चेक बाउन्सका धेरै उजुरीकर्ता मिटर ब्याजका कारोबारी

  २०७६ जेठ २६ गते ८:२९     विकासन्युज


काठमाडौँ । चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ । अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको समेत स्रोत खोजी गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक बाउन्सका ६५ भन्दा धेरै उजुरी पर्ने गरेका छन् । मातहतका १४ वृत्तमा पनि दैनिक ६५ कै दरले उजुरी पर्छन् ।

परिसर र वृत्तका उजुरी विश्लेषण गर्दा प्रत्येक दिन सरदरमा दुई करोड रुपैयाँको चेक बाउन्ससम्बन्धी उजुरी कार्यालयमा दर्ता भएको प्रहरी बताउँछ । त्यसमध्ये ५० प्रतिशत उजुरीकर्ता मात्रै वास्तविक पीडित रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । बाँकी ५० प्रतिशत मिटरब्याजीदेखि विभिन्न पेसाका दलाली रहेको प्रहरीले जनाएको छ ।

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले चेक बाउन्सका उजुरीकर्ता मिटरब्याजीदेखि स्वार्थ केन्द्रित धन्दामा लागेकाहरू पाइएपछि अब चेकमा उल्लेखित रकमको स्रोत खोजिने बताए । उनले भने, ‘पछिल्लो समय लागू भएको मुलुकी संहिताले चेक बाउन्सलाई फौजदारी मुद्दाअन्तर्गत राखेको छ ।

वास्तविक पीडितले न्याय पाउने उद्देश्यले कानुनको कल्पना गरिएको हो । तर, पछिल्ला दिन मिटरब्याजीदेखि स्वार्थ केन्द्रित धन्दामा लागेकाहरूले यसलाई हतियार बनाए । हामी कहाँ आउने अधिकांश उजुरी यस्तै समूहका छन् । त्यसैले प्रत्येक चेकमा उल्लेखित रकमको स्रोत खोज्दै छौँ ।’

प्रहरीका अनुसार गत साउनयता परिसरमा मात्रै चेक बाउन्समा दुई हजार ४ सय ४८ उजुरी परेका छन् । मातहत रहेका १४ वृत्तमा दुई हजार पाँच सयभन्दा धेरै उजुरी परेका छन् । उजुरी भएका चेक ४० हजारदेखि तीन करोड ५० हजार रुपैयाँसम्मका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.