कृषि उद्यमीलाई बैंकहरुको प्रतिव्यक्ति २० लाख, तपाईँपनि लिने कि ?

  २०७६ जेठ ३२ गते १७:५५     विकासन्युज

काठमाडौं । कृषि उद्यम गर्ने भन्दै ऋणका लागि बैंकमा जाने कृषकहरुलाई बैंकले औसत २० लाख रुपैंया दिएर पठाउँछन् । झट्ट सुन्दा पत्याउन नसकिए पनि यसलाई तथ्याङ्कले नै पुष्टि गरेको छ । वैशाख मसान्तसम्म बैंकहरुले कुल ३१ अर्ब ४६ करोड रुपैंया ऋण प्रवह हुँदा बैंकहरुले सो ऋण १५५४७ जनालाई दिन सकेका छन्, यो प्रतिऋणी २० लाख २४ हजार रुपैंया हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याएको ब्याज अनुदानसहितको कर्जा कार्यक्रममार्फत् यस्तो करिब ६ महिनाको अवधिमा सो. संख्यामा ऋण प्रवाह गरिएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

कुल प्रवाहित ३१ अर्ब ७२ करोड कर्जा प्रवाह भई १६ हजार २३ जनाले उक्त ऋण पाउँदा कृषि कर्जातर्फ सो परिमाण र संख्यामा ऋण प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कृषि ऋणको यो मात्रा आकारका आधारमा ९९ प्रतिशत भन्दा बढी र ऋणीको संख्याका आधारमा ९७ प्रतिशत कर्जा कृषि उद्यमीलाई नै प्रदान गरिएको छ ।

बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित ब्याज अनुदानसहितको सहुलियतपूर्ण कर्जा । स्रोत : नेपाल राष्ट्र बैंक

कसरी प्रवाह हुन्छ कर्जा ?

सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत्को कृषि तथा पशुपन्छी कार्यक्रममा कर्जा प्रवाहको लागि १० लाखसम्मको ऋण सामूहिक जमानीमा र सोभन्दा बढी ५ करोड रुपैंयासम्म कर्जाको हकमा परियोजना धितोमा कर्जा दिने व्यवस्था कार्यविधिले गरेको छ जसमा परियोजनाको सम्भाव्यतालाई मुख्य आधार बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

१० लाख रुपैंयाभन्दा कम कर्जाका लागि सामान्य परियोजना प्रस्ताव र सोभन्दा बढीका लागि विस्तृत परियोजना प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो ऋण तरकारी, फलफुल, जडिबुटी लगायतको उत्पादन, प्रशोधन र भण्डारण तथा पुशपालन तथा उनीहरुका दाना उद्योगका लागि समेत दिने व्यवस्था गरिएको छ । उद्यमीहरुले कृषि उपकरण र भण्डारण निर्माणका लागि त्यस्तो ऋण लिने गरेको बैंकहरुले जनाएका छन् ।

नेपाल राष्ट्र बैंकको निर्देशित कर्जा कार्यक्रमअन्तर्गत कृषि कर्जा रहेकोले कृषि क्षेत्रमा कर्जा प्रवाहको अवस्था भने उत्साहजनक देखिएको हो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा जाने कर्जालाई सीसीडी अनुपातमा गणना गर्न नपर्ने व्यवस्था गरिदिएपछि बैंकहरुले कृषि क्षेत्रमा जाने यस्तो कर्जा बढाएका हुन् ।

सरकारलाई गिज्याउँदै बाँकी कार्यक्रम

सरकारले ब्याज अनुदानसहितको ७ ओटा ऋण कार्यक्रम ल्याएकोमा बाँकी ६ ओटा कार्यक्रम भने असफलसिद्ध भएका छन् । ती कार्यक्रमहरुमा उक्त अवधिमा कुल ४७६ जनाले २६ करोड रुपैंया मात्रै ऋण लिएका छन् जुन कृषि कर्जाको तुलनामा १ प्रतिशत भन्दा पनि कम हो । त्यस्ता कार्यक्रमहरुमार्फत् प्रवाहित कर्जाको उपयोगिताबारे बैंकहरुको अविश्वासका कारण यी कार्यक्रमहरु असफल भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.