठले गुनासो गरे ।

पुतलीसडकमा डेढ वर्षअघिदेखि बगिरहेको ढलको कुलो अझै काठमाडौँ महानगरपालिकाले बन्द नगर्दा यस क्षेत्रमा बस्न नसक्ने वातावरण बनेको उनको आक्रोश छ । केन्द्रीय सरकारका राज्य सञ्चालकहरु दैनिक हिँड्ने मार्गकै यस्तो अवस्था छ भने अन्यत्र के भइरहेको होला भनी सहजै अनुमान गर्न सकिने स्थानीयवासीको गुनासो छ ।

‘ल्याण्डफिल्ड साइड’ मा पूर्वाधार निर्माणको जिम्मेवारी भने शहरी विकास मन्त्रालयलाई दिइएको छ । शहरी विकास तथा भवन निर्माण विभागले पूर्वाधार निर्माण गर्ने तयारी भइरहेको जनाइएको छ । सिसडोल नजिकैको बञ्चरेडाँडामा विभागले फोहर फाल्ने स्थानको पूर्वाधार निर्माण गरिरहेको छ ।

सिसडोलमा आन्दोलनः प्रहरी र स्थानीयवासीबीच झडप
काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौँ महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि शनिवार झडप भएको हो । झडपका क्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भए । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी सामान्य घाइते भएको जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.