फलफूल र तरकारीको विषादी जाँचमा कडाइ, भन्सारमै रोकिए फलफूल र तरकारी

  २०७६ असार ८ गते १२:४१     विकासन्युज

काठमाडौं । यसअघि विना जाँच नेपाल भित्रिँदै आएको फलफूल र तरकारीको विषादी जाँचमा भन्सारमा कडाइ हुन थालेपछि अहिले रोकिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी अवशेष परीक्षण गरी दिएको प्रमाणपत्रको आधारमा मात्रै भन्सार पास दिने भनी गरेको परिपत्र अनुसार कानून लागू गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले बताएका छन् ।

यता विषादी जाँच गर्ने प्रयोगशाला तथा उपकरण नहुँदा समस्या सिर्जना भएको छ । रुपन्देही जिल्लामै बुटवलस्थित फलफूल तथा तरकारी बजारमा उक्त उपकरण भएको भए तापनि सो ठाउँमा काम गर्ने कर्मचारीको कृषि निर्देशानालयमा सरुवा भएपछि उक्त उपकरण पनि प्रयोगविहीन भएको छ । विषादी अवशेष परीक्षण तत्काल सम्भव नभएको बेलहियामा रहेको प्लान्ट क्वारेन्टाइनले बताएको छ । क्वारेन्टाइन प्रमुख विष्णुप्रसाद काफ्लेले भने, “पहिलो हामीलाई जाँचको निर्देशन नै छैन, दोस्रो उपकरण र दक्ष जनशक्ति छैन । जाँच नहुँदा भारतको कानपुर, बनारस,, फरिन्दा, अहमदावाद, हैदरवाद, बरेलीलगायतको क्षेत्रबाट तरकारी तथा फलफूल लिएर आएका गाडी भन्सारमै रोकिएका छन् । ”

भैरहवा भन्सारबाट मात्रै दैनिक आलु, प्याज, तरकारीको ३५ भन्दा बढी गाडी र फलफूलको ३० भन्दा बढी ट्रकहरु भित्रिँदै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.