बजेटको प्रभावकारी कार्यान्वयनमा सांसदहरुको शङ्का

  २०७६ जेठ २७ गते १५:२१     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाका सदस्यले बजेट जनमुखी भए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती हुने व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथि सामान्य छलफलमा भाग लिँदै सांसद खिमलाल भट्टराईले बजेटले गरीब किसान र मजदूरलगायत सबै समुदायलाई समान रुपमा समावेश गरेकाले बजेट उत्कृष्ट आएको टिप्पणी गरेका हुन् ।

सांसद सरिता प्रसाईंले भने सरकारले हचुवाका भरमा बजेटको आकार बढाएको भन्दै प्रभावकारी कार्यान्वयनमा चुनौती हुने आशङ्का गरिन्। सांसद उदया शर्मा पौडेलले बजेटले महिला, वृद्धवृद्धा, अपाङ्गता र अशक्तलाई सम्बोधन गरेको छ, विद्यार्थीलाई स्कूलमै सेनेटरी प्याडको व्यवस्था गर्नुका साथै महिला स्वयंसेवीलाई समेत सम्बोधन गर्नु अत्यन्त सुखद् कुरा हो, बजेट समाजवादउन्मुख छ भने ।

त्यस्तैगरी, सांसद वृषेशचन्द्र लालले सरकारले अघि सारेको समृद्धिको नारामा मधेशको मूल समस्या नसमेटिएको भन्दै बजेटको विरोध गरेका छन् । सांसद राजकुमार कुँवरले बजेट समग्रमा सकारात्मक रहेको भन्दै निम्न आयबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य सकारात्मक रहेको बताए । बजेटले शहीद, बेपत्ता र घाइतेको उपचार र सुरक्षाका पक्षमा पनि मौन रहेको भन्दै तिनलाई सम्बोधनका लागि आग्रह गरेका छन् ।

यसरी, सांसद सिंहबहादुर विश्वकर्माले बजेट नेपाली जनताको संबैधानिक अधिकार रक्षा गर्दै राज्यको चौतर्फी विकासमा केन्द्रित भएको छ भनेका छन् । उनले बजेट जनचाहनानुरुपको लोकप्रिय रहेको भन्दै शिक्षा क्षेत्रले प्राथमिकता पाउनु सकारात्मक भएको बताए । त्यस्तै, सांसद प्रकाश पन्तले पनि बजेट वितरणमुखी र सस्तो लोकप्रियता मात्रै भएको टिप्पणी गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.