‘दुई लिटर पेट्रोलको लागि कहिलेसम्म लाइन बस्ने ?’- विनोद चौधरी

  २०७६ असार २ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं वरिष्ठ उद्यमी विनोद चौधरीले देशमा लगानी अभिबृद्धि गर्न लगानी मैत्री वातावरण तयार गर्नु पर्ने बताए । प्रतिनिधिसभामा विनियोजन विधेयक माथिको छलफलमा भाग लिदैं सांसद चौधरीले भने- ‘यस्तो व्यवस्था मिलाउन हामीले धेरै पटक कानून बनाउने कोसिस गर्यौ“ तर किन सफल भईरहेको छैन ?’

उनले भने, ‘दुई लिटर पेट्रोलका लागि उपभोक्ताले कहिलेसम्म लाईनमा लाग्ने ? आपूर्तिका साधनमा उपभोक्ताको सहज पँहुच हुनुपर्छ ।’ नेपाल आयल निगम जस्ता संस्थानहरूको एकाधिकार कायमै राखेर उपभोक्ताको अधिकार हनन् भईरहेको भन्दै सांसद चौधरीले पेट्रोलियम प्रोडक्ट जस्ता वस्तुहरूको कारोबारमा निजी क्षेत्रलाई खुला गरिनुपर्ने बताए ।

उनका भने -‘पुँजी पानी जस्तै तरल हुन्छ, जता वातावरण बन्यो त्यतै बग्छ, त्यो वातावरण हामीले नेपालमा बनाउनु परेको छ । आर्थिक समृद्धिका लागि हामीलाई धेरै लगानीको खाँचो छ ।’  लगानी अभिवृद्धिका लागि विशेष आर्थिक क्षेत्रको अवधारणालाई कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको भन्दै उनले भैरहवामा स्थापना गरिएको सेजमा लगानीकर्ता किन आकर्षित भइरहेका छैनन् भन्ने बारेमा गम्भिर बन्न आग्रह गरेका छन् ।

भारत र चीनले अवलम्बन गरेका नीतिहरूबाट सिक्नु राम्रो हुन्छ’ सांसद चौधरीले भने, ‘यी बिषयमा हामीले छलफलमै धेरै समय गुजारी सक्यौं अब व्यवहारिक कार्यान्वयनमा जानुपर्छ ।’अर्थतन्त्रका लागि व्यापार घाटा चिन्ताजनक बिषय रहेको भन्दै सांसद चौधरीले निर्यातमा अनुदान दिएर र आयात नियन्त्रण गरेर मात्रै यो समस्याको समाधान नहुने धारणा राख्दै भने‘ब्यापार घाटा कम गर्न नेपाली उत्पादनलाई भारतीय र चिनियाँ उत्पादनसँग प्रतिस्पर्धी बनाउन आवश्यक छ ।’

नेपालस्थित राजदूतहरूले आ– आफ्ना देशका निजी क्षेत्रको प्रवर्धनका लागि नेपालमा तिब्र लबिङ गरिरहेका हुन्छन् । तर, हाम्रा राजदूतावासहरू किन यस्तो लबिङ गर्न सकिरहेका छैनन् । नेपालका ३९ वटा कुटनीतिक नियोगले महिनामा एउटा वैदेशिक लगानीका लागि वातावरण बनाउने गरि काम गरे भने राम्रो उपलब्धी हासिल गर्न सकिन्छ भन्दै यस तर्फ हामी गम्भिर हुनु आवश्यक भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.