सञ्चालक सर्वसम्मत भएपछि कुमारीका शेयरधनी उत्साहित, ‘बैंकिङ इतिहासमै नौलो प्रयोग’

  २०७६ जेठ ३१ गते १६:५३     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ जना नयाँ सञ्चालक पाएको छ । सञ्चालकहरुको चुनाव गर्नकै लागि बोलाइएको विशेष साधारण सभाले संस्थापक र सर्वसाधारण शेयरधनीका तर्फबाट २/२ जना गरी ४ जना सञ्चालक सर्बसम्मत रुपमा चयन गरेको हो । बैंकमा अमिरप्रताप राणा, कृष्ण ज्ञवाली र सर्वसाधारण समूहबाट महेश पोखरेल र अनुराधा चौधरी चयन भएका हुन् । विज्ञ समूहका तर्फबाट गणेशकुमार पाठक भने सञ्चालकमा यथावत छन् ।

सञ्चालक समितिमा महिला सुनिश्चितताको मागसहित पाटन उच्च अदालतमा परेको मुद्दा जेठ १० गते खारेज भएसँगै बोलाइएको बैंकको साधारणसभामा ३६६ जनाको उपस्थितिसहित ५३.१४ प्रतिशत शेयरधनीको प्रतिनिधित्व थियो । कोरम नपुगेर पटकपटक साधारणसभा रोकिने स्थितिमा तोकिएको समयभित्र सबै उपस्थित हुनु र सभामा उल्लेखनीय प्रतिनिधित्व हुनलाई सभामा बोल्ने अधिकांशले खुसी व्यक्त गरेका छन् । सभामा बोल्ने अमृतनाथ रेग्मी, अशोक उप्रेती, कुवेर श्रेष्ठ, डम्मरबल्लभ घिमिरे लगायतले यसमा प्रशंसा गर्दै सर्वसम्मत गराउन पहल गर्ने सञ्चालक समितिका निवर्तमान अध्यक्षलाई धन्यवाद दिए ।

श्रेष्ठले ‘सिरान फेर्दैमा बिरामी निको नहुने’ भन्दै नयाँ सञ्चालकहरुलाई कार्यशैली फेर्न सुझाव दिए । उनले नयाँ समिति आफ्ना शेवा सुविधा बढाउन नलागेर शेयरधनीको हितमा काम गर्न सुझाव दिँदै भने- ‘आफू धनी बन्ने होइन, शेयरधनीलाई धनी बनाउन लाग्नुस् ।’
घिमिरेले कुमारी बैंक सञ्चालक समिति सर्वसम्मत हुँदा नूरप्रताप राणाको सपना पूरा भएको रुपमा अथ्र्याए । उनले १७ औं र १८ औं साधारणसभा एकैपटक गरेपनि सञ्चालक चयन गर्न विशेष साधारणसभा बोलाउनुपरेको भन्दै भने- ‘बैंकको निधारमै दुईचोटी साधारणसभा लेखिएको रहेछ ।’

कुमारी बैंकले बैंकिङ इतिहासमै सञ्चालक समितिलाई ५ जनामा सीमित गरेको छ । त्यस्तै कम्पनी ऐनमा रहेको व्यवस्था बमोजिम बैंकले सञ्चालक समितिमा एकजना महिलाको प्रतिनिधित्व पनि सुनिश्चित गराएको छ । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बैंक पुरानो पुस्तावकाट नयाँ पुस्तामा सरेको बताउँदै अब बैंक नयाँ जोशका साथ अघि बढ्ने बताए । उनले भने- ‘तर हामी यत्तिकै बसेका थिएनौं विगत केही वर्षमा हामीले सफ्टवेयर बनायौं, पोर्टफोलियो दोब्बर बनायौं, ४ ओटा संस्थालाई गाभ्यौं ।’ उनले बैंकसँग केही समस्या र गुनासो भए सीधै आएर आफुसँग भन्न समेत शेयरधनीहरुलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.