सामाजिक सुरक्षा कार्यक्रमबारे बैंकिङ क्षेत्रनै अन्यौलमा, यही अवस्थामा योगदान गरे १५% सुविधा घट्ने

  २०७६ असार १३ गते १९:३२     विकासन्युज

काठमाडौं । सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमबारे बैंकिङ क्षेत्रमै अन्यौलता देखिएको छ । सरकारले ‘नयाँ युगको सुरुवात’ भन्दै घोषणा गरेको कार्यक्रमले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पाउँदै आएको सुविधामा समेत कटौती हुने देखिएपछि यस क्षेत्रका कर्मचारीहरु नै यो कार्यक्रमप्रति अनिच्छुक नदेखिएका हुन् । उनीहरुले साे व्यवस्था परिमार्जन गर्न समेत माग गरेका छन् ।

सामाजिक सुरक्षा कार्यक्रमसम्बन्धी हालको कार्यविधि अनुसार जाने हो भने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको सेवा सुविधामा १५ प्रतिशतको गिरावट आउनसक्ने देखिएको छ । तलबका अतिरिक्त हाल ४६ प्रतिशतसम्म पाउँदै आएको सुविधा ३१ प्रतिशतमा झर्दा उक्त सुविधामा १५ प्रतिशतसम्म कमी हुनसक्ने खतरा रहेको राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी बैंकर तथा कर्मचारीहरुले बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले राजधानीमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना र वित्तीय क्षेत्रमा यसको असर (‘सोसियल डाइलग अन कन्ट्रिब्युसन बेष्ड सोसियल सेक्युरिटी स्किम एण्ड इट्स इम्प्याक्ट इन फाइनान्सियल सेक्टर) मा ट्रेड युनियनका कर्मचारी र बैंकरहरुले समेत आफूहरुले पाउनुपर्ने सुविधा घट्ने सम्भावना रहेको भन्दै यस्तो व्यवस्था परिमार्जन गर्न सरकारसँग माग गरेका हुन् ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले यस सम्बन्धमा नेपाल बैंकर्स संघले श्रम मन्त्रालयलाई १३/१४ ओटा पत्र लेखिसकेको भन्दै तर यसको सम्बोधन नभएको गुनासो गरे । ‘सरकारले निर्देशन दियाे भने हामी जे पनि मान्छौं र मान्न बाध्य पनि हुन्छौं, तर सुविधा घट्ने डरले कर्मचारीहरु नै यसमा (सामाजिक सुरक्षा कार्यक्रम)मा जान चाहिरहेका छैनन्’–उनले भने ।

ढुङ्गानाले हाल २८ ओटा वाणिज्य बैंकमध्ये ५ ओटा सामाजिक सुरक्षा कोषमा सूचीकृत रहेको भन्दै बैंकहरु सूचीकरणमा गए तर कर्मचारी गएनन् भने के हुने भन्दै प्रतिप्रश्न समेत गरे ।

उनले बैंकहरूले सञ्चालन गरेकाे अवकाश काेषमा जम्मा भएकाे रकमकाे ८० प्रतिशत कर्मचारीले ऋण लिइसकेको भन्दै याे फण्ड सामाजिक सुरक्षा काेषमा ट्रान्सफर गर्न जटिल भएकाे समेत बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सेवा सुविधाकै कारण नबिल बैंकका कर्मचारीहरुले समयअगावै जागिर छाड्न चाहेको समेत बताए । ‘मेरो बैंकमा २५/३०/३५ वर्षसम्म काम गरेका नबिलियनहरु नै, दाइ यसबारे (सामाजिक सुरक्षा कार्यक्रम) बुझिदिनुपर्यो, नत्र हामी अहिले नै राजीनामा गर्छौं भन्न थालिसके, के हाम्रा कर्मचारीहरुले पाउने सुविधा कटौती हुने ?’ उनले भने ।

शाहले सरकारले दिएको निर्देशन पालना गर्न बैंकहरु बाध्य हुने भन्दै सरकारी पत्र बैंकहरुलाई आउनुअघि नै यसबारे निचोडमा पुग्न कर्मचारीहरुलाई आग्रह समेत गरे । हाल विभिन्न बैंकहरुकाे कल्याणकारी काेषमा रहेकाे रकम समेत काेषकाे मातहतमा जाने प्रावधान छ, तर यसाे हुँदा अहिले नै जागिर छाेड्दा पाउने सुविधा समेत गुम्नसक्ने चिन्ता कर्मचारीहरुमा देखिएकाे हाे ।

नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले सरकारले ल्याएको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम राम्रो भए पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको हकमा यसले सुविधा दिने भन्दा खोस्छ कि भन्ने चिन्ता बढेको भन्दै यसमा स्पष्ट हुन सरकारी अधिकारीहरुलाई ध्यानाकर्षण गराए । ‘अब हाम्रो भविष्य के हुने हो भन्ने अन्यौल छ, यसको समाधान हुनुपर्छ’ उनले भने ।

रेग्मीले देशको सबैभन्दा व्यवस्थित र पारदर्शी संस्था भनेकै बैंक तथा वित्तीय संस्थाहरु रहेको भन्दै यस्तो पारदर्शी क्षेत्रमा भएको लाभलाई नखोस्न समेत चेतावनी दिए । ‘बैंकिङ र वित्तीय क्षेत्रले अरु क्षेत्रलेजस्तो दोहोरो वासलात बनाउँदैन, कर छल्दैन, यसको हिसाबकिताब पारदर्शी छ, व्यवस्थित छ, यस्तो व्यवस्थित क्षेत्रलाई अस्तव्यस्त हुनेगरी संस्थाको नाफा र कर्मचारीको सेवा सुविधा खोस्ने कुरा मान्य हुँदैन’ उनले भने ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले सामाजिक सुरक्षा कार्यक्रममा रहेका दर्जनौं भ्रमहरु औंल्याउँदै त्यस्ता भ्रमहरु अन्त्य गरेर कार्यक्रम आएमा यसले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुने र समग्र अर्थतन्त्रमा बचत संकलन र लगानीका लागि महत्वपूर्ण स्रोत जुटाउन महत्वपूर्ण भूमिका खेल्ने सम्भावना रहेको बताए ।

कार्यक्रममा फियनमा आवद्ध ४५ ओटै बैंक तथा वित्तीय संस्थाहरुले सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमबाट आफूहरुले अहिले पाउँदै आएको सेवा सुविधा कटौति हुन नहुने भन्दै त्यस्तो व्यवस्था परिमार्जन गर्न दबाब दिन ट्रेड युनियनका अधिकारीहरुसँग माग समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.